काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे पार्टीमा न्यायोचित अवसरका लागि संस्थापन इतरको भेला बोलाएको बताएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले पार्टीले सबैलाई न्यायोचित अवसर दिनुपर्छ भन्नुलाई विरोध वा भाग मागेको भन्न नहुने बताएका हुन् ।

“चौधौं महाधिवेशनपछि पनि पार्टीमा मतभेद घटेर सुमधुर सम्बन्ध कायम हुन सकेन । पार्टी सभापतिले आन्तरिक एकता सुदृढ गरेर जान खोजेको जस्तो देखिएन । त्यसकारण बेला-बेलामा भेला गर्नुपरेको हो । पार्टीका हरेक साथीलाई मलाई अवसर देऊ भन्ने हक छ । पार्टीले सबैलाई न्यायोचित अवसर दिनुपर्छ भन्नुलाई विरोध वा भाग मागेको भन्नुहुन्न । एउटा पक्षका कारण मात्र पार्टी बलियो हुन सक्दैन,” नेता घिमिरेले भने ।

पार्टीका साथीहरुले न्यायोचित अवसर नपाएको स्थितिमा महाधिवेशनको मतअनुसार भागबन्डा माग्नु बाध्यता हुने पनि उनले औंल्याए । घिमिरेले भने, “शेखर कोइरालाले भागबन्डाको राजनीति अन्त्य गरौं, सग्लो पार्टी बनाऊँ भनिरहनुभएको छ । तर सभापतिले उहाँलाई प्रतिस्पर्धी नै नमानिरहेको स्थिति छ । चुनावको मुखमा भातृसंस्थाहरु एकलौटी गठन गरिएको छ । पार्टी कसैको निजी सरोकारको विषय मात्र होइन । भागबन्डा त गिरिजाबाबुको पालामा शेरबहादुर देउवाले नै माग्नुभएको हो । पार्टीमा सबै समान अवसर पाउँदैनन् भने संख्याका आधारमा भागबन्डा माग्नुपर्ने हुन्छ । हार्ने र जित्नेलाई, मत हाल्ने र नहाल्नेलाई विभेद नगर भन्नु विरोध होइन । सबैले उचित अवसर नपाएको स्थितिमा महाधिवेशनको मतअनुसार भागबन्डा माग्नु बाध्यता हो । अब ६०–४० को भागबन्डामा नगएर के उपाय छ त ?”

प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई पार्टीको अर्को नेतालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने ऐतिहासिक अवसर भएको पनि घिमिरेले औंल्याए । उनले थपे, “हामीले महाधिवेशनमै पार्टीमा पुस्तान्तरणसहित हस्तान्तरण गरौं भनेको हो । सभापति बदल्न नसके पनि अरु पदमा नयाँ पुस्तालाई पुर्याएको छ । अबको सरकारमा नेपाली कांग्रेसको नेतृत्व दोस्रो वा अरु पुस्ताले गर्नुपर्छ । देउवासँग आफूले राम्रोसँग पार्टी सञ्चालन गर्ने र सरकारको नेतृत्व अर्को नेतालाई हस्तान्तरण गर्ने ऐतिहासिक अवसर छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!