
काठमाडौं । नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रसँग ३ सिट मागेका छन्। आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा गौतमले प्रदेशसभामा २ र प्रतिनिधिसभामा १ सिट मागेका हुन्।
माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डले वामदेव गौतमले राखेको प्रस्तावबारे ब्रिफिङ गरेका थिए। ‘वामदेवजी पनि हँसिया हथौडामै चुनाव लड्न तयार हुनुहुन्छ,’ प्रचण्डले बैठकमा राखेको भनाई उदृत गर्दै ती नेताले भने, ‘तर, संघमा १ र प्रदेशमा २ सिट माग्नुभएको छ।’
वामदेवलाई चुनाव चिन्ह दिन माओवादी तयार रहेको ती नेताले बताए। तर, सिट कसरी र कति बाँडफाँट गर्ने भन्ने विषयमा निर्णय भने भइसकेको छैन्। माओवादी आफैंले केन्द्र र प्रदेशमा कति सिट पाउँछ भन्ने यकिन नभएकोले गौतमलाई पनि सिट संख्याबारे प्रष्ट भनिएको छैन्।
गौतम नेपालका कम्युनिस्ट दलहरु एकीकृत गर्ने अभियानमा लागेका थिए।