
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व बढाउन महिला नेत्रीहरूले कसरत गरिरहेका छन् । अघिल्लोपटकको निर्वाचनमा ६ जना महिला प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा आएका थिए । अन्य पार्टीको तुलनामा नेकपा एमालेमा प्रत्यक्ष चुनाव लड्न चाहने महिलाको संख्या धेरै छ । गठबन्धनमा सीट बाँडफाँडमा झमेला हुने भएपनि एमालेले राप्रपा, राप्रपा नेपाल लगायत साना दललाई केही सीट छाड्दा पनि प्रतिनिधि सभाका १६५ मध्ये १५० हाराहारीका सीटमा उम्मेदवारी दिन पाउने छ । यसो हुँदा एमालेका धेरै महिला प्रत्यक्षमा आउन पाउने छन् ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्न भन्दै २०७४ सालमा प्रदेशको चुनाव लडेपनि यसपटक भने प्रतिनिधिसभामा चुनाव लड्ने सम्भावना छ । पार्टीभित्रको शक्ति सन्तुलनका कारण शाक्य छोटो समय बागमती प्रदेशको मुख्यमन्त्री बन्न सफल भइन् । २०५६ सालमा काठमाडौं– ६ बाट प्रत्यक्ष चुनाव लडेकी शाक्यले काठमाडौं– ८ बाट उम्मेदवारी दिने सम्भावना छ । काठमाडौं ८ मा यसअघि एमालेबाट जीवनराम श्रेष्ठ लड्दा शाक्य प्रदेशबाट चुनाव लडेकी थिइन् । श्रेष्ठले १३ हजार ३ सय ७ मत पाउँदा कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत पाएका थिए । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले १० हजार ८ सय ७२, एमालेले ९ हजार २ सय ५३ र नेकपा एसले ५ हजार १ सय ४२ मत प्राप्त गरेका छन् ।
पहिलो संविधानसभामा समानुपातिक सांसद बनेर आएकी पद्मा अर्याल २०७४ सालको चुनावमा स्याङ्जा– २ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर एमालेको राजनीतिमा उदाएकी थिइन् । ०७४ सालमा ‘हेभी वेट’ उम्मेदवारलाई पराजित गरेपछि सरकारमा सहभागी भइन् । अर्यालले ३५ हजार १ सय ४२ मत ल्याउँदा गोपालमानले ३१ हजार ४ सय ३६ मत पाएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले ३६ हजार ८ सय ६, नेकपा एमालेले ३४ हजार ८ सय ९ र माओवादीले १ हजार २ सय ४३ मत प्राप्त गरेका छन् । स्वास्थ्य राज्यमन्त्रीबाट सरकारमा डेब्यु गरेकी अर्यालले भूमि व्यवस्था र कृषि मन्त्रालयको नेतृत्व गरिन् । महाधिवेशनबाट एमाले सचिव बनेकी अर्याल फेरि पनि सोही क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन् ।
यस्तै २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ झापा– २ बाट निर्वाचित खरेल यसपटक पनि आकांक्षी हुन् । टिकट वितरण गर्दा यसअघि चुनाव जितेको मापदण्ड राखेमा उनले स्वतः टिकट पाउने छिन् । तर सो क्षेत्रबाट अग्नि खरेल चुनाव लड्न खोजिरहेका छन् । केपी ओली सरकार कायम रहेकै बेला महान्यायाधिवक्ताबाट राजीनामा गरेर खरेल चुनावको तयारीमा लागेका थिए । अग्निले टिकट पाए भने पवित्रा समानुपातिकमा बस्नुपर्नेछ । गठबन्धनसँग भिड्न झापामा एमालेलाई राप्रपाको साथ अनिवार्य छ । सबै निर्वाचन क्षेत्रमा निर्णायक मत लिएर बसेको राप्रपाले झापामा यसपटक २ सीटमा दाबी गर्ने अडान लिएको छ । झापा ३ का अतिरिक्त राप्रपाले अर्को कुनै सीटमा दाबी गर्ने सम्भावना छ ।
२०७६ सालमा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा निर्वाचित भएकी विद्या भट्टराई यसपटक पनि कास्की– २ बाट चुनाव लड्न खोज्दैछिन् । प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा भएको उपसभामुखको निर्वाचनमा विद्यालाई एमालेले उम्मेदवार बनाएको थियो । स्व. रवीन्द्र अधिकारीको सेन्टिमेन्टका कारण पनि कास्कीमा विद्यालाई उठाउँदा नै चुनाव जितिने एमालेको विश्लेषण छ । २०७४ सालमा कास्की– २ बाट रवीन्द्रले चुनाव जितेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रहेको समयमा हेलिकोप्टर दुर्घटनामा रवीन्द्रको निधन भएपछिको उपनिर्वाचनमा विद्या विजयी भएकी थिइन् । स्थानीय तह निर्वाचनमा कास्की २ मा एमालेको पोजिसन राम्रो छ । यो क्षेत्रमा एमालेले २१ हजार १६४ मत पाउँदा कांग्रेसले १९ हजार ८ मत पाएको छ । राप्रपाले २ हजार ७९ मत पाउँदा नेकपा एसले २ हजार ५३ र माओवादीले १ हजार १९८ मत पाएका छन् ।
पछिल्ला दुई निर्वाचनमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई कडा टक्कर दिएकी भगवती चौधरीले फेरि पनि सुनसरी ३ बाट टिकट पाउने सम्भावना छ । २०७४ सालको चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् । यसपटकको स्थानीय तह निर्वाचनमा एमालेले ३५ हजार भोट पाउँदा कांग्रेसले ३३ हजार ल्याएको छ । जसपाले ५ हजार ५ सय र माओवादीले ३ हजार ८ सय मत पाएको छ ।
यता कोदोको घरेलु रक्सीलाई ब्रान्डिङ गरेर विदेशी रक्सी आयातमा रोक लगाउनुपर्ने अभियान शुरू गरेर चर्चामा रहेकी एमाले नेत्री उषाकला राई अहिले १ नम्बर प्रदेश सभाको सदस्य छिन् । पहिलो संविधानसभामा महिला सभासद समूहकी अध्यक्ष समेत रहेकी राई यसअघि प्रदेश १ सरकारमा सामाजिक विकास मन्त्री थिइन् । एमाले संसदीय दलको मुख्य सचेतक रहेका विशाल भट्टराई र उषाकलाको निर्वाचन क्षेत्र खोटाङ हो । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा चुनावमा भट्टराई प्रत्यक्ष निर्वाचित भएका थिए ।
भट्टराईलाई प्रदेश कमिटीको अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्री बनाउन भन्दै एमालेको महाधिवेशनमा शुरूमा केन्द्रीय समितिमा राखिएको थिएन । टिकट वितरण गर्ने मापदण्डमा यसअघि चुनाव जितेकाले प्राथमिकता पाए भने विशालले नै टिकट पाउने छन् । जित्ने सम्भावना भएको क्षेत्रमा महिला उम्मेदवार उठाउनुपर्ने भएकाले प्रत्यक्ष चुनाव लड्ने लिस्टमा उनी पर्ने एमालेका नेताहरू बताउँछन् ।
चुनावमा ३३ प्रतिशत महिलालाई टिकट दिनुपर्छ भनेर प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गराएकी बिन्दा पाण्डे यसपटक प्रत्यक्ष चुनाव लड्न खोज्दैछिन् । संविधानसभा र २०७४ सालमा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी पाण्डे यसपटक चुनाव उठ्ने तरखरमा लागेकी हुन् । उनी काठमाडौंकै कुनै क्षेत्र या नुवाकोटबाट चुनाव लड्ने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् । एमालेनिकट जिफन्टमा लामो समय काम गरेकी पाण्डे संसदीय गतिविधि र नीति निर्माणमा सक्रिय सांसद हुन् ।
नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी पनि टिकट पाएमा दाङबाट चुनाव लड्ने मूडमा छिन् । उनको निर्वाचन क्षेत्र र महासचिव शंकर पोखरेलकै भएका कारण उनी कहाँबाट चुनाव लड्ने भन्ने टुंगो छैन । पार्टी महासचिव पोखरेलको चुनाव परिचालनमा खट्नुपर्ने भएकाले उनी समानुपातिकमा दोहोरिने सम्भावना पनि छ । विगतमा कमलरी पृष्ठभूमिबाट राजनीति शुरू गरेकी शान्ताले राजनीतिमा आएपछि आफूलाई सशक्त बनाउँदै लगेकी छिन् । उनी अहिले एमालेको पोलिटब्यूरो सदस्य छिन्।