
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो नबनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेको भनेर कटाक्ष गरेका छन् । उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटोको एकदमै नाजुक अवस्थामा रहेको छ । जसले गर्दा उपत्यकाको फोहोर बञ्चरेडाँडा लैजान निकै कठिन भैरहेको छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले भनेका छन्, ‘श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’
पछिल्लो समय सत्ताधारी गठबन्धनका ३ दलहरुका धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर-१ का प्रमुखहरुले बञ्चरेडाँडामा फोहर विसर्जन स्थायी रुपमा बन्द गर्न माग गर्दै विज्ञप्ति नै जारी गरेपछि बालेनले त्यसको विरोध गर्दै आएका छन्। मंगलबार पनि काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ ।
तनाव सिर्जना भएपछि नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले गुलेलीलगायतका साधनले हान्ने र अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।
प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउन्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो । स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको मैनालीले बताए। स्थानीयबासीले विभिन्न माग राखी फोहोर फाल्नलाई अवरोध गर्दै आएका छन् ।