
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको रुपमा ब्याख्या गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको बताए ।
एमाले अध्यक्ष ओलीको भनाई जस्ताको तस्तै :
संसदीय निर्वाचन र प्रदेशसभाका लागि हुने निर्वाचन मंसिर ४ गते हुँदै गरेको निर्वाचनमा भाग लिन लागिरहेका छौँ । पञ्चायत कालको शासनले काँग्रेसलाई दमन गरेको थियो । काँग्रेस शासनमा आएपछि उसले दमन गर्न सुरु गरेको छ । अहिले हामी काँग्रेसको चर्को दमनभित्र परेका छौँ, उसलाई दमन गर्न सजिलो भएको छ ।
हिजोपनि मैले एक ठाउँमा भनेको थिए । बन्चरो लिएर एकजनाले रुख ढाल्न थालेछन् । वरिपरिका रुखहरू बराबरी आँसु खसालेर रुन लागेछन् । अरु रुखहरूले सोधे किन यसरी आँसु खसाएर रुन थालेको ? आखिर ढल्नु त छँदैछ । अब ८ अर्बपछि केही बीचमा भएन भने, बीचमा भयो भने त ध्वस्त भइहाल्छ, केही नभई यसै शान्त ढंगले चल्ने हो भने ८ अर्ब वर्षपछि यो पृथ्वी समाप्त हुन्छ । अब ८ अर्ब वर्षमात्र बाँकी छ । यो पृथ्वी वैंशमा छ अहिले । कुनै दुर्घटना भए बैंशमा पनि जान सक्छ । भएन भने पनि ८ अर्ब वर्षपछि त खत्तम हुन्छ ।
त्यो भन्दा छ– सात अर्ब बर्ष अगाडि नै मानवजाति समाप्त भइसकेको हुन्छ । यो सौर्य मण्डल नै समाप्त हुन्छ भने कसैले काटेर ढाल्न लाग्यो भनेर किन पिल–पिल आँशु खसाएको भनेर वरिपरिका रुखले सोधे । अनि देख्नेहरुले भने फलामको बञ्चराले रुखहरू काट्यो ठूलो कुरा हैन । तर हामीलाई काट्ने बञ्चराको बिँड चाहिँ हामी जस्तै काठैको छ त्यो चाँही दुःखको कुरा हो भन्यो । अहिलेको राजनीति त्यस्तै छ ।
काँग्रेसका बिँड चाहिँ कस्ता छन् हेर्नुहोस त ? एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने बिँडका नाम चाँही कस्ता कस्ता छन् ? त्यही भनेर रुख बर बर आँशु खसाल्दो रहेछ । ढल्नुपर्यो, जानुपर्यो भन्ने पीर हैन, बञ्चराले मात्र रुख ढाल्नै सक्दैन तर बिँड नभई । घोट्दा पनि हुँदैन केही गर्दा पनि हुँदैन बिँड नभई । अहिले बिँडको कारणले बञ्चरो चम्केको छ । काँग्रेसलाई हामीले जम्मा २३ सिटमा पुर्याइदिएका थियौं २३ सिटमा ।
काँग्रेसले हामीलाई ढाल्ने त कुनै छोडौं हेर्न नसक्ने स्थितिमा पुर्याइदिएका थियौँ । यिनै बिँड हुन् जसले कम्युनिष्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिष्ट सरकार ढालीपाँउ, दक्षिणपन्थी सरकार ढालीपाँउ, त्यसका लागि परमादेश जारी गरिपाऊँ भन्ने यिनै बिँड हुन् । त्यो अवस्थामा हामी छौँ । चुनाव आउँदैछ यो नेता के के गठबन्धन गर्दैछन् छोडिदिँउ तर माओवादी पछाडि लागेका कार्यकर्ता र माधव नेपाल पछाडि लागेका कार्यकर्तालाई भन्नु पर्दछ काँग्रेसका बिँड भएर कम्युनिष्ट सिध्याउने कि कम्युनिष्ट पार्टीलाई जोगाउने भनेर सम्झाउनुपर्दछ र फर्काउनुपर्दछ ।