काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व बढाउन महिला नेत्रीहरूले कसरत गरिरहेका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा कम्तिमा एक दर्जन महिला नेत्रीहरू प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्नका लागि प्रयास गरिरहेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसको पक्षमा लहर देखिएपछि महिलाहरूले प्रत्यक्षमा लड्ने हिम्मत जुटाएका हुन् ।

गठबन्धनमा सीट बाँडफाँड गर्दा १०० सीट प्राप्त गरेमा प्रत्यक्षतर्फ कम्तिमा १० प्रतिशत सीटमा महिलालाई उठाउन सकिने कांग्रेस नेताहरू बताउँछन् ।गठबन्धन गर्दा कांग्रेसले ८० को हाराहारीमा सीट पाउने सम्भावना छ । नेपाली कांग्रेसको पदाधिकारीमा एक मात्र महिला रहेकी महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानुरबाट चुनाव लड्ने मूडमा छिन् । २०७४ सालको चुनावमा डीना तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । त्यो बेला खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याउँदा डीनाले ३२ हजार ६ सय ५८ मत पाएकी थिइन् ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुर २ मा एमालेको मत धेरै छ । तर, गठबन्धनको भोट जोड्दा एमालेको भन्दा धेरै मत हुन आउँछ । यो क्षेत्रमा एमालेले ३६ हजार ८ सय ६६ मत पाउँदा कांग्रेसले ३४ हजार २ सय ४० र माओवादी केन्द्रले २२ हजार ६ सय ७ मत प्राप्त गरेका छन् । वाम तालमेल हुँदा मकवानपुर २ मा एसका नेता खतिवडाले दाबी गरिरहेका छन् । मकवानपुर १ मा कांग्रेस प्रदेश सभापति इन्द्र बानियाँले उठ्ने तयारी गरेका छन् ।

यो अवस्थामा डीना समानुपातिकमा बस्नुपर्ने अवस्था आउन सक्छ । पदाधिकारी भएकाले समानुपातिकको अग्रपंक्तिमा रहँदा उनका लागि सीट सुरक्षित हुन्छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवापत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा. आरजू देउवा यसपटक पनि प्रत्यक्ष चुनाव लड्न कोशिश गरिरहेकी छिन् । माइती जिल्ला बर्दियादेखि, कैलाली र कञ्चनपुरसम्मबाट आरजूलाई चुनाव लड्नका लागि प्रस्ताव आएको छ । २०७४ सालमा कैलाली– ५ बाट चुनाव लडेकी आरजू यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने गृहकार्य गरिरहेकी छिन् । चुनावपछिको पाँच वर्षमा कुनै कालखण्डमा प्रधानमन्त्री बन्ने भनेर ‘प्रोजेक्सन’ गरिएकी आरजूले मिति घोषणा हुनुअगावै देखि चुनावको तयारी गरेकी थिइन् । २०७४ सालमा एमालेका नारदमुनि रानासँग आरजू पराजित भएकी थिइन् ।

आरजूले ताकेको कैलाली ५ मा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको नतिजामा कांग्रेस एक्लै राम्रो पोजिसनमा छ । माओवादीको पनि राम्रो भोट छ ।कांग्रेसले २२ हजार ७ सय ७९ मत ल्याउँदा एमालेले १७ हजार ४ सय २० मत पाएको थियो । माओवादीले ८ हजार १ सय मत पाउँदा नेकपा एसले २ हजार मत पाएको छ । गठबन्धनका सबै दलको भोट जोड्दा यो क्षेत्रमा झण्डै दोब्बर मतको फरक छ ।

प्रतिनिधिसभाको कार्यकाल सकिने बेलामा उपसभामुख निर्वाचित पुष्पा भुसाल पनि टिकट पाएमा प्रत्यक्षतर्फ नै चुनाव लड्ने मूडमा छिन् । २०७४ सालमा समानुपातिबाट सांसद बनेकी भुसाल फेरि समानुपातिकमा बस्नुभन्दा चुनाव लड्ने मूडमा रहेकी हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा उनी अर्घाखाँचीमा पराजित भएकी थिइन् । टिकट पाएमा उनले एमालेका सचिव टोपबहादुर रायमाझीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले अर्घाखाँचीमा कांग्रेसभन्दा झण्डै ११ हजार बढी मत पाएको छ । एमालेले ४८ हजार २ सय ६० मत पाउँदा कांग्रेसले ३७ हजार ९ सय २५ मत पाएको थियो । गठबन्धनका अन्य दल माओवादी केन्द्र, जनमोर्चा र नेकपा एस समेतको मत जोड्दा ५३ हजार ७ सय जति पुग्छ । अर्घाखाँची कांग्रेसको भागमा पर्यो भने कांग्रेसभित्रै भुसालले अन्य नेताहरूसँग टिकटका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।

कांग्रेसको गत मंसिरमा सम्पन्न महाधिवेशनमा डिला संग्रौलाले महिलातर्फ सर्वाधिक मत प्राप्त गरेकी थिइन् । प्रतिनिधिसभा सदस्य रहेकी संग्रौला विराटनगर महानगरपालिकाको मेयर उठ्न चाहेकी थिइन् । टिकट पाएमा उनी मोरङबाट चुनाव लड्ने मूडमा छिन् । ‘समानुपातिक निर्वाचन प्रणाली भनेकै महिलाका लागि र प्रत्यक्ष पुरुषहरूको लागि हो भन्ने गलत मान्यता स्थापित गर्न खोजिँदैछ,’ संग्रौलाले भनिन्, ‘म प्रत्यक्षमै चुनाव लड्ने हो, अहिले पनि फिल्डमा खटिएकी छु ।’ मोरङ २ या ६ बाट चुनाव लड्ने योजना रहेको उनले बताइन् ।

यता नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतक समेत रहेकी चित्रलेखा यादव २०५६ सालमा सिरहा– २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सो कार्यकालमा उनी उपसभामुख बनेकी थिइन् । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । समानुपातिक सूचीको मापदण्ड बनाउँदा लगातार दुईपटक समानुपातिकमा बसेकोलाई नराख्ने निर्णय पार्टीले गर्‍यो भने उनी प्रत्यक्षमा जानुपर्ने हुन सक्छ । तर कांग्रेसले त्यस्तो निर्णय गर्ने सम्भावना कम छ ।

कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने संकेत गरेकी छिन् । पटक–पटक समानुपातिक सांसद बनेकी सुजाताले मोरङ २ बाट चुनाव लड्ने आकांक्षा देखाएको कांग्रेस स्रोत बताउँछ । यो क्षेत्रबाट विगतमा मीनेन्द्र रिजालले चुनाव जितेका थिए । यसपटक पनि रिजालले यही क्षेत्रबाट चुनाव लड्ने बताएका छन् । २०७४ सालमा रिजालले ३५ हजार ८ सय १९ मत पाउँदा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत पाएका थिए ।

२०७४ सालको चुनावमा तेह्रथुमबाट पराजित सीता गुरुङ यसपटक पनि चुनाव लड्ने मूडमा छिन् । अघिल्लोपटक उनी वाम गठबन्धनका एमाले उम्मेदवार भवानी खापुङसँग पराजित भएकी थिइन् । खापुङले २१ हजार ३ सय ३५ मत पाउँदा सीताले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी थिइन् । चुनाव हारेपछि सीता जिल्लामै बसेर राजनीति गरिरहेकी छिन् । अहिले पनि कांग्रेसका तर्फबाट उनी प्रमुख दाबेदार हुन् ।स्थानीय तह निर्वाचनमा तेह्रथुममा एमालेले २२ हजार ३ सय १२, नेपाली कांग्रेसले २१ हजार ९ सय ११ र माओवादीले ६ सय ८६ मत प्राप्त गरेको थियो । मन्त्री खापुङको पार्टी एसले मात्र ५ सय ४६ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!