
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मंसिर ४ गते हुने संसदीय चुनाव काठमाडौंबाट लड्ने तयारी गरिरहेका छन्। शर्मा काठमाडौं क्षेत्र नम्बर ५ मा लड्ने तयारीसहित छलफल गरिरहेका छन्।
काठमाडौं-५ बाट २०७४ मा कांग्रेसका प्रकाशशरण महत उम्मेदवार बनेका थिए। महतलाई हराएर नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जिते। यही क्षेत्रमा शर्मा उठ्ने तयारीमा छन्। महामन्त्री शर्मा २०७४ मा झापा क्षेत्र नम्बर १ बाट उठेका थिए। उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भए।
काठमाडौं-५ मा स्थानीय चुनावको मत हेर्दा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा कांग्रेस दोस्रो पार्टी हो। यहाँ एमाले पहिलो पार्टी हो उसका वडाध्यक्ष उम्मेदवारले १९ हजार सात सय ३ मत पाएका छन्। कांग्रेसका वडाध्यक्ष उम्मेदवारले १४ हजार आठ सय ५३ मत ल्याएका छन्।
यहाँ राप्रपाले दुई हजार ८ सय २२ मत ल्याएको छ भने नेकपा (एकीकृत समाजवादी) ले एक हजार ८ सय २७ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रले एक हजार एक सय ६८ मत ल्याएको छ। अरू दलका वडाध्यक्ष उम्मेदवारले एक हजार तीन सय १५ मत ल्याएका छन्।
यहाँ पाँच दलीय गठबन्धनको मत जोड्दा एमालेसँग करिब २ हजार मत नपुग्ने देखिन्छ। कांग्रेस महामन्त्री शर्माले यो मत लोकप्रियताका आधारमा आफूतर्फ तान्न सक्ने विश्वास गरेका छन्।
२०७४ को चुनावमा झापा-१ मा माओवादीका राम कार्कीसँग शर्मा दुई हजार ८ सय ६३ मतान्तरले पराजित भएका थिए। त्यसबेला कार्की वाम गठबन्धनका साझा उम्मेदवार थिए। यसपालि भएको स्थानीय चुनावमा झापा-१ मा कांग्रेस एमालेभन्दा निकै पछि छ।
यहाँ एमालेले ३१ हजार दुई सय ३२ मत ल्याएको छ। कांग्रेसले भने २४ हजार ५९ मत ल्याएको छ। माओवादीले तीन हजार ९ सय ९५, नेकपा एकीकृत समाजवादीले एक हजार दुई सय ५२, जसपाले ६९, राप्रपाले ६ हजार ९ सय २२ र स्वतन्त्रले दुई हजार २ सय ५६ मत ल्याएका छन्।
गठबन्धनका अन्य पार्टीको मत जोड्दा यहाँ कांग्रेसले २९ हजार हराहारी मत पुर्याउँछ तर एमाले एक्लैको मत ३१ हजार बढी छ। एमालेसँग राप्रपाले गठबन्धन गरे ३६ हजारभन्दा बढी मत पुर्याउने देखिन्छ।
स्थानीय चुनावको मत हेर्दा शर्मालाई झापा-१ भन्दा काठमाडौं-५ मा चुनाव जित्न सहज देखिन्छ।