काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचन २०७४ मा झापा क्षेत्र नम्बर-५ बाट निर्वाचित सांसद हुन । निर्वाचनमा उनलाई नेकपा माओवादी केन्द्र र राप्रपा समर्थन थियो ।

अध्यक्ष ओली सो क्षेत्रबाट ५७ हजार १३९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ प्राप्त गरेका थिए । यसरी ओली र अधिकारीबीचमा २८ हजार ८४२ मतान्तर कायम भएको थियो । यो निर्वाचन क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका ८ वडा र गौरिगञ्ज गाउँपालिकाका ४ वटा वडा गरी २९ वटा वडा समावेश छन् ।

अहिलेको स्थितिमा पनि एक्लै एमाले यहाँ निकै बलियो देखिन्छ । ओलीको गृहनगर दमकमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाको गठबन्धनले मेयर र उपमेयरमा एमालेलाई हराएको छ । वडाको नतिजा भने एमालेकै पक्षमा छ । यहाँका १० वडामध्ये ७ एमाले, २ मा कांग्रेस र १ मा राप्रपा जितेको छ ।

यस्तै सत्तारूढ गठबन्धनको बलमा कमल गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष जितेको छ । तर, उपाध्यक्षमा एमाले नै जितेको छ । वडामा यहाँपनि एमाले एक्लैले ४ वडा जित्दा सत्तारूढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले १/१ वडा जितेका छन् ।

यस्तै यस निर्वाचन क्षेत्रमा रहेका गौरादह नगरपालिकाका ८ वडामध्ये ४ मा एमालेले जितेको छ भने, २ मा कांग्रेस, १ मा माओवादी केन्द्र र १ मा स्वतन्त्रले जितेका छन् ।

गौरीगञ्ज गाउँपालिकाका चार वडामध्येमा पनि ३ मा एमाले जित्दा १ मा कांग्रेस जितेको छ । स्थानीय तह निर्वाचनको नतिजाअनुसार एक्लाएक्लै एमाले निकै शक्तिशाली देखिदाँ सत्तारूढ पाँचदलीय गठबन्धनको शक्तिले मात्रै यहाँ एमालेलाई हराउन कठिन देखिन्छ ।

यहाँ एमालेको वडाध्यक्ष उम्मेदवारहरूले कुल ४१ हजार ६१९ मत बटुलेका छन् । जसमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २२ हजार २१, माओवादी केन्द्रका वडाध्यक्षहरूले १० हजार ७८८ र नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले एकहजार ८६० मतमात्रै पाएका छन् । जसको कुल योग ३४ हजार ६६९ मात्रै हुन्छ ।

यहाँ राप्रपाका वडाध्यक्षहरूले पाएको मतको कुल योग ८ हजार ४०१ छ । सो मत सत्तारूढ गठबन्धनतर्फ जाँदा मात्रै एमालेका लागि केही सकस पर्नसक्ने देखिन्छ ।

यद्यपि दुईपल्ट प्रधानमन्त्री भइसकेको र फेरी पनि प्रधानमन्त्रीकै लाइनमा रहेको व्यक्ति उम्मेदवार हुँदा यो समीकरणले कति काम गर्छ रु त्यो भने निर्वाचनमा नै भर पर्नुपर्ने हुन्छ । जे भएपनि एमाले अध्यक्ष ओलीलाई हराउने अभियान सफल बनाउन यहाँ फलामको च्युरा चपाउनु सरह नै हुने अवस्था देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!