
काठमाडौं । नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य पार्वता डिसी चौधरीले कांग्रेससँगको साइनो तोड्ने बताएकी छन्। मंगलबार सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा नपरेपछि डिसीले पार्टी परित्याग गर्ने चेतावनी दिएकी हुन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा देउवालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘आज केन्द्रीय सदस्यमा १० जना महिला मनोनित हुँदा पार्वता डिसी चौधरी अट्न सकिन अटिन। त्यसको लागि धन्यबाद छ। छिट्टै कांग्रेससँगको साइनो तोड्दै छु।’
उनले सांसदको पदावधि सकिएपछि पार्टीमा राजीनामा बुझाउने बताइन्। पार्टीले अन्याय गरेको र सोझा सिधाको काम नभएको गुनासो पनि गरिन्।
‘जनताले म्यान्डेट दिएको अवधि सकिएपछि पार्टी सभापतिलाई साधारण सदस्यसमेत नरहने गरि राजीनामा बुझाउँछु। अब पार्टीमा हामी जस्ता सोझा साझाको काम छैन’ उनले भनिन्, ‘अन्याय गरेपछि किन बस्नु पार्टीमा ? अब उमेर पनि भैसक्यो। नयाँ जोस जाँगर भएका साथीहरु हुनुहुन्छ उहाँहरुले गर्नुहुन्छ नि।’
१२ औँ र १३ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा विजयी डिसी १४ औं महाधिवेशनमा पराजित भएकी थिइन्। हाल समानुपातिक सांसद रहेकी उनी २०७० मा प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्यसमेत हुन्।