काठमाडौं । पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीको सहभागिता लगभग ‘क्लोज’ भइसक्दा कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई ल्याउन अझै प्रयास गरिरहेका छन् । बिहीबारमात्र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित सो पार्टीका अन्य शीर्ष नेताहरुसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री देउवाले गठबन्धनमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

लोसपाले एमालेसँग गठबन्धन बनाउने तयारी गरेपछि प्रधानमन्त्री देउवाले लोसपालाई आफूतिर तान्न प्रयास गरेका हुन् । उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर सरकार तथा गठबन्धनमा सहभागी हुन पटक पटक आग्रह गरेका थिए । लोसपाका अध्यक्ष ठाकुरले त्यसको बदलामा मधेसका केही माग अघि सार्दै तिनलाई पूरा गर्न देउवासमक्ष प्रस्ताव राखे ।

त्यसमा प्रधानमन्त्री देउवा पनि तयार भए । ती मागबारे अध्ययन गर्न एउटा कार्यदल पनि बन्यो ।यी काम फटाफट हुन थालेपछि लोसपा प्रधानमन्त्री देउवासँग नजिक हुन पुग्यो । त्यसपछि लोसपाले कांग्रेसलाई हरेक कुरामा साथ दिन थाल्यो । तर लोसपाले आफ्नो माग पूरा नभएसम्म गठबन्धन र सरकारमा नजाने अडान राख्यो ।

अहिले लोसपा गठबन्धन तथा सरकारमा जान चाहिरहेको छ तर प्रधानमन्त्री देउवाले चाहेर पनि उसलाई भित्र्याउन सकिरहेका छैनन् । लोसपाले पाँच दलीय गठबन्धनमा सहभागी हुने भनेर एमालेको साथ छाडे पनि अहिले न पाँच दलीय गठबन्धनमा सहभागी हुन पाएको छ, न एमालेको साथ पाएको छ । लोसपा यतिबेला अलपत्र अवस्थामा छ ।

मधेस प्रदेशमा विमलेन्द्र निधिले शेखर कोइरालासँग मिलेर प्रधानमन्त्री देउवा पक्षलाई मधेसमा कमजोर बनाउन लागेको चर्चा छ । त्यसको बदला लिन यस पटकको चुनावमा निधिलाई टिकट नदिनका लागि पनि प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा ल्याउन पहल गरिरहेको चर्चा छ ।

कांग्रेसका एक नेताका अनुसार लोसपा सत्तारुढ गठबन्धनमा सामेल भएमा सो पार्टी वरिष्ठ नेता राजेन्द्र महतोलाई धनुषा क्षेत्र नम्बर ३ मा टिकट दिन गठबन्धन बाध्य हुनेछ । धनुषा क्षेत्र नम्बर ३ विमलेन्द्र निधिको चुनाव क्षेत्र हो । २०७४ को निर्वाचनमा निधि राजेन्द्र महतोसँग पराजित भएका थिए ।

लोसपा गठबन्धनमा जाने बित्तिकै कम्तीमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीको सिट सुरक्षित गर्नुपर्ने गठबन्धनको दायित्व बन्छ । त्यो अवस्थामा राजेन्द्र महतोले गठबन्धनबाट टिकट पाएपछि निधि माइनस हुनुपर्ने अवस्था आउनसक्छ । त्यस्तै, महोत्तरी, सर्लाहीका केही नेतालाई ठेगान लगाउन पनि प्रधानमन्त्री देउवाले लोसपाको साथ खोजेको बुझ्न सकिन्छ ।

प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा ल्याउँदा मधेसमा कांग्रेसको लोकप्रियता बढ्ने आकलन गरेका छन् । हालै ल्याइएको नागरिकता विधेयक लोसपाकै माग अनुसारको हो । त्यसैले नागरिकता समस्या समाधान गर्न आफ्नो नेतृत्वले निर्वाह गरेको भूमिकालाई लोसपाले चुनाव प्रचारका क्रममा ‘आफ्नो एजेण्डा’ का रुपमा प्रचार गर्दा कांग्रेसलाई नै प्रत्यक्ष फाइदा पुग्ने कांग्रेसका नेताहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा लोसपाले नागरिकता सम्बन्धी अध्यादेश ल्याएको तथा मधेसका माग पूरा गर्न पहल गरेको भन्दै एमालेको प्रशंसा गरेका थिए । त्यसरी नै संघीय र प्रदेशसभा निर्वाचनमा लोसपाले कांग्रेसको प्रचार गरिदिने भन्दै देउवा यतिबेला लोसपालाई गठबन्धनमा भित्र्याउन चाहिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!