काठमाडौं । देशकै सबैभन्दा बढी १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपा एमाले यसपटक पाँच दलिय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दैछ । तेस्रो शक्तिका रुपमा रहेको एमालेले एक्लै गठबन्धनको सामना गर्ने रणनीति बनाइरहेको छ । पाँच वर्षअघि काठमाडौंका २, ३, ५, ७, ८ र ९ गरी ६ वटा क्षेत्रमा जीत निकालेको एमालेलाई यसपटक यो विरासत जोगाउन चुनौती छ । निर्वाचित ६ जनामध्ये माधवकुमार नेपाल र जीवनराम श्रेष्ठ नेकपा एस गठन गरेर बाहिरिएका छन् भने ७ नम्बरबाट निर्वाचित रामवीर मानन्धर पनि स्थानीय तह निर्वाचनदेखि एमालेको सम्पर्कमा छैनन् ।

स्थानीय तह निर्वाचनको परिणाम पनि काठमाडौंमा एमालेले सोचेजस्तो नआएका कारण काठमाडौंको विरासत जोगाउन एमालेलाई मुस्किल देखिएको छ । स्थानीय तहमा वडा तहको मतका आधारमा काठमाडौंका क्षेत्र नम्बर २, ४ र ५ मा मात्र एमालेको अग्रता छ । काठमाडौं जिल्लाभर वडाहरुमा दलले पाएको मतका आधारमा कांग्रेस पहिलो देखिन्छ । एमाले काठमाडौंमा यसपटक कतिपय क्षेत्रमा उम्मेदवार बन्ने खालका लोकप्रिय व्यक्तिसमेत खोजिरहेको छ । विशेषगरी क्षेत्र नम्बर ६ र ७ मा एमालेले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने खालका हेभीवेट नेता भेटेको छैन ।

काठमाडौंका १० वटामध्ये क्षेत्र नम्बर १ मा चारजना नेता प्रतिनिधिसभाका लागि प्रमुख दावेदार देखिएका छन् । केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, शर्मिला कार्की, काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर विदुर मैनाली र प्रदेशसभा सदस्य गणेश दुलाल प्रतिनिधिसभा सदस्यका दावेदार हुन् । यो क्षेत्रमा एमाले वडाको मतका आधारमा दोस्रो स्थानमा छ । कतिपयले यही क्षेत्रमा बस्ने नेता प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने कुरा गरे पनि ज्ञवाली आफ्नै निर्वाचन क्षेत्र गुल्मी २ मै व्यस्त छन् ।

मदन भण्डारीको लिगेसी जोडिएको क्षेत्र हो काठमाडौं २ । २०४८ सालमा मदनले जितेको यो क्षेत्रमा विद्या भण्डारीले पनि जितेको र पछि माधव नेपालले जितेको तथा हारेको क्षेत्र हो । नेपाल अहिले एमालेमा नरहेकाले अब यो क्षेत्रमा एमालेको उम्मेदवार को भन्ने चर्चा छ । यही क्षेत्रमा बसोबास गर्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पनि प्रत्यक्ष चुनाव लड्न चाहेमा उनी दावेदार हुन् । यही क्षेत्रका स्थानीय नेतामध्ये प्रतिनिधिसभाका अर्का दावेदार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ पनि हुन् । तर, श्रेष्ठले फेरि प्रदेशमै चुनाव लड्ने मनसाय व्यक्त गरेको एमाले स्रोतले जनाएको छ । उनीबाहेक प्रतिनिधिसभा सदस्यको दावेदारका रुपमा प्रदेशसभा सदस्य मणिराम फुयाल, पुराना नेता बुद्धभक्त चित्रकार र शंखरापुरका पूर्वमेयर सुवर्ण श्रेष्ठ पनि देखिएका छन् । वडाको मतका हिसाबले एमाले काठमाडौं २ मा पहिलो छ ।

यस्तौ काठमाडौं क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य तथा यही क्षेत्रका सांसद कृष्ण राई नै दोहोरिने सम्भावना छ । अर्का दावेदार रामेश्वर फुयाल प्रदेशमै उम्मेदवार बन्ने तयारीमा छन् । त्यसैले राईले दोस्रोपटक उम्मेदवार बन्न चाहँदा उनले नै पाउने देखिदा क्षेत्र नम्बर ४ बाट स्थायी कमिटी सदस्य डा.राजन भट्टराई नै उम्मेदवार बन्ने सम्भावना छ । पहिलोपटक गगन थापासँग पराजयपछि भट्टराईले यो क्षेत्रमा आफू प्रधानमन्त्रीको सल्लाहकार भएका बेला विकास निर्माणका कामका साथै बजेट परिचालनमा जनप्रतिनिधिकै जस्तो भूमिका निर्वाह गरेका थिए । भट्टराईका कारण उद्धब खरेल, रमा राई, विदुरविक्रम खड्का, निर्मल कुइँकेललगायतका नेता प्रदेशको भन्दा माथि दाबी गर्ने अवस्थामा छैनन् । स्थानीय चुनावका आधारमा काठमाडौं ४ मा एमाले पहिलो शक्ति हो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेको क्षेत्र नम्बर ५ मा यसपटक उनको विकल्प खोजिएको छैन । जनमतको हिसाबले पनि एमाले फराकिलो मतसहित पहिलो स्थानमा छ । यो क्षेत्रबाटै प्रदेशसभामा चुनाव जितेका केन्द्रीय सदस्य नारायण सिलवाल र जिल्ला अध्यक्ष दीपक निरौलाले नै पोखरेलको विकल्प नरहेको बताइसकेका कारण यहाँ अरु दावेदार नहुँदा क्षेत्र नम्बर ६ मा एमालेले यसपटक हेभीवेट उम्मेदवार खोजेको छ । योगेश भट्टराई २ पटक हारेर ताप्लेजुङ गएपछि भएको प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनबाट माओवादीलाई भाग परेका कारण कांग्रेसले जितेको थियो । महिला नेता कल्पना रिजालले पनि यो क्षेत्रबाट उम्मेवार बन्न लबिङ गरिरहेकी छन् । कतिपयले यो क्षेत्रमा कि त योगेशलाई नै फिर्ता ल्याउने वा काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाउनुपर्ने चर्चा पनि चलाइरहेका छन् ।

काठमाडौं ७ मा पनि एमालेले हेभीवेट उम्मेदवार पाउन सकेको छैन । दुईपटक यसै क्षेत्रबाट निर्वाचित रामवीर मानन्धर यस क्षेत्रमा यसपटक पनि निर्विकल्प उम्मेदवार हुन सक्थे । तर, उनले स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा एमाले हराउन खुलेआम गतिविधि गरेर बालुवाटारमा फोटो सेसन नै गरे । नागर्जुन नगरपालिका तथा महानगरको १६ नम्बर वडामा पनि कांग्रेस उम्मेदवार जिताउन खुलेआम मत मागेको आरोप लागेका कारण उनी एमालेको गतिविधिमा छैनन् । रामवीरको च्याप्टर क्लोज भएका कारण यो क्षेत्रबाट कतिपयले विद्यासुन्दरकै नाम पनि लिएका छन् । स्थानीयस्तरमा यही क्षेत्रलाई आधार बनाएर काम गरिरहेका नेताहरु किरण शर्मा, श्याम घिमिरे र प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठ प्रतिनिधिसभा सदस्य उम्मेदवारका दावेदार हुन् ।

काठमाडौं ८ बाट एमालेबाट निर्वाचित जीवनराम श्रेष्ठ नेकपा एसमा लागेपछि यो क्षेत्रमा एमालेबाट उम्मेदवार बन्न उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नै अघि सर्नुपर्ने देखिएको छ । शाक्यले उम्मेदवार बन्न नचाहेमा प्रदेशसभा सदस्य राजेश शाक्यको सम्भावना हुने देखिदा क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ मुख्य दावेदार हुन् । उनीबाहेक प्रदेशसभा सदस्य अजयक्रान्ति शाक्य, केशव पोखरेल पनि दावेदार हुन् । विद्यासुन्दर शाक्यको निर्वाचन क्षेत्र पनि यही हो । श्रेष्ठ अहिले पनि यही क्षेत्रका सांसद हुन् ।

एमाले तुलनात्मक रुपमा कांग्रेससँगै निकै मतले पछि परेको काठमाडौं १० बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट सुरेन्द्र मानन्धर प्रमुख दावेदार देखिएका छन् । उनी २०७० मा उम्मेदवार बनेर दोस्रो भएका थिए । उनीबाहेक कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन, गुञ्जमानसिंह बस्नेत र रामशरण आलेमगर पनि दावेदार हुन् । कीर्तिपुर नगरपालिकाको निर्वाचनमा भएको अन्तर्घातको आरोपका कारण यो क्षेत्रमा एमालेका नेताहरुबीच मन मिल्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!