
काठमाडौं । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख राजनीतिक दलहरू बैठक बोलाउने, निर्वाचनको तयारीबारे छलफल र योजना बनाउने काममा जुट्न थालेका छन् ।
सत्तारूढ गठबन्धनमा रहेका दलहरूले गठबन्धनभित्र सिट बाँडफाँटको बारेमा छलफल गरिरहेका छन् । कुन दलले कहाँ–कहाँ उम्मेदवारी दिने, सिट बाँडफाँटको मोडालिटी के हुने भन्ने बारेमा उनीहरू घनिभूत छलफलमा छन् । संसदको प्रमुख पक्ष नेकपा एमाले भने कमिटीको बैठकहरू बोलाएको निर्वाचनको तयारीमा जुटेको छ ।
एमालेलाई सत्तारूढ दलहरूले चुनावमा घेराबन्दीको प्रयास गरिरहेका छन् । संसदमा रहेको एमाले बाहेकका सबै ठूला दलहरूले गठबन्धन गर्ने र एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सरकारमा प्रधानमन्त्री रहँदा दुई पटक संसद विघटन सिफारिस गरेर संघीय प्रणाली, संविधान र गणतन्त्र नै धरापमा पार्न खोजेको आरोप गठबन्धनमा रहेका दलहरूले लगाउने गरेका छन् ।
ओलीले त्यसबखत प्रतिगमनको प्रयास गरेको र सत्ता गठबन्धनमा रहेका दलहरूले त्यसलाई निस्तेज पार्न सफल भएको तर्क गर्ने गर्छन् । एमालेले भने त्यस्तो तर्कलाई खण्डन गर्दै आएको छ ।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्तारूढ गठबन्धनमा रहेका दलहरूले एमालेविरूद्ध गठबन्धन गरेका थिए । गत चुनावमा एमालेले क्षति व्यहोरेको थियो । २०७४ को निर्वाचनमा २९८ स्थानीय तहका जित निकालेको एमालेले गत निर्वाचनमा २०६ स्थानीय तहमा मात्रै चित्त बुझाउनुपर्ने अवस्था आयो ।
स्थानीय तहको चुनावमा भाग लिँदाकै अवस्थामा एमाले संसदीय निर्वाचनमा सहभागी हुँदै छ । प्रतिगमनको आरोपसहित चौतर्फी घेराबन्दीका बीच चुनावी प्रतिस्पर्धामा सहभागी हुन लागेको एमालेले आगामी निर्वाचनमा कति सिट जित्न सक्ला भन्ने सबैमा चासोको विषय छ ।
२०७४ को मंसिरमा भएको संघीय संसद र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले देशव्यापी गठबन्धन गरेका थिए । त्यसबेला उनीहरू पार्टी एकताको नारा लिएर चुनावमा गएका थिए ।
उक्त चुनावमा एमाले र माओवादी केन्द्रले ६०–४० को अनुपातमा सीट बाँडफाँट गरेका थिए । एमालेको भागमा ९९ सीट थियो । त्यसबाहेक, हृदयेश त्रिपाठी, पशुपति दयालमिश्र, वृजेशकुमार गुप्ता र ईश्वरदयाल मिश्रले सूर्य चिह्नबाट चुनाव लडेका थिए । त्यसो हुँदा सूर्य ध्वजाबाहक उम्मेदवारको संख्या १०३ थियो ।
सूर्य चिह्न लिएर उम्मेदवार भएकामध्ये ८० जनाले चुनाव जितेका थिए । उक्त जीतमा माओवादी केन्द्रको पनि मत समावेश भएको थियो ।
माओवादी केन्द्रले ५९ सीटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये माओवादीले ३६ स्थानमा मात्रै जितेको थियो ।
अहिले एमाले २०७४ मा जस्तो सग्लो छैन । एमाले विभाजित भएर अर्को दल नेकपा एकीकृत एकीकृत समाजवादी बनेको छ । त्यसबेला सूर्य चिह्नबाट प्रत्यक्षतर्फ चुनाव जितेका १३ जना र समानुपातिकतर्फका १० जना गरेर २३ जना सांसद एकीकृत समाजवादीतिर लागेका छन् ।
एकीकृत समाजवादी भने एमालेका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले सत्तारूढ गठबन्धनमा सामेल छ । एमालेले भने अन्य दलहरूले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन बनाएको तर्क गर्ने गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनमा रहेका दलहरू राजनीतिलाई प्रतिस्पर्धामा भन्दा शत्रुतामा लगेको भनेर टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये एमालेले ३९ ठाउँमा एमालेविरूद्ध सबै दल मिल्दा पनि जित्ने तथ्यांक एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सुनाएका छन् ।
शनिवार नयाँ बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सबै दल एमालेविरूद्ध हुँदा पनि ३९ सिट एमालेले नै जित्ने दाबी गरेका हुन् । त्यसबाहेक ७० निर्वाचन क्षेत्रमा भने कडा प्रतिस्पर्धा हुने उनले बताए ।
भट्टराईले भने, ‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्यांक अध्यक्षलाई बुझाएका छौँ । त्यसबाहेक, ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुन्छ ।’ एमालेले ढुक्कले जित्ने ती ३९ निर्वाचन क्षेत्र कुन–कुन हुन भन्ने चाहिँ उनले खुलाएनन् । तर, उनले उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा कडा टक्कर हुने ७० निर्वाचन क्षेत्रमा पनि एमालेले नै जित्ने अवस्था आउने बताए ।
तर, एमालेका एक सचिवालय तहका सदस्यले भने केही दिन अघि अनौपचारिक कुराकानीमा सबै दलले एमालेविरूद्ध गठबन्धन गर्दा एमालेले प्रत्यक्षतर्फ २० देखि २५ सिट जित्न सक्ने आँकलन सुनाएका थिए ।
प्रमुख सचेतक भट्टराई भने स्थानीय तहको मत विश्लेषण गर्दा पनि एमाले कमजोर नरहेको तर्क गर्छन् । स्थानीय तहमा एमालेको ‘पपुलर’ मत आएको र त्यस आधारमा पनि आगामी चुनावमा एमालेको जित कमजोर नहुने उनको तर्क छ । ‘सबै दल एकातिर लाग्दा पनि ३८ लाख मत पाएको छ, २०६ स्थानीय तह जितेको छ’, भट्टराईले भने ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङले भने स्थानीय तहको चुनावमा एमाले आफ्नै खुट्टामा अल्झेर लडेकाले आगामी चुनावमा त्यस्तो अवस्था आउन दिन नहुने बताउँछन् । पार्टी भित्रकै अन्तरघातका कारण स्थानीय तहको चुनावको नतिजा प्रभावित भएको र आगामी आम चुनावमा त्यस्तो अवस्था आउन नदिनेमा सचेत हुनुपर्ने उनले बताए ।
खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘हामीविरुद्ध अरु दलहरू एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ? २५०/३०० पार्टीको सदस्य छ, भोट भने २४ आउँछ । हामी आफ्नै खुट्टामा अल्झेको होइन ? आगामी चुनावमा त्यस्तो गल्ती हुन हुँदैन’, नेम्वाङले भने ।