काठमाडौं । नितिशकुमारले मंगलबार अचानक भाजपासँगको गठबन्धन तर्फको मुख्यमन्त्रीबाट राजीनामा दिए । उनले राज्यका गभर्नर फागु चौहानलाई भेटेर बिहारको मुख्यमन्त्रीबाट राजीनामा बुझाएका हुन् । र एक पटक फेरि उनी राजदसँग गठबन्धन बनाउन पुगे ।

नयाँ सरकार गठनको दावी गर्न राजभवन जाँदा नितिश कुमार, आरजेडी नेता तेजस्वी यादव र जदयू अध्यक्ष लालन सिंह एउटै गाडीमा सबार थिए । उनको यो कदमलाई जदयूका पूर्व अध्यक्ष र केन्द्रीय मन्त्री रामचन्द्र प्रसाद सिंह (आरसीपी सिंह) ले सन् २०२० को जनादेशको धोका बताए । तर जदयू संसदीय बोर्डका अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री उपेन्द्र कुशवाहाले यो निर्णय बिहारका लागि मात्र नभई भारतका लागि कोशेढुङ्गा साबित हुने बताएका छन् ।

भाजपाले नितिश कुमारले बिहारको जनता र भाजपाप्रतिको धोका बताएको छ । भाजपा बिहारका अध्यक्ष सञ्जय जयसवालले पटनामा पत्रकार सम्मेलन गर्दै बिहारका जनताले यो पटक्कै सहन नसक्ने बताए । सन् २०२० विधानसभा चुनावमा जदयुले ४३ सिट जितेको थियो जबकि भाजपाले ७४ सिटमा जित हासिल गरेको थियो ।

सन् २०१५ को चुनावी नतिजामा पनि नितिश कुमारको पार्टी जदयू सबैभन्दा ठूलो पार्टी बन्न सकेको थिएन । यति हुँदाहुँदै पनि गठबन्धनले उनलाई मुख्यमन्त्री बनाएको थियो ।

टिकिरहने कला
जीतनराम मांझी बीचमा मुख्यमन्त्री भएको छाड्ने हो भने नितिश कुमार झण्डै १६ वर्ष९१५ वर्ष ३५० दिन०देखि लगातार बिहारको मुख्यमन्त्री रहिरहेका छन् । सन् २०१४ को लोकसभा चुनाव अघि भाजपासँग गठबन्धन तोडेर नितिश कुमारले लोकसभा चुनाव एक्लै लडे । तर उनले अपमानजनक हारको सामना गर्नु पर्यो ।

सन् २०१४ मेमा मुख्यमन्त्री पद छाडेका नितिशले अर्को वर्ष २०१५ फेब्रुअरीमा जीतनराम माझीलाई पार्टीबाट निष्कासित गरेर १३० विधायक लिएर राजभवन पुगेर सरकार गठनको दावी गरेका थिए । लालुको १५ वर्षको शासनविरुद्ध लडेर सत्तामा आएका नितिश कुमारले सन् २०१५ पछि बिहारमा गठबन्धनबिना सरकार बनाउन नसकिने बुझे । र यहीँबाट लालुप्रसाद यादव र नितिश कुमार नजिकिएका हुन् ।

बिहारमा यी दुई प्रमुख दलको ‘सामाजिक न्यायसहितको विकास’को नाराले राज्यमा भाजपाको ‘विकास’को नारालाई पराजित गरेको छ । यी दुई दलको सहायात्रा लामो हुने चर्चा हुन थालेको थियो । तर सन् २०१७ जुलाई २७ मा नितिश कुमार गर्भनर केशरीनाथ त्रिपाठीकहाँ पुगेर राजीनामा बुझाए । राज्यका तत्कालीन उपमुख्यमन्त्री तेजस्वी यादवमाथि भ्रष्टाचारको आरोप लागेको भन्दै नितिशले आरजेडीसँगको गठबन्धन टुटाउन आवश्यक भएको बताएका थिए ।

त्यसपछि नितिश कुमार त्यही भाजपासँग मिल्न गएका थिए जसलाई उनले केही समयअघि –‘म मर्छु तर भाजपासँग मिल्नेछैन’ भनेका थिए । अहिले नितिश कुमार पुन भाजपासँग मिल्न गएका छन् । तर तीन वर्षअघिकोस्थिति अर्कै थियो ।

हुनत, राजनीतिलाई समीकरण र सम्भावनाको खेल भनिन्छ । र त्यही तथ्यलाई प्रमाणित गर्दै, नरेन्द्र मोदीको ‘साम्प्रदायिक छवि’बाट टाढा रहने बताएका नितिश कुमारले सन् २०१९ को लोकसभा चुनावमा नरेन्द्र मोदीका लागि मत मागे । र एक वर्षपछि भएको विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले नितिशलाई भोट मागे ।

इन्जिनियर बाबुदेखि सुशासन बाबुको यात्रा

नितिश कुमारको जन्म १ मार्च १९५१ मा पटना सहरको छेउमा रहेको बख्तियारपुरमा भएको थियो । नितिश कुमारले बिहार इन्जिनियरिङ कलेजबाट इलेक्ट्रिकल इन्जिनियरिङ पढेका थिए । विद्यार्थी राजनीति गर्दा ताका उनलाई मानिसहरु इन्जिनियर बाबु भनेर बोलाउँथ्यो ।

नितिश कुमारले जयप्रकाश नारायणको पूर्ण क्रान्ति आन्दोलनमा सहभागी भएर राजनीतिक जग बसाएका थिए । त्यस आन्दोलनमा लालु यादब पनि सहभागी थिए, जो नितिशभन्दा सिनियर थिए । कलेज पढ्दा उनले १५० रुपैयाँको छात्रवृत्ति पाउँथे, जसबाट उनी हरेक महिना किताब र पत्रिकाहरू किन्ने गर्थे जुन त्यो समयका अन्य बिहारी विद्यार्थीका लागि सपनाजस्तै कुरा हुन्थ्यो ।

स्वतन्त्रता सेनानीका छोरा नितिश किशोरकालदेखि नै राजनीतितर्फ ढल्किसकेका थिए । लालुप्रसाद यादव र जर्ज फर्नान्डिसको छायाँमा राजनीति सुरु गरेका नितिश कुमारले राजनीतिमा ४६ वर्ष लामो यात्रा गरेका छन् ।

सन् १९९५ मा समता पार्टीले सात सिट मात्र पाएपछि नितिश कुमारले राज्यमा तीन दल छुट्टाछुट्टै लड्न नसक्ने बुझे । त्यसैले उनी सन् १९९६ मा नितिश कुमारले भाजपासँग गठबन्धन गरे । यस समय भाजपाको कमान लालकृष्ण आडवाणी र अटल बिहारी वाजपेयीको हातमा थियो ।

यो गठबन्धनबाट नितिश कुमारलाई फाइदा भयो र सन् २००० मा उनी पहिलो पटक मुख्यमन्त्री बन्ने बाटो खुल्यो । यद्यपि उनले यो पद सात दिनका लागि पाए । तर उनले यही छोटो समयमा आफूलाई लालु यादवको बलियो विकल्पका रुपमा प्रस्तुत गर्न सफल भएका थिए ।

महादलितहरुलाई गरेको योगदान

सन् २००७ मा, मुख्यमन्त्रीका रुपमा नितिश कुमारले विहारमा दलितहरूमध्ये सबैभन्दा पिछडिएका जातिहरूको लागि ’महादलित’ श्रेणी सिर्जना गरे । उनीहरुका लागि सरकारी योजना ल्याइयो । सन् २०१० मा आजास, पढाइका लागि ऋण, विद्यालय पोशाक उपलब्ध गराउने योजना ल्याइयो ।

आज बिहारका सबै दलित जातिलाई महादलितको श्रेणीमा राखिएको छ । सन् २०१८ मा पासवानलाई पनि महादलितको दर्जा पनि दिइएको थियो । रामविलास पासवान बिहारमा दलितको सबैभन्दा ठूलो नेता भए पनि दलितहरूको लागि सबैभन्दा धेरै योगदान नितिश कुमारले गरेको विज्ञहरू बताउँछन् ।

नितिश आफैं कुर्मी जातिबाट आएका हुन्, जसको जनसंख्या विहारको कुल जनसंख्यामा ४ प्रतिशत छ, तर सत्तामा रहँदा उनले सधैं ठोस जात–जाति मतदाता भएको पार्टीसँग गठबन्धनमा चुनाव लडे । चाहे त्यो भाजपासँग लडेको चुनाव हो, जहाँ उनले भाजपा समर्थक मानिने उच्च जातिको मतदाताको समर्थन पाएका थिए वा २०१५ मा यादव–मुस्लिम आधार भएको राजदसँगको सहयोगले किन नहोस् ।

नम्र र कोमल छवि भएका नितिश कुमार राजनीतिक निर्णय लिने मामिलामा अन्य राजनीतिज्ञ जतिक्कै निर्दयी हुन सक्छन् । यसबारे मणिकान्त ठाकुर भन्छन् ,‘ उनले शरद यादव र जर्ज फर्नान्डिजलाई के गरे सबैलाई थाहा छ । फर्नान्डेजको जीवनका अन्तिम दिन कसरी बित्यो यो कसैबाट लुकेको छैन ।’

नितिश कुमारको पार्टीको कुनै संस्थागत संरचना छैन, तर यसका बावजुद नितिशले आफ्नो राजनीतिक सीपको प्रयोग गरेर राज्यमा भोट बैंक र कार्यकर्तालाई आफूतर्फ तानेर १५ वर्षसम्म सत्ताको केन्द्रबिन्दु बसे । – बीबीसी हिन्दी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!