
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।
सोमबार कांग्रेसका शीर्ष तहका नेताहरुको बैठकमा केही नेताले तालमेलको उद्देश्य प्रष्ट पार्न नसके परिणाम उल्टो आउने चेतावनी दिए । ‘तालमेलको बाटो पेचिलो छ । गठबन्धन जोगाउनुपर्ने पनि छ’ बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसको सांगठनिक अवस्था अनुसार मतको भारलाई ध्यान दिन सकेनौं भने गठबन्धनका उम्मेदवारलाई सोचे अनुसार मत खस्दैन ।’
बैठकमा नेताहरुले तालमेल गर्दा पार्टीको मत ख्याल गर्न नेतृत्वलाई आग्रह गरेका थिए । देशभर कांग्रेसको मत धेरै र सत्ता गठबन्धनका अरु दलको मत कम रहेकाले तालमेलमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने नेताहरुको मत थियो ।
‘कतिपय क्षेत्रमा हाम्रो ३० हजार मत छ । गठबन्धनका अर्को दलको ३ हजार मत छ’ बैठकमा उठेको विषयबारे एक नेताले भने, ‘विजयी सांसद भने गठबन्धनका अरु दलबाट छन् । ३ हजार मत भएको पार्टीलाई ३० हजार मत खन्याउने कुरा सजिलो हुँदैन ।’
तालमेल सकारात्मक रहेपनि सिट वाँडफाँट स्वाभाविक भएन भने त्यसले विपक्षलाई फाइदा पुग्ने नेताहरुको तर्क थियो ।
नेताहरुले मधेसमा पनि कांग्रेसको अवस्था राम्रो रहेको भन्दै त्यहाँ पनि धेरै सिट नछोड्न नेतृत्वलाई सुझाव दिएका छन् । ‘मधेसमा पहिले भन्दा अहिले बलियो अवस्थामा छौं । अरुलाई धेरै सिट छोड्न थाल्यौं भने दीर्घकालीन रुपमा कांग्रेसलाई क्षति पु¥याउँछ’ बैठकमा सहभागी नेताले भने ।
नेता विजय गच्छदारले थारु समुदाय पार्टीभित्रै बेवास्तामा परेको गुनासो गरेका थिए । थारु समुदायमा पार्टी प्रति असन्तोष रहेको उल्लेख गर्दै गच्छदारले कांग्रेसले समयमा बुझ्न सकेन भने समस्या आउने चेतावनी दिएका थिए ।
नेता बिमलेन्द्र निधिले पार्टीमा सबैलाई मिलाएर अघि बढ्न सभापति शेरबहादुर देउवलाई सुझाव दिएका थिए । पार्टीभित्रको वृहत एकतामा ध्यान नपुर्याए तालमेल परिणाममुखी नहुने उनले बताएका बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले कुन दलको कहाँ अवस्था कस्तो छ भन्ने बारेमा प्रारम्भिक छलफल भएको बताए । सिटको दाबी गर्ने विषयमा कुनै छलफल नभएको उनले बताए ।
बैठकमा विमलेन्द्र निधि, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, महेन्द्र यादव, उमाकान्त चौधरी, किशोरसिंह राठौर लगायतका नेताले धारणा राखेका थिए ।
यस्तै आगामी मंसिर ४ गते हुने भनिएको प्रादेशिक र संघीय निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको हो।
महामन्त्री गगन थापाले निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्ला खटाइने जानकारी दिए। उनका अनुसार कांग्रेसले भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरु जिल्लाहरुमा खटाउने भएको हो।
बैठकमा कांग्रेसका केही केन्द्रीय सदस्यहरुले भने १०० सिटभन्दा तल झरेर सम्झौता नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फको १६५ सिटमध्ये नेपाली कांग्रेसले १०० वा सोभन्दा केही बढी राख्नु पर्ने र बाँकी सिट अन्य दललाई दिनुपर्ने भन्दै पार्टी नेतृत्वलाई उनीहरुले सुझाव दिएका हुन् ।
यो अभियानका क्रियाशील एक केन्द्रीय सदस्यले भने, “गठबन्धन भनेको शक्तिहीन र संगठन नभएकाहरुलाई सधैँ काँध थाप्नु मात्र होइन, हैसियतअनुसारको दिनुपर्छ, बढी भाग खोजे एक्लै निर्वाचनमा जान तयार हुनुपर्छ ।”