
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न र एउटै घोषणापत्र लगायत विषयमा भएको सहमतिबारे पदाधिकारीहरूलाई ब्रिफिङ गरेका छन्।
काठमाडौंको सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे उनले जानकारी गराएका हुन्। स्रोतका अनुसार बैठकमा अध्यक्षद्वय भट्टराई र महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठ, उपाध्यक्षहरू लगायतका पदाधिकारी र र पूर्व कार्यकारिणी सदस्यहरु उपस्थित थिए।
भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आइतबार बिहान खुमलटारमा भएको अढाई घण्टा लामो वार्तामा एकै चुनाव चिह्न र एकै घोषणापत्रबारे मौखिक सहमति भएको थियो। स्रोतका अनुसार प्रचण्डसँग जुटेको सहमतिलाई भट्टराईले पदाधिकारीहरूबाट अनुमोदन गराएका छन्। उनले केही दिनमै लिखित सहमति हुने जानकारी पनि नेताहरुलाई दिएका छन्।
आइतबार माओवादी अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष डा. भट्टराईबीच अढाई घण्टा छलफल भएको थियो । पाँच दलीय गठबन्धनमा सहभागी हुने बाटो नखुल्दै डा. भट्टराई नेतृत्वको पार्टी माओवादी केन्द्रसँग मिलेको छ।
बाबुरामले पछिल्लो पटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा गोरखाबाट माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट अन्तिम पटक प्रतिस्पर्धा गरेर जितेका थिए।
तर वि.सं. २०७२ असोज ३ गते संविधान जारी भएपछि असोज १० गते माओवादीलाई भत्केको घरको संज्ञा दिँदै छाडेका थिए। त्यसपछि उनले नयाँ शक्ति पार्टी खोले। उनले २०७४ मा भएको प्रतिनिधिसभाको चुनावमा गोरखाबाट नेपाली कांग्रेससँग गठबन्धन गरेर नयाँ शक्तिबाट जितेका थिए।
तर त्यसपछि उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गर्न पुगे। त्यसयता विभिन्न विवादबीच उनी उपेन्द्रसँगै सहयात्रामा थिए। तर पछिल्लो पटक असार अन्तिमदेखि उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी छाडेर उनले नयाँ पार्टी बनाएका छन्।