
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही ठूला नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाले आज चतरास्थित सप्तकोसी, त्रिवेणीस्थित तमोर, बुस्तीस्थित तामाकोसी, हम्पचुवारस्थित सुनकोसी नदीमा बहाव उल्लेख्य बढ्नेछ पूर्वानुमान गरेको हो
यस्तै, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेती, पारिगाउँस्थित महाकाली, मैनाचुलीस्थित कन्काई, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।
आज झापा, इलाम, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, चितवन, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी र बझाङ भई बहने साना नदीहरूमा पनि बहाव बढ्न सक्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । आज बाँके, बर्दिया र सुर्खेतमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।