
काठमाडौं । चुनावी तालमेलका लागि सिट बाँडफाँट कार्यदलका संयोजक कृष्ण प्रसाद सिटौलालाई सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा तोकेको छ ।
आज बसेको कार्यदल बैठकले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक सिटौलालाई दिएको कार्यदलका सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
२०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव उनले तयार गर्नेछन् । गठबन्धनमा रहेका दलहरुबीच आम निर्वाचनमा मिलेर जाने सहमति भएपछि सिट बाँडफाँट गर्न कार्यदल बनेको थियो ।
कार्यदलका सदस्य तथा सरकारका प्रवक्ता कार्कीले बैठकबाट बाहिरिँदै गर्दा भने, ‘हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनसाय बनाएका छौं ।’
सिट बाँडफाँटका लागि २०७४ सालको चुनावको समानुपातिक र गत स्थानीय चुनावको मतको तथ्य तथ्यांकलाई आधार बनाउने सहमति भएको कार्कीले जानकारी दिए ।
कार्यदलको बैठक आगामी बुधवार दिउँसो ४ बजे बस्ने र सोही बैठकमा सिट बाँडफाँटको सहमति गर्ने नेताहरूले बताएका छन् । मन्त्री कार्कीले भने, ‘सिट बाँडफाँट चाँडै गर्नुपर्छ । यो जिम्मेवारी हामी चाँडै टुंगो लगाउँछौं । आगामी बैठकपछि तपाईंहरूलाई केही भनौंला ।’