
काठमाडौं । सत्तारुढ ५ दलले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने भएपछि नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेता चुनाव लड्ने तयारीमा छन् । पाँच दलीय गठबन्धन हुने भएपछि चुनाव जित्न सहज हुने देखेर अधिकांश नेताले चुनाव लड्ने योजना बनाएका हुन् ।
माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरे पनि हाल १५ जनालाई मात्रै राखिएको छ । स्थायी समितिमा रहेका अधिकांश शीर्ष नेता चुनाव लड्ने मनस्थिति बनाएपनि नेपाली काँग्रेसका नेताहरुसँग चुनाव क्षेत्र जुध्दा कतिपय नेता समस्यामा परेका छन् ।
माओवमदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् । २०७४ सालको चुनावमा एमाले–माओवादी गठबन्धनबाट निर्वाचित भएका प्रचण्ड यो पटक चितवनबाटै चुनाव लड्ने तयारी गरेका हुन् ।योसँगै चितवनका माओवादी नेता–कार्यकर्तासमेत उनको निर्वाचन प्रचारप्रसारमा सक्रिय भइसकेका छन् ।
चुनावमा गठबन्धनको मद्दतमा निर्वाचित हुनेमा प्रचण्ड ढुक्क छन् । प्रचण्डलाई चुनौती दिने एमालेमा कोही नदेखिए पनि राप्रपाका विक्रम पाण्डे सशक्त प्रतिस्पर्धी मानिन्छन् । पाण्डेलाई यसअघि प्रचण्डविरुद्ध काँग्रेसले सघाएको थियो । यो पटक एमालेले उनलाई सघाएर प्रचण्डलाई अप्ठ्यारो पार्न सक्ने आकलन गरिएको छ ।
२०७४ सालको चुनावमा प्रचण्डले पाण्डेलाई ९ हजार ३४१ मत अन्तरले हराएका थिए । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि चितवनबाट चुनाव लड्ने तयारीमा छन् । काँग्रेस र एमालेसहित माओवादी विरोधी मत आफ्नो पक्षमा पारेर चुनाव जित्ने उनको दाउ छ ।
यस्तै माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा चुनाव लड्ने मुडमा छन् । पार्टीले टिकट दिएमा गठबन्धनबाट चुनाव लड्न आफू इच्छुक रहेको उनले बताए ।
आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि पार्टीले निर्णय गरेमा प्रतिनिधिसभा चुनाव लड्ने उनको भनाइ छ । पाँच दलीय गठबन्धनमा नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईसमेत समेटिएमा श्रेष्ठको निर्वाचन क्षेत्र बाबुराम भट्टराईले पाउने सम्भावना छ । त्यस्तो अवस्थामा श्रेष्ठलाई कसरी मनाइन्छ भन्ने हेर्न बाँकी छ ।
यता स्थायी समिति सदस्य एवम् अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्छन् । उनले टिकट पाउने लगभग निश्चित छ । उनी आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय पनि छन् । स्थायी समिति सदस्य वर्षमान पुनले रोल्पाबाट टिकट पाउने पनि निश्चितजस्तै छ । उनी पनि आफ्नो निर्वाचन क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् ।
यस्तै स्थायी समिति सदस्य चक्रपाणि खनाल कपिलवस्तु क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । खनाल अघिल्लो निर्वाचनमा काँग्रेस नेता दीपकुमार उपाध्यायसँग झिनो मत अन्तरले विजयी भएका थिए । खनालले २९ हजार ७९९ मत ल्याउँदा उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए ।
खनाल एमालेसहितको गठबन्धनमा समेत झिनो मत अन्तरले विजयी भएकाले यो पटक सो क्षेत्रमा गठबन्धनबाट काँग्रेसले दाबी गर्ने सम्भावना पनि उत्तिकै छ । कपिलवस्तु–१ मा गठबन्धनबाट खनाल र उपाध्यायमध्ये कसले टिकट पाउँछ भन्ने टुङ्गो लाग्न बाँकी नै छ ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले दाङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रको अवस्था अवलोकन गरेर उनी भर्खरै राजधानी फर्किएका छन् । उनको निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा एमालेले जितेकाले उनलाई चुनाव जित्न चुनौती देखिएको छ ।
सो क्षेत्रमा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन् । गठबन्धनबाट महराले टिकट पाएमा एमाले महासचिव पोखरेलसँग ‘हेभी वेट’ प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै, स्थायी समिति सदस्य गणेश साह चुनाव लड्ने पक्षमा छैनन् । उनी मधेस प्रदेशको इन्चार्ज पनि हुन् । उनले आफू उम्मेदवार हुनेभन्दा पनि आफ्ना सहकर्मीलाई चुनाव जिताउन लागिपर्ने योजना बनाएका छन् ।
अर्का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचन लड्ने तयारीमा छन् । मधेस प्रदेशमा पार्टीभित्र गुटबन्दी हुँदा पोखरेल कमजोर भएका छन् ।
२०६४ सालदेखि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका पोखरेल आन्तरिक गुटबन्दीका कारण अप्ठ्यारोमा परे पनि पाँच दलीय गठबन्धनको मद्दतमा आफू निर्वाचित हुनेमा ढुक्क देखिदा माओवादी प्रमुख सचेतक देव गुरुङ लमजुङबाट चुनाव लड्ने तयारीमा छन् । २०७४ सालको चुनावमा एमाले–माओवादी गठबन्धनबाट गुरुङ निर्वाचित भएका थिए ।
पहिलो संविधानसभा चुनावमा मनाङबाट निर्वाचित भएका गुरुङ यो चुनावमा लमजुङबाट उम्मेदवार बन्ने तयारीमा छन् । काँग्रेसका नेता दिलबहादुर घर्ती समेत लमजुङबाटै प्रतिनिधित्व गर्ने भएकाले गुरुङ र घर्तीमध्ये गठबन्धनबाट कसले टिकट पाउँछ भन्ने प्रस्ट हुन बाँकी छ । यद्यपि, गुरुङ माओवादीकै सिनियर नेता भएकाले गठबन्धनबाट टिकट पाउने सम्भावना बढी रहेको चर्चा छ ।
एमाले प्रवक्ता पृथ्वी सुब्बा गुरुङको समेत निर्वाचन क्षेत्र लमजुङ भएकाले टिकट पाए पनि देव गुरुङलाई चुनाव जित्न कडा चुनौती मिल्ने देखिन्छ ।
यस्तै पार्टी स्थायी समिति सदस्य एवम् शिक्षा मन्त्री देवेन्द्र पौडेल समेत बाग्लुङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् । पौडेल जनमोर्चालाई प्यूठान निर्वाचन क्षेत्र दिएर आफू बाग्लुङबाट चुनाव लड्ने तयारीमा छन् । आफूलाई पार्टीले टिकट दिएमा बाग्लुङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनले बताए ।
स्थायी समिति सदस्य एवम् ऊर्जा मन्त्री पम्फा भुसालले ललितपुरबाट चुनाव लड्ने तयारी गरेकी छन् । २०६४ साल र २०७४ साल दुवै चुनावमा ललितपुर–३ बाट जितेकी उनी फेरि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी छन् । माओवादीकी सिनियर महिला नेतृ, त्यसमा पनि विगतमा आफूले जितेकै क्षेत्रमा फेरि टिकट पाउनेमा उनी ढुक्क छिन् ।
स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेल पनि उम्मेदवार बन्ने तयारीमा छन् । तर उनीहरुलाई गठबन्धनबाट टिकट लिन समस्या पर्ने देखिएको छ । गजुरेललाई पार्टीभित्रैबाट टिकट लिन समस्या देखिएको छ भने बस्नेतलाई गठबन्धनबाट टिकट लिन सकस हुने भएको छ ।
गुजरेलको निर्वाचन क्षेत्र सिन्धुली क्षेत्र नम्बर २ मा पोलिटब्यूरो सदस्य राजन दाहालले दाबी गरेका छन् । पार्टीका प्रभावशाली नेता दाहालले समेत टिकट दाबी गरेकाले गजुरेललाई टिकट लिन समस्या छ । यस्तै बस्नेतलाई गठबन्धनबाट काँग्रेस नेता राजीवविक्रम शाही तगारो बन्न सक्ने देखिन्छ । शाहीले चुनाव लड्ने तयारी गरिसकेका छन् । उनी स्वतन्त्र भए पनि चुनाव लड्ने भन्दै तयारीमा जुटिसकेका छन् ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले धनुषा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । मधेसमा माओवादी कमजोर भए पनि यादव गठबन्धनको बलमा चुनाव जित्न सहज हुने आकलनमा छन् । यस्तै स्थायी समिति सदस्य लीलामणि पोखरेल पनि यो पटक चुनाव लड्ने तयारीमा छन् । काठमाडौं क्षेत्र नम्बर २ वा प्यूठानमध्ये एक क्षेत्रबाट चुनाव लड्ने पोखरेलले बताए ।