
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुमलटार पुगेका छन्। भट्टराई आइतवार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
उक्त वार्तामा प्रचण्डले बाबुरामलाई पाँच दलीय सत्ता गठबन्धनमा सहभागी गराउने प्रतिवद्धता जनाएको स्रोतले उल्लेख गरेको छ। ‘एउटै चुनाव चिह्नमा लड्ने गरी डा. भट्टराईलाई सत्ता गठबन्धनमा ल्याउने प्रतिवद्धता प्रचण्डले जनाउनु भएको छ’, स्रोतले भन्यो, ‘उहाँहरु माओवादीकै चुनाव चिह्न र साझा घोषणा पत्रबाट आगामी चुनाव लड्ने विषयमा सहमतिनजिक हुनुहुन्छ।’
यसअघिको भेटमा माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। तर आइतवार दुई नेताबीच एक्ला एक्लै वार्ता भएको थियो।
प्रचण्ड र बाबुरामबीचको यो समझदारीपछि भोलि (सोमबार) सत्तारुक्ष गठबन्धनको बैठक बस्दैछ। उक्त बैठकबाट बाबुराम नेतृत्वको समाजवादीलाई पनि गठबन्धनमा ल्याउने तयारी भएको स्रोतले जनाएको छ।
बाबुराम सत्ता गठबन्धनमा सहभागी भएपछि माओवादी र समाजवादीको एउटै घोषणापत्र र चुनाव चिह्न हुनेछ। अब बाबुरामले माओवादीकै चिह्नबाट आगामी निर्वाचनमा लड्ने समझदारी बनेको बताइएको छ।
यसबारे थप गृहकार्य गर्ने सहमतिसहित दुई नेताहरुको बैठक सकिएको छ। जनता समाजवादी पार्टीबाट बिदा भएपछि बाबुराम अहिले नयाँ पार्टी खोलेर राजनीतिक अभियानमा छन्। यस्तोमा उनी आगामी चुनाव जित्ने राम्रो विकल्पको खोजीमा जुटेका हुन्।