काठमाडौं । नेपाली काँग्रेसले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि पार्टीको केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य पुर्याएर दल दर्ता गर्ने तयारी गरेको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार १६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा अहिले १४८ जना छन् । जसमा ४३ जना महिला सदस्य छन् । १६८ को ३३ प्रतिशत पुर्याउन थप १२ जना महिला केन्द्रीय सदस्य बनाउनुपर्ने काँग्रेसलाई बाध्यता छ ।

काँग्रेस महामन्त्री शर्माले भने केन्द्रीय कमिटीलाई पूर्णता दिँदा महिलाको उपस्थिति ३३ प्रतिशत भन्दा कम नहुने बताए । उनले भने, ‘केन्द्रीय कमिटीलाई पूर्णता दिँदा महिलाको प्रतिनिधित्व हामी ३३ प्रतिशतभन्दा कम गर्दैनौं बढी नै गर्छौं । यो कुराको प्रतिबद्धता हामीले गरेकै छौं । यो कुरा निर्वाचन आयोगमा लेखेर दिहाल्छौँ ।’

तर यसका लागि सभापति शेरबहादुर देउवाले गृहकार्य गरिरहेको बुझिएको छ । उनी केन्द्रीय सदस्य मनोनित गर्ने तयारीमा छन् । महामन्त्री शर्माले भने ‘भोलि (मंगलबार) दल दर्ता गर्नुअघि बाँकी केन्द्रीय सदस्य मनोनितको सम्भावना छ । त्यो भएन भने पनि दल दर्तामा समस्या पर्दैन ।’

कांग्रेसले निर्वाचन प्रयोजनका लागि मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोग कार्यालयमा गएर दल दर्ता गर्ने जनाएको छ । दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।

पौडेलको साथमा काँग्रेस कार्यालयका सचिव केशव रिजाल पनि निर्वाचन आयोग जाने छन् । सबै जसो दलले निर्वाचन आयोगमा दर्ता गरिसक्दा पनि काँग्रेस दल दर्ताका लागि भोलि निर्वाचन आयोग जान लागेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि पदाधिकारी र नेतृ उमा रेग्मी लगायतले निर्वाचन आयोगमा दल दर्ता गर्न अघि केन्द्रीय सदस्य मनोनित गरे केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्याउन सभापति देउवाको ध्यानाकर्षण गरेका थिए । जवाफमा देउवाले चाडै बाँकी केन्द्रीय सदस्य मनोनित गर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!