काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्रको उपमहासचिव पद अस्वीकार गरेका छन् । श्रोतका अनुसार शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफू उपमहासचिव नबस्ने जानकारी दिएका हुन् । शर्मा महासचिवका दाबेदार थिए । दुई प्रभावशाली नेता वर्षमान पुन र शर्मा महासचिवका बलिया दाबेदार थिए ।

दुईमध्ये एकलाई बनाउँदा अर्को चिढिने भन्दै प्रचण्डले देव गुरुङलाई महासचिव तथा पुन र शर्मालाई उपमहासचिव प्रस्ताव गर्ने तयारी गरेका थिए । शर्माले उपमहासचिव नराख्न आग्रह गर्दै आफू स्थायी समितिमा मात्र रहने बताएका छन् । अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा अर्का नेता गुरुङले बाजी मार्ने भएका छन् ।

यसअघि बुधबार बसेको बैठकले पार्टी पदाधिकारीको प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई अख्तियारी दिएको थियो । सोही अनुसार प्रचण्डले गुरुङलाई समेत महासचिव बनाउनेगरी प्रस्ताव तयार पारेको माओवादी नेता हरिबोल गजुरेलले बताए ।

‘विभिन्न प्रस्ताहरुमध्ये गुरुङलाई महासचिव बनाउनेगरी प्रस्ताव आउन सक्छ, त्यो पनि एउटा विकल्प हो’, गजुरेलले भने । स्थायी समिति सदस्य जनार्दन शर्मा र वर्षमान पुन महासचिवमा कडा प्रतिस्पर्धा भएपछि प्रचण्डले तेस्रो विकल्पको रुपमा गुरुङलाई अघि सारेको बुझिएको छ ।

अध्यक्ष प्रचण्डले आधिकारिक रुपमा गुरुङको नाम प्रस्ताव गरी नसकेकाले पुनः फेरबल समेत हुन सक्ने ति नेताको भनाई छ । वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठको नाम पक्कापक्की जस्तै भएको छ । अरु सिनियर नेताहरु उपाध्यक्षमा र दोस्रो तहका नेताहरु सचिवमा हुनसक्ने बताएको छ ।

पदाधिकारी चयन गर्न हिजो बस्ने भनिएको स्थायी समिति बैठक आजका लागि सरेको थियो । बैठकले पदाधिकारीको टुंगो लगाउने नेताहरुले बताएका छन् ।

प्रचण्डले कृष्णबहादुर महरा, हरिबोल गजुरे, दिनानाथ शर्मा, पम्फा भुसाल, मातृका यादव र गणेश साहलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने यसअघि नै नेता नारायणकाजी श्रेष्ठले पाइसकेका छन् । पार्टीले महाधिवेशन सकिएको ८ महिनापछि अपूर्ण केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!