
काठमाडौं । आगामी चुनावका लागि सत्ता गठबन्धनमा दुईवटा मुख्य आधारमा रहेर सिट बाँडफाट गर्ने सहमति भएको छ ।
सोमबार बालुवाटारमा बसेको सिट बाँडफाट कार्यदलको बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर मापदण्ड बनाउनेबारे छलफल भएको बताए ।
उनकाअनुसार ०७४ को चुनावमा सहभागी नभएको नेकपा (एकीकृत समाजवादी)को हकमा विशिष्ट प्रकारको मापदण्ड बनाइनेछ ।
कार्कीले सिट बाँडफाँटको टुंगो चाँडै लाग्ने पनि बताए । अरू दलका नेताहरूले पनि विगतका निर्वाचनमा आएको मतलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिइरहेका छन् । कार्यदलको अर्को बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक कांग्रेसका नेता कृष्णप्रसाद सिटौला छन् । कार्यदललाई सिट बाँडफाँटको खाका तयार गरी प्रतिवेदन बुझाउन भनिएको छ ।