
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलहरू एमालेसँग एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत नराख्ने भएकाले पाँचले नपुगेर आठरदश दलीय गठबन्धन बनाउन लागेको समेत टिप्पणी गरे।
शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले कचनकवल गाउँपालिकास्थित बनियानीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी दोहोर्याएका हुन्।
‘कमजोरहरु गठबन्धन गर्दैछन्। एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन्। अपवित्र साँठगाँठको नाम हो–गठबन्धन। अहिले गठबन्धनमा ८–१० वटा पुर्याउने भन्दैछन्’, अध्यक्ष ओलीले भने, ‘अरु पनि मान्छे खोजे हुन्छ। त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन। उनीहरूको गठबन्धनमा सामेल हुने कतिपय पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन्।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आगामी आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन पनि दिए। ‘तपाईंहरू उच्च मनोबलका साथ जनताको घर–घर जानुहोस्। जनताको घर–घरमा गएर एमाले सरकारले गरेका कामहरूबारे जानकारी गराउनुहोस्’, ओलीले भने, ‘एमालेको लक्ष्य कम्तीमा बहुमत ल्याउने हो।’