
काठमाडौं । नेपाली कांग्रेसका सभापती एंवम प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाटै लगातार ६ वटा चुनाव जितिसकेका छन् । जस्तोसुकै परिस्थितिमा पनि निर्वाचन जितेका उनको यो शक्तिले उनी पाँच पटक प्रधानमन्त्री पनि भइसके ।
२०६४ सालको निर्वाचनमा देशैभर तत्कालीन नेकपा माओवादीले जितिरहँदा तमाम शीर्ष नेता हारेका थिए । तर, देउवा डडेलधुरा र तत्कालीन कञ्चनपुर-४ बाटै सहजै निर्वाचन जितेका थिए ।
२०७४ मा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन (बामगठबन्धन) को देशैभर जितको लहरमा डडेलधुरामा देउवाको जित ‘अपवाद’ जस्तो देखिएको थियो । देउवाले २८ हजार ४४६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खगराज भट्ट २१ हजार ४९८ मत ल्याएका थिए ।
त्यसअघि सम्पन्न भएको स्थानीय तहको मतपरिणाम हेर्ने हो भने, कांग्रेसले पाएको मतभन्दा बामगठबन्धनका दलहरूले पाएको मतको योगफल १२ हजारभन्दा बढी थियो । यस्तो विकराल अन्तर उल्टाउँदै देउवाले ६ हजार ९४८ मतान्तरले चुनाव जितेका थिए ।
यसपटकको समीकरणले झन देउवालाई परास्त गर्न सहज छैन । समीकरण जताबाट हेरेपनि उनकै पक्षमा देखिन्छ । कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लले विद्रोह गर्दै नेपाली कांग्रेस (बिपी) मा प्रवेश गरी नेकपा एमालेसँग तालमेल गर्दापनि वैशाख ३० गते सम्पन्न डडेलधुराका ५२ वडामध्ये २९ कांग्रेसले जितेको छ । कांग्रेसबाहेक एमालेले ४ वडा, माओवादी केन्द्रले १३ वडा, स्वतन्त्रले २ वडा, नेकपा एसले २ वडा र कांग्रेस बिपीले २ वडामात्रै जितेका छन् ।
प्राप्त मतपरिणामअनुसार पनि एक्लाएक्लै कांग्रेसको छेउ कोही दलपनि पुग्दैनन् । कांग्रेसका प्रमुखहरूले कुल २२ हजार १३९ मत प्राप्त गर्दा वडाध्यक्षहरूले २१ हजार ७३५ मत पाएका छन् । सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रले डडेलधुरामा दोस्रो जनमत बटुलेको छ । प्रमुख तथा अध्यक्षको योगफलमा १२ हजार ९१२ मत बटुल्दा वडाध्यक्षमा १२ हजार ८७८ मत उसले बटुलेको छ ।
तेस्रो जनमत एमालेले बटुलेको छ । उसले पालिकाका प्रमुखरअध्यक्षमा ७ हजार ४५० मत बटुल्दा वडाध्यक्षमा वडाध्यक्षमा १० हजार ४४९ मत प्राप्त गरेको छ । एमालेबाट विभाजन भएको दल नेकपा एसले पालिका अध्यक्षरप्रमुखमा ४ हजार ९८२ मत प्राप्त गर्दा वडाध्यक्षहरूमा ५ हजार ४१ मत बटुलेको छ भने, कांग्रेस बिपीले प्रमुख/अध्यक्षमा ६ हजार ४१६ मत र वडाध्यक्षमा ३ हजार ६०४ मतमात्रै प्राप्त गरेको छ ।
यो समीकरणअनुसार सत्तारूढ गठबन्धन हुँदा, एक्लाएक्लै लड्दा वा आंशिक समीकरण हुँदामात्रै देउवालाई हराउने योजना कुनैपनि हालत सम्भव देखिन्न । तर, सबै शक्ति एकठाउँमा आउनसके मात्र केही समीकरण बन्ने देखिन्छ । त्यो सम्भावना देखिदैन । यस्तो भइहालेपनि विगतमा त्यसलाई उल्टाएर जितेको देउवाको इतिहास छ ।