भक्तपुर । सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन् । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली एक वर्षअघि सत्ताबाट बाहिरिएर बालुवाटारबाट बालकोट सरेलगत्तै यहाँ बाक्लै चहलपहल हुने गरेको थियो । माहोल बीचमा केही सेलाएर हालै सम्पन्न स्थानीय निर्वाचनताका पनि फेरि तातेको थियो ।

त्यो माहोल निकट विगतमा फेरि केही पातलिएकोमा आगामी मंसिर ४ गतेको निर्वाचन घोषणापछि फेरि चहलपहल र भेटघाट बढ्न थालेको छ । हिजोआज ओली निवास बाहिरसमेत उहाँलाई भेट्न आउनेहरूको निजी र सरकारी गाडीको लाम लाग्ने गरेको देखिन्छ ।

यसै क्रममा सोमबार अध्यक्ष ओलीसँग बालकोटमै आएर जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भेटघाट गर्नुभएको छ । अध्यक्ष ओलीसँगको भेटपछि त्रिपाठीले पत्रकारसँग छलफलका क्रममा विविध विषयमा कुरा भएको बताउनुभयो । ‘भेट निर्वाचन केन्द्रित नै हो तर प्रारम्भिक चरणको कुरा भएको छ अरु कुरा हुँदै जाला’ – उहाँको भनाइ थियो । त्रिपाठीले अघिल्लो निर्वाचनको मोडलमा नभई एमालेसँग चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भएको बताउनुभयो ।

पहिला त्रिपाठी एमालेको सूर्य चिह्न लिएर निर्वाचनमा जानुभएको थियो । उहाँले अहिले आफ्नो पार्टी भएकाले दुई पार्टीबीच के कसरी गठबन्धन गर्न सकिन्छ भन्ने बारेमा सामान्य कुराकानी भएको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको सम्बन्धमा पनि दुई नेताबीच कुरा भएको छ । त्रिपाठी विधेयक पास गराउने पक्षमा हुनुहुन्छ ।

त्रिपाठी गत निर्वाचनमा सूर्य चिह्न लिएर नवलपरासीको क्षेत्र नं ३ बाट निर्वाचन जित्नुभएको थियो । यसअघि नेकपा एमाले अध्यक्ष ओलीसँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भेट गर्नुभएको थियो । ओली निवास बालकोटमै भएको भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको थियो ।

गएको स्थानीय निर्वाचनमा एमाले र परिवार दलबीच चुनावी सहकार्य भएको थियो । परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलका अनुसार भेटमा स्थानीय निर्वाचनको समीक्षा हुनुको साथै अगामी निर्वाचनमा पनि दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको छ । गत शुक्रबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको थियो । भेटवार्तामा राष्ट्रिय राजनीतिका समसामयिक विषय र चुनावी तालमेलबारे छलफल भएको बताइएको छ ।

ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि दोस्रोपटक भेटवार्ता भएको हो । राप्रपा महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष ओलीलाई भेटेर वातावरण बनाएको दुई दिनपछि अध्यक्ष लिङदेनले एमाले अध्यक्ष ओलीलाई भेट्नुभएको हो । २०७४ सालको संसदीय निर्वाचनमा एमाले र राप्रपाले एक–अर्कालाई सघाएका थिए ।

एमाले नेताहरूले देशव्यापीरूपमा कुनै पार्टीसँग गठबन्धन नगर्ने तर स्थानीय आवश्यकताअनुसार तालमेल हुन सक्ने बताइरहेका छन् । सत्ताधारी गठबन्धन बनेको भन्दै साना दलले संसद्मा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीलाई विपक्षीले पनि मिलेर आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर जानुपर्छ भन्ने तर्क गर्दै आएका छन् ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!