काठमाडौं । ४ मंसिर मा हुने निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस देखिएको छ । गठबन्धनमा ११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटको गृहकार्य भएपनि ठोस सहमति हुन सकेको छैन । साउन २३ गतेदेखि कार्यदलमा छलफल सुरु भएपनि सिट बाँडफाँटको गाठो फुक्न सकेको छैन । चार पटक बसेको कार्यदलको बैठकमा अमूर्त कुरा मात्र भएका छ । ०७४ र ०७९ को निर्वाचन परिणाम अनुसार दुई प्रस्तावमाथि कार्यदलको बैठक चार दिन रुमलियो ।

काँग्रेसले ०७९ को स्थानीय निर्वाचन परिणामलाई आधार बनाउनुपर्ने अडान लिएको छ । त्यसले कुनै निकास नदिएपछि बुधबारको बैठकमा संयोजक कृष्णप्रसाद सिटौलाले गठबन्धनका शीर्ष नेतासँग वान टू वान वार्ता गर्ने गरी बैठक टुंगिएको हो । सिटौलाले बिहीबार र शुक्रबार सिटौलाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गर्ने भएका छन् ।

कार्यदलका एक सदस्यले भने, ‘कार्यदलको बैठकमा मूर्त कुरा नै भएन । अब संयोजकजीले शीर्ष नेताहरुसँग संवाद गर्नुहुन्छ । चार पटक भएको बैठकको ब्रिफिङ पनि गर्नुहुन्छ ।’ स्रोतका अनुसार सिटौलाले प्रचण्ड, नेपाल र यादवसँग चुनाव लड्न चाहेको निर्वाचन क्षेत्रबारे सोध्ने छन् । ‘सिटौलाजीले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवजीसँग भेटेपछि तपाईहरुले खास लड्न खोजेको कति हो भनेर सोध्नुहुन्छ । उहाँहरुको खास कुरा आएपछि सिटौलाजीले आफ्नो पार्टीमा पनि छलफल गर्नुहुन्छ,’ स्रोतले भन्यो ।

प्रचण्ड, नेपाल र यादवसँगको छलफलपछि सिटौलाले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने छन् । सोमबारको बैठकमै संयोजक सिटौलाले शीर्ष नेताहरुसँग संवाद गर्ने भनिएको थियो । तर योबीचमा शीर्ष नेतासँग सिटौलाको संवाद हुन सकेन । त्यसैले बुधबारको कार्यदल बैठकमा ठोस छलफल पनि भएन । अब शीर्ष नेतासँगको छलफलपछि काँग्रेसका शीर्ष नेतासँग एक पटक छलफल गरेर शनिबार कार्यदलको बैठकमा ठोस प्रस्तावमाथि छलफल हुने ती सदस्यको भनाइ छ ।

पहिलो बैठकमा काँग्रेस महामन्त्री गगन थापाले सय सिट काँग्रेसको बटमलाइन भएको सुनाएका थिए । स्रोतले उद्धत गर्दै भन्यो, ‘पहिलो बैठकमा गगन थापाजीले काँग्रेस सय सिटभन्दा तल मान्दैन भन्नुभयो थियो ।’ जवाफमा माओवादी केन्द्रका नेता देव गुरुङले संख्यामा नगएर ०७४ को चुनावी परिणामलाई पहिलो आधार बनाएर जानुपर्ने बताएका थिए । उनले ०७४ मा माओवादीले जितेको ३६ सिट सुरक्षित हुनपर्ने आशय व्यक्त गरेका थिए ।

‘जसले जहाँ जितेका थिए, त्यसलाई सुरक्षित गर्नुपर्छ । बाँकी रहेको सिट भागबण्डा गर्ने उहाँको प्रस्ताव थियो,’ स्रोतले भन्यो । तर नेकपा एकीकृत समाजवादीका महासचिव डा वेदुराम भुसालले ०७४–०७९ दुवै प्रस्ताव उपयुक्त नहुने बताए । उनले भने, ‘०७४ मा हाम्रो पार्टी नै थिएन । ०७९ मा हामीले गठबन्धनका कारण सीमित ठाउँमा मात्र चुनाव लड्यौँ ।’ राजनीतिक निर्णयका आधारमा सिट बाँडफाँटको निर्णय हुनुपर्ने भुसालको प्रस्ताव छ । जसपा र राष्ट्रिय जनमोर्चाका कार्यदल सदस्यहरुले पार्टीगत प्रस्ताव राखेका छैनन् । उनीहरु माओवादी केन्द्रका प्रस्तावसँग केही सहमत रहेको देखिन्छ । उक्त तीन प्रस्तावको प्रस्ताव वरिपरी चार पटक छलफल भए पनि अमूर्त रहेको छ ।

स्रोतका अनुसार माओवादी लगायतका दल ०७४ मा आफूले जितेको सिट सुरक्षित राख्ने गरी बहस अगाडि बढाइरहेका छन् । उक्त कुरा काँग्रेसले अस्वीकार गर्दै आएको छ । कार्यदलका एक सदस्यले भने, ‘ आ- आफूले जितेको सिट सुरक्षित गर्दा ७७ सिट मात्र बाँकी रहन्छ । त्यसमा काँग्रेसले ६० सिट नै पाउँदा पनि ८३ सिट मात्र हुन्छ ।’ काँग्रेस ८२ सिट चार दललाई दिएर जान तयार नहुँदा बैठकमा गाँठो नफुकेको एक नेताले बताए ।

कार्यदलमा सहभागी एक नेताका अनुसार काँग्रेसले ०७४ मा ६० सिटसम्म जितेको अवस्थामा माओवादीको प्रस्ताव बन्न तयार हुने अवस्था थियो । एमालेले जितेको ३० सिट मात्र पाउँदा पनि ९० हुन आउँथ्यो । तर अहिले एमाले जितेको ७९ प्रतिशत सिट काँग्रेसले पाउँदा पनि ९० नपुग्ने अवस्था छ । अन्य दलको तर्फबाट हेर्दा सबै काँग्रेसले लिएजस्तो देखिन्छ । तर काँग्रेसले ९० सिटमा पनि चुनाव लड्न पाउने अवस्था हुँदैन । सय सिटको दाबी गरको काँग्रेसले न्यूनतम ९० सिटसम्म लचक सक्ने संकेत देखाए पनि कार्यदलमा कुरा मिल्न सकेको छैन ।

चुनावी तालमेलका लागि लोकतान्त्रिक समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा सामेल गराउने विषयको च्याप्टर क्लोज भएको भएको छ । कार्यदलका एक सदस्यका अनुसार आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच मात्र चुनावी तालमेल हुने गरी छलफल अगाडि बढेको छ । तर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा ‘राष्ट्रिय एकता अभियान’ले भने गठबन्धनबाट चुनाव लड्ने छन् । उनीहरुले माओवादी केन्द्रको चुनाव चिन्ह लिएपछि गठबन्धनमा सामेल गराउनुपर्ने बाध्यात्मक अवस्था बनेको कार्यदलका एक सदस्यले बताए । बाबुराम र वामदेवले माओवादीको चुनाव चिन्ह लिनेगरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गराइसकेको अवस्था छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!