
काठमाडौं । सरकाररले प्रदेश र प्रतिनिधीसभा चुनावको मिति घोषणा गरेसंगै सरकारका मन्त्रीहरूको ध्यान सिंहदरबारभन्दा निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेको छ ।
जागिर धान्न सिंहदरबार गएपनि मन्त्रीहरू बिहान बेलुका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । गठबन्धनले कार्यदल बनाएर सीट बाँडफाँडको गृहकार्य थालेका छन् । गठबन्धन बन्ने भएकाले अधिकांश मन्त्रीहरू चुनाव जित्नेमा आशावादी छन् । तर, कतिपय निर्वाचन क्षेत्र तालमेल भएपनि सुरक्षित छैनन् ।
स्थानीय तह चुनावमा पाएको मत प्रतिनिधिसभा चुनावमा आउँछ भन्ने पक्का छैन । उम्मेदवारको व्यक्तिगत प्रभाव र लोकप्रियता पनि चुनाव हारजीतको आधार बन्छ । विगतको प्रतिनिधिसभा निर्वाचन र यसपटक स्थानीय तहको निर्वाचनका आधारमा सरकारमा सहभागी मन्त्रीहरूको विश्लेषण गर्न सकिन्छ ।
यस्तो छ प्रधानमन्त्री र मन्त्रीहरूको चुनावी हिसाब :
प्रधानमन्त्री शेरबहादुर देउवा २०४६ सालपछि भएका सबै निर्वाचन जित्ने एक मात्र कांग्रेस नेता हुन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले डडेल्धुराबाट लगातार ६ पटक चुनाव जितेका छन् ।
विगतमा वामपन्थी दलहरू एक ठाउँ हुँदा पनि चुनाव हराउन नसकेकाले देउवा यसपटक झन् ढुक्क देखिएका छन् । कांग्रेस र माओवादीको भोट जोड्दा सहज जीत हासिल गर्न सकिने देउवाको आत्मविश्वास छ ।
स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा डडेल्धुरामा कांग्रेसले २१ हजार ७ सय ३५, माओवादीले १२ हजार ८ सय ७८ र एमालेले १० हजार ४ सय मत पाएका छन् । नेकपा एसको ५ हजार ४१ मत छ ।
पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टी छाडेर कांग्रेस बीपीमा लागेपनि देउवा चिन्तित छैनन् । सार्वजनिक कार्यक्रममा देउवालाई चोटिलो प्रश्न सोधेर चर्चामा आएका सागर ढकालले समेत डडेल्धुरा पुगेर चुनावी अभियान शुरू गरेका छन् । देउवालाई कैलाली र कञ्चनपुरबाट पनि चुनाव लड्न प्रस्ताव आएको छ ।
सरकारमा दोस्रो वरीयतामा रहेका गृहमन्त्री बालकृष्ण खाँण विगतमा पटक–पटक प्रत्यक्ष चुनाव जिते पनि २०७४ सालमा समानुपातिक प्रणालीबाट संसद्मा आएका थिए । कांग्रेसका प्रभावशाली नेता खाँण चुनाव लडेको क्षेत्रबाट २०७४ सालमा एमालेका घनश्याम भुसाल विजयी भएका थिए । कांग्रेसले राप्रपाका दीपक बोहोरालाई उठाएको थियो ।
यसपटक भने खाँण चुनाव लड्ने तयारीमा लागेका छन् । विगतमा एमालेले जिते पनि यसपटक कांग्रेसका लागि अनुकूल रहेको रुपन्देहीका नेताहरू बताउँछन् ।
निर्णायक मत रहेको तिलोत्तमा नगरपालिकाको मेयरमा खाँणका भाइ नै विजयी भएका छन् । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले धेरै भोट पाएको छ । चुनावको शान्ति सुरक्षाको जिम्मा पाएका गृहमन्त्रीलाई सुरक्षा स्रोतले चुनाव जित्न सकिने भनेर गोप्य रिपोर्ट दिएको चर्चा छ ।
यस्तै २०७४ सालको संविधानसभा निर्वाचनमा वामपन्थी गठबन्धनको हुरीले नछोएकामध्ये ज्ञानेन्द्रबहादुर कार्की पनि हुन् । भोजपुरबाट निर्वाचन क्षेत्र सुनसरीमा सारेका कार्कीले २०७४ सालमा दुर्लभ जीत हाँसिल गरेका थिए । विगतमा चुनाव लड्ने बेला अर्थमन्त्री रहेका कार्की अहिले सञ्चारमा छन् । केपी ओलीसँग देउवाको सम्पर्क सेतु समेत रहेका कार्की ग्रिन जोनमा परेका नेता हुन् ।
देउवा सरकारमा चौथो वरीयताकी ऊर्जा मन्त्री पम्फा भुसाल पनि ग्रीनजोनमै छिन् । माओवादी केन्द्रले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये जित्ने सुनिश्चित भएको ललितपुर– ३ नै हो । माओवादीले उपत्यकामा रोज्ने पहिलो रोजाइ नै ललितपुर–३ हुने माओवादीका नेताहरू बताउछन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचित भुसाल २०६४ सालको चुनावमा यही क्षेत्रबाट चुनाव जितेका थिइन् । विद्यार्थीकालदेखि यही क्षेत्रमा राजनीति गरेकी भुसालको व्यक्तिगत लोकप्रियताका भोट छन् । २०७० सालको संविधानसभा चुनाव नलडेको समयमा पनि स्थानीयहरू समस्या लिएर उनकोमा जाने गरेका थिए ।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका जसपाका राजेन्द्र श्रेष्ठ कुन क्षेत्रबाट उठ्ने भन्ने यकिन छैन । २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी समानुपातिक सांसद हुन् । नेकपा एमालेमा छँदा उनी २०५१ सालको चुनावमा काठमाडौं– ५ बाट निर्वाचित भएका थिए ।
काठमाडौंमा खासै जनमत नभएको जसपाले मधेशका जिल्लामा धेरै सीट दाबी गर्ने भएकाले राजेन्द्र फेरि पनि समानुपातिकमा बस्ने सम्भावना रहेको जसपा स्रोतले बतायो ।
सरकारका प्रभावशाली अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाटै चुनाव लड्दैछन् । माओवादी शान्ति प्रक्रियामा आएपछिका चुनावमा उनी अविजित नेता हुन् । माओवादीको उद्गम थलो रुकुममा माओवादी एक्लै बलियो छ । त्यसमाथि सत्ता गठबन्धन हुँदा शर्मालाई चुनाव जित्न कठिन छैन ।
पछाडि पारिएको रुकुममा विकासका लागि उनले धेरै काम गरेको स्थानीय बताउँछन् । रुकुम पश्चिममा कांग्रेसका कसैले दाबी गरेका छैनन् भने एमालेको तर्फबाट उठ्ने पात्रको पनि टुंगो लागेको छैन ।
खानेपानी मन्त्री बनेका उमाकान्त चौधरी २०७४ सालमा बारा १ बाट प्रत्यक्ष चुनाव जितेका हुन् । चौधरीले २४ हजार ४ सय ५० भोट पाउँदा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत पाएका थिए । जीतपुर सिमरा उपमहानगरपालिका जितेको माओवादीले बारामा १ सीट दाबी गरेको छ ।
कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरले टिकट पाउने र जसपासँग तालमेल गर्दा उसले पनि एक सीट दाबी गर्ने सम्भावना छ । यद्यपि टिकट बाँडफाँड गर्ने कार्यदलको संयोजक कृष्ण सिटौला बनेका कारण चौधरीले टिकट पाउने सम्भावना छ । चौधरी सिटौला प्यानलका हुन् ।
देउवा सरकारमा परराष्ट्र मन्त्रीको जिम्मा पाएका नारायण खड्काले उदयपुरबाट चुनाव जित्दै आएका छन् । भर्खरै सम्पन्न चुनावमा उदयपुरमा कांग्रेस र माओवादीले राम्रो प्रदर्शन गरेका थिए । तर, स्थानीय भने खड्कासँग सन्तुष्ट नरहेको कांग्रेस स्रोत बताउँछ ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एमाले २१ हजार ६ सय ५२, कांग्रेस २० हजार ७ सय ५७ तथा माओवादी ८ हजार १ सय ७९ मत पाएका छन् ।
उपेन्द्र यादवको कोटामा मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् । उनी अघिल्लोपटक सप्तरी ४ बाट चुनाव लडेका थिए । कांग्रेसका तेजुलाल चौधरीले २४ हजार १ सय १३ मत ल्याउँदा सिंहले १४ हजार ८ सय ८६ मत पाएका थिए ।
कुपण्डोलमा रहेको नाइटिङ्गेल स्कूलका सञ्चालक समेत रहेका चौधरीले फेरि त्यही क्षेत्रबाट चुनाव लड्ने तरखर गरेका छन् । गठबन्धन हुँदा चौधरी या यादव कसले टिकट पाउँछ, यकिन छैन । तर, सिंह रेड जोनमा छन् ।
यस्तै रेणु यादवलाई विस्थापित गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्न पुगेका मोहम्मद इश्तियाक राई पश्चिम तराईका जिल्लामा उपेन्द्र यादवका पिल्लर हुन् ।
बाँकेको नेपालगञ्ज क्षेत्रबाट चुनाव जित्दै आएका राई गठबन्धन भएमा सहज जीत निकाल्न सकिने विश्वासमा छन् । २०७४ सालको निर्वाचनमा राईले बाँके २ बाट २१ हजार ५ सय ७५ मत ल्याउँदा पशुपति दयाल मिश्रले १५ हजार ९ सय ५१ मत पाएका थिए ।
यही क्षेत्रबाट राप्रपाका धवल शमशेर जबरा उम्मेदवार बन्दैछन् । एमालेसँगको तालमेलमा धवल उम्मेदवार बने भने राई रेडजोनमा पर्नेछन् । नेपालगञ्जका निवर्तमान मेयर धवल शमशेर स्थानीयमाझ लोकप्रिय छन् ।
देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूको निर्वाचन क्षेत्रको टुंगो छैन । स्थानीय तह निर्वाचनमा राम्रो प्रदर्शन गरेको दार्चुला माओवादीले दाबी गरेको छ । सुदूरपश्चिममा कैलालीका २, कञ्चनपुरका १ बाहेक माओवादीको रोजाइ दार्चुला रहेको माओवादीका एक नेता बताउँछन् ।
२०७४ सालको चुनावमा वाम गठबन्धनमा एमालेका गणेशसिंह ठगुन्ना यस क्षेत्रबाट विजयी बनेका थिए । ठगुन्नाले २८ हजार ९ सय ९८ मत पाउँदा कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत पाएका थिए ।
देउवा सरकारमा १२ औं वरीयतामा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल २०७४ सालमा पहिलोपटक संसद्मा पुगेका थिए । प्रतिनिधिसभा पुनःस्थापनापछि बनेको सरकारमा उनी मन्त्री बन्ने मौका पाए । वामपन्थी गठबन्धन बन्दा बाग्लुङ २ बाट चुनाव जितेका पौडेललाई यसपटक कांग्रेसको भर छ । माओवादीको उपस्थिति कमजोर रहेको यो क्षेत्रमा कांग्रेस इमान्दार बनिदिएमा मात्र उनले चुनाव जित्नेछन् ।
यस्तै देउवा सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेकी रेग्मीको निर्वाचन क्षेत्रको टुंगो छैन । रेग्मीले प्रत्यक्ष चुनाव लडेमा चितवनको कुनै क्षेत्रमा जाने सम्भावना छ ।
यता जनमोर्चाको पृष्ठभूमिबाट माओवादीमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको पनि निर्वाचन क्षेत्र यकिन छैन । श्रेष्ठका पति लीलामणि पोखरेल विगतमा सिन्धुलीबाट चुनाव लडेका थिए । पोखरेल एकपटक काठमाडौं– २ मा चुनाव लडेर पराजित भएका थिए ।
समानुपातिकबाट सांसद हुँदै मन्त्री बनेकी श्रेष्ठ फेरि पनि समानुपातिकमै बस्ने सम्भावना छ ।
देउवा सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका महेश्वरजंग गहतराज २०७४ सालको चुनावमा बाँके १ बाट निर्वाचित भएका थिए । गहतराजले ३१ हजार १ सय ७३ मत प्राप्त गर्दा कांग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत प्राप्त गरेका थिए ।
कांग्रेसले साथ दिएको खण्डमा उनले जीत निकाल्न सम्भव छ । एकल प्रयासले भने जित्नसक्ने देखिन्न ।
यस्तै सरकारको १६ औं वरीयतामा रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी कागताली परेर सरकारमा मन्त्री बन्न आएका हुन् ।
गैरसांसद मन्त्री बन्दीको कार्यकाल चुनावअगावै सकिँदैछ । मन्त्रीबाट हटे पनि उनी चुनावमा नभई सर्वोच्च अदालतमा बहसमै फर्किने उनलाई चिनेकाहरू बताउँछन् । दैलेखका बन्दी राजनीतिक रूपमा माधव नेपालनिकट मानिन्छन् ।
गत चुनावमा काठमाडौं ८ बाट निर्वाचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने कोशिशमा छन् । २०७४ सालमा वामपन्थी गठबन्धनका एमाले उम्मेदवार श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए ।
चुनावी तालमेल हुँदा नेकपा एसले काठमाडौंमा २ र ८ नम्बर क्षेत्रलाई बटमलाइन बनाएको छ । स्थानीय चह चुनावमा यो क्षेत्रमा कांग्रेसले राम्रो मत ल्याएको छ । मन्त्री श्रेष्ठको यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले प्रतिष्पर्धा गर्ने बताएका छन् ।
शहरी विकास मन्त्री बनेका मेटमणि चौधरी दाङ– १ बाट चुनाव लड्ने तरखरमा छन् । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङको चुनावलाई एमालेले प्रतिष्ठाको विषय बनाएको छ ।
नेकपा एमाले विभाजनका बेला सक्रिय चौधरी नेकपा एसका नेता हुन् । एमालेले यो क्षेत्रबाट गंगा चौधरीलाई उम्मेदवार बनाउने सम्भावना छ । थारुबहुल क्षेत्र भएकाले दाङ १ मेटमणिका लागि अनुकूल छ, तर एसको संगठनात्मक भोट निकै कम देखिएको छ । चुनाव जित्नका लागि उनलाई कांग्रेस र माओवादीको दरिलो साथ चाहिने देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका भवानीप्रसाद खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन । वाम गठबन्धनका एमाले उम्मेदवार खापुङले कांग्रेसकी सीता गुरुङलाई पराजित गरेका थिए ।
२०७४ सालको चुनावमा खापुङले २१ हजार ३ सय ३५ मत पाउँदा कांग्रेसकी सीताले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी थिइन् । चुनाव हारेपछि सीता जिल्लामै बसेर राजनीति गरिरहेकी छिन् ।
अहिले पनि कांग्रेसका तर्फबाट उनी प्रमुख दाबेदार हुन । मन्त्री खापुङको पार्टी एसले मात्र ५ सय ४६ मत प्राप्त गरेको थियो । एसको मत निकै कम रहेकाले उनले टिकट पाउने सम्भावना नै कम देखिन्छ । टिकट पाए पनि उनी ग्रीनजोनमा देखिन्छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवर अछामबाट प्रतिस्पर्धा गर्दैछन् । एमाले नेता भीम रावलको गृहजिल्लाबाट चुनाव लडाउन माधव नेपालले कुँवरलाई मन्त्री बनाएका हुन् ।
संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव जितेका कुँवर राष्ट्रिय सभाको सांसद बनेका थिए । कुँवरले टिकट पाएमा चुनाव जित्नका लागि कांग्रेसको इमान्दार प्रयास र आशीर्वाद बटुल्नुपर्नेछ । स्थानीय तह निर्वाचनमा अछामका दुवै क्षेत्रमा नेपाली कांग्रेसले एमालेले भन्दा धेरै मत पाएको छ । अछाममा कांग्रेसले ७ पालिका जित्दा एमालेले २ र माओवादीले एकमा चित्त बुझाएका थिए ।
वन तथा वातावरण मन्त्री रहेका प्रदीप यादव पर्साको वीरगञ्ज क्षेत्रबाट २०७४ सालमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुत्लादहन भएको थियो ।
यो क्षेत्रका प्रभावशाली नेता यादवसँग एमालेले भर्खरै वीरगञ्जको मेयरमा पराजित विजय सरावगीलाई उठाउने सम्भावना छ । विगतमा जसपाबाट मेयर जितेका सरावगी चुनावको मुखमा एमाले प्रवेश गरेका थिए । जसपाले चुनाव जितेको वीरगञ्जमा सरावगीको लज्जास्पद पराजय भएको थियो ।
प्रधानमन्त्री शेर बहादुरका विश्वासिला पात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री बनेर बसेका उमेश श्रेष्ठ धनाढ्य मन्त्रीको रूपमा परिचित छन् ।
२०७४ सालको प्रतिनिधि सभामा समानुपातिकतर्फबाट सांसद बनेका श्रेष्ठले यसपटक चितवनबाट चुनाव लड्न भूमिका बनाउँदै छन् ।स्थानीय तह चुनावमा गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई जिताउन फिल्डमा खटिएको समयमा श्रेष्ठले चितवनबाट चुनाव लड्ने बताएका थिए ।
चितवनबाट चुनाव लडेमा उनी २ नम्बर क्षेत्रबाट लड्ने सम्भावना छ । चितवन ३ प्रचण्डलाई छाड्नुपर्ने भएपछि बाँकी २ क्षेत्रमा नेताको व्यवस्थापन गर्न कांग्रेसलाई धौधौ परेको छ । श्रेष्ठ भने सिधै देउवाको भिटो लगाएर टिकट हत्याउने दाउमा छन् ।
देउवा मन्त्रिपरिषद्मा २३ औं वरीयतामा रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बोधमायाकुमारी यादव धनुषाबाट समानुपातिक सांसद हुन् ।नेताहरूको व्यवस्थापन कठिन भएकाले उनले धनुषाबाट प्रत्यक्ष टिकट पाउने सम्भावना कमजोर रहेको नेताहरू बताउँछन् । उनको प्रयास पुनः समानुपातिकमा दोहोरिनु हुने धनुषाका माओवादी नेतारकार्यकर्ता बताउँछन् ।
देउवा सरकारको मन्त्रिपरिषद्का २४ औं नम्बरमा रहेका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी गत चुनावमा दाङ– ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । माधव नेपालका विश्वासपात्र केसी अहिले नेकपा एसमा छन् ।
दाङका तीन क्षेत्रमा सीट बाँडफाँड गर्दा कांग्रेस, माओवादी र एसले एक–एक क्षेत्र पाउने सम्भावना छ । मेटमणिले टिकट पाए केसी प्रदेश सभामा जानु पर्ने नेताहरू बताउँछन् ।
केसीले प्रतिनिधि सभामा टिकट पाए मेटमणि प्रदेश सभामा खुम्चिनु पर्नेछ । यो क्षेत्रबाट एमालेले तुलसीपुर उपमहानगरका पूर्व मेयर घनश्याम पाण्डे या राष्ट्रिय सभाकी निवर्तमान सदस्य कोमल वलीलाई उठाउने सम्भावना छ ।
विगतको चुनावका केसीले ४० हजार २ सय ८७ मत प्राप्त गर्दा कांग्रेसका दीपक गिरीले ३३ हजार ७ सय ३० मत पाएका थिए ।