काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन दलहरुमा हैसियतअनुसार सिट बाँडफाँट हुने बताएका छन् । मंगलवार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै महामन्त्री थापाले आगामी निर्वाचनमा गठबन्धनका दलहरूबीच हैसियतअनुसार सिट बाँडिने स्पष्ट पारेका हुन् । उनले गठबन्धन दलका नेताहरूलाई २०७९ को निर्वाचनका आधारमा हैसियत सम्झिन पनि आग्रह गरेका छन् ।

उनले गठबन्धनमा रहेका केही दलका नेताहरूले २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाए । उनले नेताहरूलाई गत वैशाख ३० गतेको स्थानीय तहमा नेपाली कांग्रेसले पाएको मतलाई बुझ्न आग्रह गरे । ‘केही अरु दलको साथीहरू हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ । हामी उहाँहरूलाई २०७९ सम्झाउन चाहन्छौँ’, उनले भने, ‘२०७४ लाई सम्झिँदै गर्दा नमिठो लाग्छ । २०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुशी लाग्छ । हाम्रो फूर्ति बढ्छ ।’

महामन्त्री थापाले जनप्रतिनिधिहरूलाई आफ्नो हैसियत नबिर्सिन पनि आग्रह गरेका छन् । जिम्मेवारीमा बस्दा कहिलेकाही धेरै कुराहरू भुल्ने गरेको भन्दै जनताको काम सहज ढंगले गरिदिन आग्रह गरे । ‘जिम्मेवारीमा बस्दा कहिलेकाहीँ हामी महत्वपूर्ण कुरा भुल्छौँ, मैले पनि भुलेको थिएँ । चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने हामी जितेपछि के भन्ने बारेमा हामी अलमल्लमा पर्छौँ’, उनले भने ।

कांग्रेसले सोमवारदेखि सञ्चालन गरेको स्थानीय जनप्रतिनिधिसँगको अभिमुखीकरण, बधाई एवं शुभकामना आदानप्रदान कार्यक्रम मंगलवार समापन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!