काठमाडौं । नेकपा एमाले विभाजन गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकै बेला एमालेका दोस्रो तथा तेस्रो पुस्ताका १० नेता खुबै चर्चामा थिए। नेता नेपालको साथमा रहे पनि नेकपा एकीकृत समाजवादी पार्टी गठनका बेला केपी ओलीले १० बुँदे सहमति गरेर एमालेमै फर्किएका दोस्रो तथा तेस्रो पुस्ताका १० नेता यतिबेला पाखा परेका छन्।

पार्टी विभाजनको अन्तिम अवस्थामा नेता नेपालको साथ छाडेर ओलीलाई साथ दिने १० भाइमा भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए। यी १० भाइ एमालेमा सधैं नेता नेपालको पक्षमै रहे। तर एमाले विभाजनका बेला नेता नेपाललाई साथ नदिएर एमालेमै बसे। यी १० भाइ एमालेमा बसे पनि अध्यक्ष ओली भने अझै दाहिना भएका छैनन्।

एमालेमा १० भाइको नेतृत्व गर्ने भीम रावल, घनश्याम भुसाल र भीम आचार्यले भने सहजै टिकट पाउने सम्भावना नरहेको एमाले नेताहरूले बताएका छन्। रावल अछाम क्षेत्र नम्बर १ बाट अहिले प्रतिनिधिसभा सदस्य हुन्। उनी यो पटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। तर उनको उम्मेदवार बन्ने दाबीलाई कृष्णप्रसाद जैसीले चुनौती दिइरहेका छन्। उनी जिल्लामा माधव नेपालहरूले एमाले विभाजन नगर्दा नै ओली निकट मानिन्थे। अछामको पूर्वजिविस सभापति रहेका जैसी २०७० देखि नै प्रतिनिधिसभा सदस्यको दाबेदार थिए। रावलले यो पटक टिकट हात पारेपछि पनि जित हात पार्न धौ–धौ पर्ने देखिन्छ। अछामका एक जिल्ला नेताका अनुसार त्यहाँ भीमको राजनीति जोगाइदिएका शेरबहादुर कुँवर अहिले रावलसँग छैनन्। उनी रावलसँगै प्रतिनिधिसभा सदस्य भिड्ने तयारीमा छन्। ती नेताले भने, ‘एमाले विभाजनको कहीँ असर परेको छ भने त्यो अछाममै हो।

रावल संसद् विघटनदेखि नै ओलीविरुद्धमा लागे अनि उनका कार्यकर्ता जति सबै नेता नेपालतिर लागे। रावल अहिले एक्लै भएका छन्।’ कांग्रेसका भागमा यो क्षेत्र परे गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर र मेघराज खडकामध्ये एक जना उम्मेदवार बन्ने देखिन्छ। स्थानीय तह निर्वाचनको मत परिणामसमेत गठबन्धनको पक्षमा बढी देखिएको छ। अछाम क्षेत्र नम्बर १ मा कांग्रेसको १६,७२८, एमालेको १६,५६७, माओवादीको ६,७९० र नेकपा एसको २,७५२ मत छ। गठबन्धनमा रहेका दलहरूको मत एमालेभन्दा झन्डै १० हजार बढी देखिन्छ।

त्यस्तै, भुसाललाई पनि टिकट फुत्काउन र जित हात पार्न दुवै समस्या रहेको रूपन्देहीका एमाले नेताहरूले बताउने गरेका छन्। भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ बाट कांग्रेस नेता एंव गृहमन्त्री बालकृष्ण खाण चुनावी प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा स्थानीय तह चुनावमा वडा अध्यक्षले पाएको मतका आधारमा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ। कांग्रेसको ३४,१५३, एमालेको २९,०४८, राप्रपाको १३,३९७, जसपाको ६,१८३, माओवादीको २,८८१, लोसपाको २,१७४ र नेकपा एसको ९७७ मत छ। यो क्षेत्रमा एमाले र राप्रपाबीच तालमेल भए गठबन्धनलाई टक्कर दिने अवस्था छ।

तर अघिल्लो पटक यो क्षेत्र राप्रपालाई कांग्रेसले सहयोग गरेको थियो। अघिल्लो पटक कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेकाले आफूले पाउनुपर्ने राप्रपाको दाबी हुन्छ। त्यसो भए घनश्याम आफैं उम्मेदवार बन्नबाट रोकिनेछन्। रूपन्देही एमालेका एक नेताका अनुसार यसपालि भुसाललाई रोक्न पार्टीभित्रैबाट प्रयास भइरहेको छ। एमालेका ती नेताले रूपन्देही क्षेत्र नम्बर ३ बाट एमालेको महिला उम्मेदवार हुने बताए। एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्य पुष्पाञ्जली उपाध्यायलाई अगाडि सार्ने अनुमान छ। उनी ओली र विष्णु पौडेल नजिक मानिन्छन्।

एमाले नेता भीम आचार्य अहिले सुनसरी-१ बाट प्रदेशसभा सदस्य छन्। छोटो समय प्रदेश १ को मुख्यमन्त्री भएका आचार्यलाई मुख्यमन्त्रीमा गठनबन्धनका तर्फबाट नेकपा एसका नेता राजेन्द्र राईले विस्थापित गरेका हुन्। आचार्यलाई पनि टिकट पाउन र जित हात पार्न उत्तिकै समस्या छ। आचार्यको विकल्पमा वर्तमान सांसद जयकुमार राई र वर्तमान प्रदेशसभा सदस्य प्रदीप भण्डारी संघ र प्रदेशसभा सदस्य प्रकाश राईलाई सो क्षेत्रमा उम्मेदवार बनाउने एमालेको तयारी छ। सुनसरी-१ एमालेको बाहुल्य रहेको र धरानलगायतका स्थानमा जनजाति मतदाताको संख्या उल्लेख्य भएकाले एमालेका प्रकाश राईले टिकटका लागि लबिइङ थालेका छन्। यो क्षेत्रमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका अशोक राई उम्मेदवार बन्ने सम्भावना बढी छ। अघिल्लो संसदीय निर्वाचनमा पनि कांग्रेसले उनैलाई सघाएको थियो। तर एमालेका जयकुमार राई विजयी भएकउा थिए। उक्त क्षेत्रमा कांग्रेसबाट कांग्रेस संघीय संसदीय दलका सचेतक मीन विश्वकर्माले दाबी गर्दै आएका छन्। गत निर्वाचनमा कांग्रेसले राईलाई सघाउने भएपछि विश्वकर्मा समानुपातिकबाट सांसद बनेर सचेतक बनेका छन्।

पहिलो कम्युनिस्ट प्रधानमन्त्री स्व मनमोहन अधिकारीले पनि यही स्थानबाट चुनाव जितेका थिए। २०४६ पछि यो क्षेत्रमा हालसम्म गैरकम्युनिस्ट उम्मेदवार प्रतिनिधि सभा सदस्यमा विजयी भएका छैनन्। वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा एमालेको ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको ७ हजार १८ र राप्रपाको ४ हजार ७४ मत देखिन्छ। राप्रपा र एमालेबीच तालमेल भए यो क्षेत्रमा सत्तारुढ गठबन्धनलाई जित निकाल्न सहज देखिँदैन। त्यस्तै, १० भाइमध्येका अध्यक्ष ओलीको चेपुवाका पर्ने नेता सुरेन्द्र पाण्डे पनि हुन्। उनी चितवन क्षेत्र नम्बर १ बाट २०७४ को चुनावमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तर यो पटक सुरेन्द्रलाई चुनौती दिँदै एमाले चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलिया मैदानमा आएका छन्। थपलिया ओली निकट मानिन्छन्। चितवन क्षेत्र नम्बर १ बाट २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर पाण्डेले ५० हजार ८९६ मतका साथ विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ३६,४५४ मत प्राप्त गरेका थिए। गत स्थानीय तह चुनावमा पनि यो क्षेत्रमा एमालेको मत नै अगाडि देखिन्छ। स्थानीय तह चुनावमा एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र नेकपा एसको ४ हजार ५ मत छ। यो क्षेत्रमा पाँचदलीय गठबन्धन भएको अवस्था र एमाले–राप्रपाबीच पनि चुनावी तालमेल भएको अवस्थामा गठबन्धनको मत थोरै मात्र अगाडि देखिन्छ। तर टिकट वितरणमै झमेलामा पर्ने अवस्थामा रहेका पाण्डेलाई चुनौती दिन कांग्रेसका तर्फबाट योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले वा अघिल्लो पटक पाण्डेसँग प्रतिस्पर्धामा रहेका बुर्लाकोटी उम्मेदवार बन्ने सम्भावना रहेको कांग्रेस नेताहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!