
काठमाडौं । नेपालमा पहिलो संसदीय निर्वाचन भएको ६४ वर्षपछिको आठौं आम निर्वाचन मंसिर ४ गते हुँदैछ। नेपालमा प्रजातन्त्र प्राप्तीपछि २०१५ सालमा पहिलो प्रतिनिधि सभाका लागि निर्वाचन भएको थियो। योसहित नेपालको इतिहासमा अहिलेसम्म सात पटक प्रतिनिधि सभाका लागि निर्वाचन भएका छन्।
६४ वर्षअघि २०१५ सालमा पहिलो पटक भएको प्रतिनिधि सभा निर्वाचन ४५ दिनमा सकिएको थियो। २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो। अन्तिम मतपरिणाम भने २०१६ साल वैशाख २८ गते मात्र घोषणा भएको थियो। प्रतिनिधिसभाको उक्त निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएकामा ६ राजनीतिक दलका उम्मेदवार विजयी भए।
१०९ प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस ७४ स्थानमा विजयी भएको थियो। नेपाल राष्ट्रवादी गोरखा परिषद्का १९, संयुक्त प्रजातन्त्र पार्टीका ५, नेपाल कम्युनिस्ट पार्टीका ४, नेपाल प्रजा परिषद् (आचार्य गुट)का २, नेपाल प्रजा परिषद् (मिश्र गुटं)का १ र ४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।
यो निर्वाचनमा निर्वाचन क्षेत्र नं. १०४ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई २ हजार ८०८ मत प्राप्त गरेका कृष्णप्रसाद भट्टराई नेपाल राष्ट्रवादी गोरखा परिषद्का तर्फबाट उम्मेदवार भएका विश्वनाथ सुवेदीसँग पराजित भएका थिए। तर पछि उनी प्रतिनिधि सभाका सभामुख नियुक्त भएका थिए।
एक निर्वाचन क्षेत्रमा बढीमा ५४ र घटीमा ११ वटा मतदान केन्द्र तोकिएको थियो। मतगणनाको परिणाम सर्वप्रथम क्षेत्र नं. ९२ (गुल्मी मध्यपूर्व) र अन्तिम क्षेत्र नं. ८७ (बाग्लुङ उत्तर क्षेत्र) को घोषणा भएको थियो।
सबैभन्दा बढी मतदाता क्षेत्र नं. ७४ (जुम्ला दक्षिण) मा ५६ हजार ९३२ र सबैभन्दा कम क्षेत्र नं. ६७ (बैतडी पूर्व दक्षिण) मा २३ हजार ४६७ जना थिए। सबैभन्दा बढी मत खसेको क्षेत्र नं. १ मा २७ हजार ३९४ र सबैभन्दा कम मत खसेको क्षेत्र नं. ७६ मा ६ हजार ०८७ थियो। यस संसदीय निर्वाचनमा एकभन्दा बढी निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिन पाउने व्यवस्था थियो।
२०१५ सालमा भएको प्रथम आम निर्वाचनमा ४२.१८५ प्रतिशत मतदाताहरूले मतदान गरेका थिए। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका बीपी कोइराला चुनिए। उनी नेपालको पहिलो प्रधानमन्त्री हुन्। पहिलो संसदीय निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाले पूरै कार्यकाल काम भने गर्न सकेन।
२०१७ पुस १२ गते तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरी पञ्चायती व्यवस्था लागू गरे। २०४६ सालसम्म पञ्चायती व्यवस्था जारी रह्यो। २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्बहाली भएपछि २०४८ सालमा दोस्रो संसदीय निर्वाचन भएको थियो।