
बुटवल । सरकारले आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहौल बढेको छ । योसँगै विभिन्न दलका ‘हेभी वेट’ नेताहरुको चुनाव क्षेत्र र प्रतिस्पर्धीहरूका बारेमा पनि लेखाजोखा हुन थालेको छ । यिनै ‘हेभी वेट’ मध्येका एक हुन् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल । उनको चुनाव क्षेत्र रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ हो । बुटवल उपमहानगर समेत पर्ने उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनबाट को उम्मेदवार बन्ला भन्ने चर्चा पनि चुलिएको छ ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २५ हजार ६४ मतान्तरले मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका युवराज गिरीलाई पराजित गरेका पौडेललाई यो पटक भने चुनाव जित्न निकै कठिन हुने देखिएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जस्तै सत्तारुढ गठबन्धन एकजुट रहे यो क्षेत्रमा विष्णु पौडेललाई चुनाव जित्न कठिन हुने देखिन्छ ।
हालको गठबन्धन कायमै रहेमा रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रले भाग पाउने ठूलो सम्भावना देखिन्छ । त्यसका लागि माओवादी केन्द्रका नेताले गृहकार्य पनि गरेका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जीसीका अनुसार यदि माओवादीले कोटा पाएमा नेताहरू वामदेव क्षेत्री र विनोद पहाडीमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । रातोपाटीको जिज्ञासामा नेता क्षेत्री र पहाडीले पार्टीले जिम्मेवारी दिए उम्मेदवार बन्न तयार रहेको बताए ।
नेपाली काँग्रेसले यो क्षेत्रबाट उम्मेदवारी दिने अवस्थामा गुल्मीका नेता चन्द्र भण्डारीलाई यहाँबाट उम्मेदवार बनाउन सक्ने सो पार्टीका स्थानीय नेता बताउँछन् । विष्णु पौडेललाई टक्कर दिनसक्ने यस क्षेत्रमा अन्य काँग्रेस नेता नभएकाले पनि भण्डारीको नाम चर्चामा ल्याइएको बताइन्छ । तर नेपाली काँग्रेसका रुपन्देही सचिव हरि काफ्ले भने चन्द्र भण्डारीले गुल्मी क्षेत्र नं. १ बाटै चुनाव लड्ने चाहना राखेको बताउँछन् ।
गठबन्धन दलबाट भागवण्डा मिले एकीकृत समाजवादीका दुई नेताले पनि विष्णु पौडेललाई टक्कर दिन सक्नेछन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाई र पार्टीका प्रदेश सचिव राजु गुरुङको नाम पनि चर्चामा छ । यी दुईमध्ये जोसुकै उम्मेदवार बने पनि विष्णु पौडेललाई टक्कर दिन सक्ने स्थानीय नेता–कार्यकर्ता बताउँछन् ।
रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा बुटवल उपमहानगरपालिकामा १९ वडा, तिलोत्तमा नगरपालिकाका ६ वटा वडा पर्दछ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरका १९ वडामध्ये काँग्रेसले १२ र माओवादीले १ गरी १३ वटा वडा सत्तारुढ गठबन्धनले जितेको छ । थप एउटा वडा पनि काँग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिएकाले जितेका छन् । एमालेले जम्मा ५ वटा वडा जितेको छ । बुटवलका वडा नं. १०, ११, १४, १८ र १९ वडामात्र एमालेले जितेको छ ।
स्थानीय तहको मत परिणाम अनुसार बुटवल उपमहानगरमा एमालेका मेयरका प्रत्याशी बाबुराम भट्टराईले जम्मा २२ हजार ७१८ मत ल्याएका थिए भने गठबन्धनबाट नेपाली काँग्रेसका खेलराज पाण्डेले ३० हजार २४९ मत ल्याएर विजय हासिल गरेका थिए । त्यस्तै, तिलोत्तमामा पर्ने ६ वटा वडामध्ये दुई वटामात्र एमालेले जितेको थियो भने गठबन्धनका दलले ४ वटा वडा जितेका छन् । यहाँ ६ वटै वडाको कुल मत हेर्दा गठबन्धन दलको मत १० हजार ८६५ छ भने एमालेको ८ हजार ३०२ छ ।
स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा प्रतिनिधिसभा निर्वाचनतर्फ रुपन्देही–२ मा एमालेका लागि सत्तारुढ गठबन्धन निकै भारी हुने देखिन्छ ।