
काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लगाउन गृहकार्य चलिरहेका बेला नेपाली कांग्रेसको इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालामाथि नेतृत्वसँग भाग खोज्न दबाब बढेको छ। १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित भएपछि पार्टीभित्र गुटबन्दी र भागबण्डाको राजनीति नगर्ने घोषणा गरेका नेता कोइरालामाथि इत्तर समूहबाटै नेतृत्वसँग यस्तो दबाव बढेको हो।
उनको अनुपस्थितिमा भेलाहरु आयोजना गरेर इतर समूहका नेताहरु पार्टीको केन्द्रीय कार्यसमितिमा हुने मनोनयन, भ्रातृ संगठनहरु र आसन्न निर्वाचनमा टिकटका लागि सभापति शेरबहादुर देउवासँग भाग माग्नुपर्ने बताउँदै आएका छन्। तर, गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा देउवासँग पराजित भएपछि प्रज्ञा प्रतिष्ठानमा मतदातालाई धन्यवाद दिन आयोजित भेलामा नेता कोइरालाले पार्टीभित्र गुटबन्दी र भागबण्डाको राजनीति नगर्ने घोषणा गरेका थिए। उनले भेला सम्बोधन गर्दै आफू र आफ्नो समूहले पार्टी रुपान्तरणका लागि काम गर्ने प्रतिवद्धता जनाएका थिए।
तर, इत्तर समूहले बुधबार मात्रै नेता कोइराला र इत्तर समूहबाट केन्द्रीय कार्यसमितिमा विजयी भएका पदाधिकारीको अनुपस्थितिमा भेला गरेर उनीमाथि नेतृत्वसँग महाधिवेशनमा पाएको मतका आधारमा भागबण्डा खोज्न आग्रह गरेका छन्। केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा सम्पन्न ‘एकाधिकार विरुद्ध खबरदारी सभा’ नाम दिइएको भेलामा आसन्न प्रादेशिक र संघीय निर्वाचनमा हुने टिकट वितरण न्यायोचित ढंगले गरिनुपर्ने माग उठेको छ।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय कार्यसमितिमा २३ जना केन्द्रीय सदस्य मनोनित गर्दा २ जनामात्रै इत्तर समूहलाई मनोनयन गरिएको भन्दै उनले आपत्ति जनाए। ‘२३ जना केन्द्रीय सदस्य मनोनित हुँदा हाम्रा मात्र २ जना परे,’ नेता केसीले आपत्ति जनाउँदै भने, ‘हिजो उहाँ (देउवा) लाई सभापति हुँदा सहयोग गर्ने रामबहादुर, श्यामबहादुर, कृष्णबहादुर त्यो उहाँको टाउको दुखाइ हो। त्यो अब हाम्रो होइन भन्ने हाम्रो भनाइ हो।’
भेलापछि युवा नेता भूपेन्द्रजंग शाहीले आसन्न निर्वाचनमा एकपक्षीय ढंगले टिकट वितरण गरिए परिणाम दुःखद् आउने चेतावनी दिए। टिकट वितरण गर्दा तेरो–मेरो नभनी लोकप्रिय नेतालाई दिनुपर्ने उनको भनाइ थियो। ‘जित्नका लागि उम्मेदवार पनि सही चाहियो। लोकप्रिय, जनताबीचमा भिजेको मान्छे चाहियो। गाउँमा प्रभाव भएको चाहियो,’ भेलापछि सञ्चारकर्मीसँग शाहीले भने, ‘मेरो टिक, अर्को टिम भनेर खल्तीबाट टिप्ने भन्दा पनि लोकप्रिय मान्छेलाई टिकट दिनै पर्छ। एकपक्षीय ढंगले टिकट वितरण गरियो भने त्यसको परिणाम दुःखद् आउन सक्छ।’
उनले सत्ता साझेदार दलहरूसँग गठबन्धन गरेर मात्रै आसन्न निर्वाचन नजितिने पनि प्रक्रिया दिए। पार्टीभित्रका नेता–कार्यकर्तासँग गठबन्धन तोडिए प्रदेशिक र संघीय निर्वाचनमा जित्न नसकिने शाहीको भनाइ थियो।‘प्रतिपक्षमा रहेको एमालेलाई जित्नका लागि माओवादी–समाजवादीसँग गठबन्धन गरिरहेका छौँ,’ उनले भने, ‘आफ्नै पार्टीभित्रकासँग गठबन्धन टुटाउने हो भने त पार्टी चुनावमा विजयी हुन सक्दैन।’
इतर समूहबाट भेलाको संयोजन गर्दै आएका कांग्रेसको बागमती प्रदेश कार्यसमिति सभापतिमा पराजित नेता जगदिश्वरनरसिंह केसीले पार्टीमा ६०/४० को भागबण्डा हुनै पर्ने प्रक्रिया दिएका छन्। ‘सभापति आफैंले स्थापित गरेको नजिर हो ६०/४०। हिजोका दिनमा ३९ प्रतिशत हुँदा पनि ९–९ महिना पार्टी कार्यालय जानु भएको होइन,’ उनले भने, ‘समानान्तर ढंगले अघि बढ्नु भएको हो। उहाँले सिकाएको काम हामीले गरिरहेका हौँ।’
१४ औँ महाधिवेशनमा आफूलाई मत नदिएका नेताहरुलाई सभापति देउवाले टिकट नदिने षडयन्त्र गरिरहेको आरोप लगाउँदै नेता केसीले आफूहरु खबरदारी गरिरहेको पनि जिकिर गरे। ‘भोट नहाल्नेलाई टिकट नदिने षडयन्त्र भइरहेको छ। त्यसको खबरदारी गरिरहेका छौँ। पार्टीमा देखिएको मनपरीविरुद्ध बोलिरहेका छौँ।’
नुवाकोट कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका नेता केसीले गत साउन २८ गते कोइरालानिकट दोस्रो तहका नेताहरुको भेला गरेका थिए। इतर समूहको नेतृत्व गर्दै आएका डा. कोइरालाको अनुपस्थितिमा बत्तिसपुतलीस्थित एक होटलमा सम्पन्न भेलामा उनीहरुले पार्टीमा न्यायोचित व्यवहार नभएको गुनासो गरेका थिए। भेलामा सहभागी नेताहरुले नेतृत्व एकलौटी ढंगबाट अघि बढेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको पनि बताएका थिए। उक्त भेलामा पनि इतर समूहबाट १४ औँ महाधिवेशनमा पदाधिकारीमा विजयी नेताहरु पनि अनुपस्थित थिए।
त्यसको एक दिनपछि नेता कोइराला सभापति देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। देउवासँग उनले आफ्नो समूहले उठाएका विषयहरूका बारेमा छलफल गरेका थिए। ‘सडकमा देखिएको असन्तुष्टि, भ्रातृ संस्थामा एकलौटी ढंगले गरिएको मनोनयन, त्यसले बाहिर देखिएको असन्तुष्टि, गठबन्धनका कुरा, टिकट वितरणका कुराबारे समग्रमा डाक्सापले कुरा राख्नुभयो,’ उक्त भेटपछि कोइरालानिकट एक नेताले भनेका थिए।
ती नेताका अनुसार जवाफमा सभापति देउवाले आगामी दिनमा कोइरालासँग परामर्श गरेरमात्र अगाडि बढ्ने वचन दिएका थिए। ‘सभापतिले सबै कुरामा अब गरिने पार्टीका हरेक निर्णयमा तपाईं (कोइराला) सँग सल्लाहमा नगरी, नसोधी, परामर्श नगरी अगाडि बढ्दैन। सबैलाई समेटेर नै अगाडि बढ्छु भन्नुभयो,’ ती नेताले भनेका थिए। सभापति देउवासँग भेट भएको भोलिपल्ट नेता कोइरालाले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। साउन ३० गते पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भनेका थिए, ‘छलफल सकारात्मक थियो।’