
काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको मिति घोषणा भएसँगै मोरङमा चुनावी चर्चा सुरु भएको छ। जिल्लामा ६ वटा संघीय निर्वाचन क्षेत्र र १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्। दलहरूमा कसलाई उम्मेदवार बनाउने भन्नेमा लेखाजोखा सुरू गर्न थालेका छन्। कांग्रेसलाई नै पर्ने निश्चित जस्तै भएको यो क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय भने निकै सकस देखिएको छ। यहाँ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट विजयी भएका डा.मिनेन्द्र रिजालसँगै नेतृ सुजाता कोइराला पनि बलियो आकांक्षीका रुपमा देखिएकी छिन्। पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले लगातार तीनपटक चुनाव जितेको क्षेत्र हो। उनले यही क्षेत्रबाट २०४८, २०५२ र २०५६ सालमा लगातार संसदीय निर्वाचन जितेका थिए। सुजाता उनै गिरिजा पुत्री हुन्।
गिरिजाप्रसाद कोइरालाको पुरानो आधार क्षेत्र भएकाले कांग्रेसका लागि यो सुरक्षित क्षेत्र पनि मानिन्छ। गिरिजाले यो क्षेत्रको साथ साथै सुनसरीको तत्कालीन क्षेत्र नम्बर ५ बाट पनि चुनाव जित्न थालेपछि मोरङमा ०५२ र ०५६ मा भएको उप-निर्वाचनमा कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायले चुनावमा प्रतिस्पर्धा गरेका थिए र निर्वाचन पनि जितेका थिए। उपाध्यायले २ पटकसम्म निर्वाचन जितेर गिरिजाको बिँडो थामेका थिए। कांग्रेस र कोइरालाको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ मा दोस्रो संविधान सभाको चुनावमा भने एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले जितेका थिए। उनले कांग्रेसका उनै उपाध्यायलाई पराजित गरेर कांग्रेसको गढ भत्काएका थिए।
तर ०७४ सालको प्रतिनिधिसभामा निर्वाचनमा तत्कालीन बामगठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता पोखरेल भने फेरि पराजित हुन पुगे। उनी कांग्रेसमा मिनेन्द्र रिजालसँग पराजित भए। रिजालले १ हजार ८ सय ५ मतले पछि पार्दै निर्वाचित भएका थिए। रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गरी निर्वाचित हुँदा पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका थिए। यसरी कांग्रेसको गढलाई पुरानै लयमा फर्काएका रिजाल अबको निर्वाचनमा पनि प्रमुख दावेदार हुन्। तर उनलाई गिरिजा पुत्री सुजाताले सहजै यो ठाउँ छोड्ने देखिएकी छैनन्। कोइराला रिजालको लागि चुनौती बनेकी छिन्।
अघिल्लो निर्वाचनमा समानुपातिक कोटामा बसेकी कोइराला अहिले भने प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्दै चनावी अभियानमा होमिइसकेकी छिन्। रिजाल नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी संविधानसभाको दुबै निर्वाचनमा समानुपातिक सभासद थिए। उनलाई नेपाली राजनीतिक क्षेत्रको विद्वान नेताका रूपमा चिनिन्छ।
रिजाल पहिलो पटक माधवकुमार नेपाल नेतृत्वको मन्त्रिमण्डलमा संस्कृति तथा नागरिक उड्यान मन्त्री,दोस्रो पटक सुशील कोइराला नेतृत्वको मन्त्रिमण्डलमा सूचना तथा सञ्चारमन्त्री र तेस्रो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका थिए। तर कांग्रेसको १४ औँ महाधिवेशनमा डा।शेखर कोइरालको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका रिजाल महाधिवेशनमा पराजित भएपछि नैतिकताको आधारमा रक्षामन्त्रीबाट राजिनामा दिएका थिए।
रिजालको राजीनामाको विषयले सामाजिक सञ्जालमा मात्र देखि कांग्रेसभित्रै पनि ठिक कि बेठिक भन्ने बहस गरायो। कतिपयले नेपाली राजनीतिमा देखिएको नैतिकताको खडेरीलाई तोड्दै रिजालले नैतिकता देखाएको भन्ने चर्चा पनि चल्यो। उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्याबारिधि गरेका छन्। उनले सोही विश्वविद्यालयमा तीन वर्ष अध्यापन गराएको पनि अनुभव छ।सुजाता कोइरालालाई भने पिता गिरिजाप्रसाको लिगेसीको आधारमा मात्र राजनीतिमा जर्वजस्त अटाउँन सकेको आरोप पनि लाग्छ।
उनी पिता गिरिजाप्रसाद राजनीतिमा सक्रिय हुँदै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बनिकेकी थिइन्। हाल उनी कांग्रेस केन्द्रीय सदस्य तथा समानुपातिक प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा रहेकी छिन्। कांग्रेसको १४ औँ महाधिवेशनमा प्रकाशमान सिंहको प्यालनबाट उपसभापतिको उम्मेदवार बनेकी कोइरालाले कुनै लोकप्रिय मत प्राप्त गर्न सकिनन्। अर्को समूहबाट दाजु शेखर कोइराला सभापतिको उम्मेदवार बनेपनि सुजाताले सहयोग नगरेको आरोप शेखर समूहले आरोप लगाउँदै आएको छ।
हाल उनी सभापति देउवा समूहसँग नजिक रहेकाले उनलै नै टिकट पाउन सक्ने सम्भावनाको पनि विश्लेषण हुन्छ। सुजाताको इतिहास मोरङ मै पनि विवादस्पद छ। पिता गिरिजाको विरासत र आधार क्षेत्र मानिएको मोरङको २ मा २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवार पराजित भएपछि एमालेलाई सहयोग गरेको आरोप सुजातामाथि लागेको थियो। सो निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल पोखरेल निर्वाचित भएपछि कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्यायले सुजातालाई कारबाहीका लागि सिफारिस पनि गरेका थिए। सो निर्वाचनमा कोइरालाले पनि टिकटको दावी गरेकी थिइन्।
मोरङ २ मा मा रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ५ र ६, कानेपोखरी गाउँपालिकाको १,२ र ३, रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाहरु पर्दछन्।यसरी जम्मा २९ वटा वडा रहेको यो क्षेत्रमा वडागत मतभार हेर्दा एमाले बलियो देखिएको छ। २९ मध्ये १६ वटाको वडाध्यक्ष एमालेका उम्मेदवारले जितेको छ। दोस्रोमा कांग्रेसले ११ वटा वडा र माओवादी केन्द्रले २ वटा वडाको अध्यक्ष जितेको छ।वडागत मत विवरणअनुसार एमालेले ३१ हजार २ सय ३१ मत ,कांग्रेसले २८ हजार ६ सय १४, माओवादी केन्द्रले ७ हजार २ सय ७१ र जसपा ले ४ हजार ३ सय ४६ मत प्राप्त गरेका छन्।
यसरी वडाको यो मतभार हेर्दा एमाले बलियो देखिएको छ। तर कांग्रेसलाई माआवादी र जसपाको पनि साथ हुने देखिएकाले केही सहज भने देखिएको छ।यो मतलाई आधार मान्दा गठबन्धनको मत ४० हजार २ सय ३१ र एमालेको मत ३१ हजार २ सय ३१ मत रहेको छ।