काठमाडौं । देशमा पहिलोपटक संघीयताको अभ्यासअन्तर्गत प्रदेशको नेतृत्व गरिसकेका १४ जना मुख्यमन्त्रीमध्ये अधिकांश आगामी मंसिर ४ को चुनावपछि संघीय संसदमा छिर्ने योजनामा छन् । पाँच वर्षको अवधिमा सातवटा प्रदेशले जन्माएका १४ मुख्यमन्त्रीमा प्रदेश १ बाट शेरधन राई, भीम आचार्य र राजेन्द्र राई मधेस प्रदेशबाट लालबाबु राउत बागमतीबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे गण्डकीबाट पृथ्वीसुब्बा गुरुङ र कृष्ण पोखरेल नेपाली लुम्बिनीबाट शंकर पोखरेल र कुलप्रसाद केसी कर्णालीबाट महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही रसुदुरपश्चिमबाट त्रिलोचन भट्ट मुख्यमन्त्री भएका हुन् ।

यसअघि प्रदेशमा निर्वाचित भएका अधिकांश सांसदहरु संघको टिकट पाउन दौडधुप गरिरहेका छन्। कतिपयले सिट सुरक्षित गरिसकेका छन् भने कतिपय गठबन्धन र शीर्ष नेताहरुको चेपुवामा छन्। यसै सन्दर्भमा अहिलेसम्म मुख्यमन्त्री भइसकेकाहरूसँग हामीले अबको निर्वाचनको तयारीबारे राखेको जिज्ञासाबारे प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका शेरधन राई यो पटकको निर्वाचनमा प्रतिनिधिसभाबाट उम्मेदवारी दिँदैछन्। राईले आफू भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनका लागि लड्ने तयारी भएको जानकारी दिए। धेरै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन आग्रह भएको भए पनि अहिले भोजपुर छाड्ने अवस्था नभएको उनले बताए। ०७४ को निर्वाचनमा भोजपुर, प्रदेशसभा–२ बाट राई २० हजार ३ सय ३४ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द बहादुर कार्कीले ७ हजार १ सय ५ मत ल्याएका थिए।

प्रदेश १ को दोस्रो मुख्यमन्त्री बनेका भीम आचार्य सकेसम्म प्रतिनिधिसभाकै टिकट ल्याउनेगरी प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारीमा छन्। आचार्य यो पटक सुनसरीबाटै निर्वाचन लड्ने तयारीमा छन्। ०७४ को निर्वाचनमा सुनसरी, क्षेत्र नम्बर १ को प्रदेश (ख) बाट आचार्य २० हजार २ सय ११ मतसहित विजयी भएका थिए। आचार्यका प्रतिस्पर्धी कांग्रेसका बुद्धिबहादुर कटुवालले १२ हजार ९ सय ६४ मत ल्याएका थिए। माधव नेपाल समूहमा रहेर पछि एमालेमा बसेका आचार्य तेस्रो धारका नेता हुन् । भोजपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् प्रदेश १ का बहालवाला मुख्यमन्त्री राजेन्द्र राई। उनी भोजपुर क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए। उनी अहिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा छन्। गत चुनावमा मुख्यमन्त्री राईले भोजपुरबाट १९ हजार २ सय ९७ मत ल्याएर प्रदेशसभामा जितेका थिए। उनका प्रतिस्पर्धी तत्कालिन संघीय समाजवादी फोरमका अनम्बर राई काङमाङले ११ हजार ५ सय ४१ मत ल्याएका थिए।

यस्तै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत योपटक पनि प्रदेशसभाबाटै निर्वाचन लड्ने मुडमा छन्। राउतको निजी सचिवालयले दिएको जानकारी अनुसार यो निर्वाचनमा प्रदेशबाटै निर्वाचन लड्ने तयारी भइरहेको छ। पर्सा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट ०७४ को निर्वाचनमा राउत निर्वाचित भएका थिए। तत्कालीन संघीय समाजवादी फोरमबाट ९ हजार ८ सय ४ मतसहित राउत निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय कुमार सरौफले ६ हजार ८ सय २९ मत ल्याएका थिए।

बागमती प्रदेशमा पहिलो मुख्यमन्त्रीको कार्यकाल सम्हालेका एमालेका डोरमणि पौडेल र देशकै पहिलो महिला मुख्यमन्त्री तथा बागमती प्रदेशको दोस्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रदेश र प्रतिनिधिसभा दुवैतिर आफ्नो दाबी नभएको भन्दै अबको निर्वाचनमा युवालाई साथ दिने पक्षमा रहेपनि प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे भने यो पटक प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी दाबी गर्ने लाइनमा छन्। आफूले प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारी गरेको पाण्डेले बताए। आफू धादिङ क्षेत्र नम्बर १ बाटै उम्मेदवार हुने तयारीमा रहेको उनले बताए। यद्यपि पार्टी र गठबन्धनका नेताहरुको स्पिरिट अनुसार चल्ने पाण्डे बताउँछन्। पाण्डे अहिले नेकपा एकीकृत समाजवादीको तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री बनेका हुन्। धादिङ क्षेत्र नम्बर १ प्रदेससभा (क)बाट निर्वाचित भएका पाण्डेले त्यतिबेला २७ हजार ३ सय ३२ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका मदु कुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका छन्।

गण्डकीको पहिलो कार्यकाल मुख्यमन्त्रीको रुपमा चलाइसकेका पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेका प्रभावशाली नेतामध्येका एक हुन् । गुरुङले संघीयता कार्यान्वयनका सवालमा बेला बेलामा प्रश्न उठाइरहेका हुन्छन्। ०७४ को निर्वाचनमा लमजुङ क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका थिए। गुरुङले यो पटक प्रतिनिधिसभामै प्रतिस्पर्धा गर्ने योजनामा छन्। उनले ०७४ मा २३ हजार ८८ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २ मत प्राप्त गरेका थिए। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण पोखरेल नेपाली यो पटक प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीमा छन्। तर, गठबन्धनको भागवण्डा नमिलेको खण्डमा प्रदेशसभामै बस्न पनि तयार रहेको उनले बताएका छन्। ०७४ को निर्वाचनमा पोखरेल एमाले माओवादीको वाम गठबन्धनलाई हराएर निर्वाचित भएका थिए।

एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री हुन् । उनि ०७४ कै निर्वाचनमा प्रतिनिधिसभामा उठ्ने चाहाना राखेपनि वाम गठबन्धनको चेपुवामा परेर उनी दाङ क्षेत्र नम्बर २ (क) मा झरेका थिए। पोखरेलको सचिवालयका एक सदस्यका अनुसार यो पटक उनले कुनै हालतमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनेछन्। एमाले महासचिव पोखरेलले यो पटक दाङ क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभामा उम्मेदवारी दिँदैछन्। ०७४ को निर्वाचनमा पोखरेल २० हजार ७ सय २३ मत प्राप्त गरेर विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमलकिशोर शर्मा घिमिरेले ११ हजार १ सय ७२ मत ल्याएका थिए।

लुम्बिनी प्रदेशका बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी यो पटको निर्वाचनमा छड्के दाउ हेरेर बसिरहेका छन्। सत्ता गठबन्धनले गरेको निर्णयका आधारमा आफ्नो निर्वाचन क्षेत्र तय गर्ने तयारीमा केसी छन्। उनी ०७४ को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए। त्यसो त रोल्पामा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन प्रतिनिधिसभामा उठ्नेछन्। एउटा मात्र निर्वाचन क्षेत्र भएका कारणले रोल्पा छाडेर लुम्बिनी प्रदेशको अन्य जिल्लाबाट केसीले चुनाव लड्ने तयारी गरेका छन् । केसीले ०७४ को निर्वाचनमा १८ हजार ५ सय १२ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरबहादुर महराले १० हजार ४ सय १ मत प्राप्त गरेका थिए।

यता कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्र बहादुर शाही यो पटक सिंहदरबार छिर्ने योजनामा छन्। मुख्यमन्त्री हुँदा उनकै सचिवालयमा बसेर काम गरेका ध्रुब बुढाथोकी अनुसार शाही कालिकोटबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्नेछन्। ०७४ को निर्वाचनमा शाही कालिकोट क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित भएका थिए। १२ हजार १५३ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीबहादुर शाहीले ९ हजार ३४२ मत प्राप्त गरेका थिए। पूर्वमुख्यमन्त्री शाही ०७४ को चुनावअघि संघीय सरकारको उर्जामन्त्री बनिसकेका नेता हुन् ।

कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही आम निर्वाचनमा के गर्ने भन्नेबारे पार्टीको निर्णय कुरेर बसिरहेको बताउँछन्। प्रदेशसभामा एकपटक निर्वाचित भएर सरकारमा समेत काम गरिसकेको भन्दै प्रतिनिधिसभामा आफ्नो दाबी स्वाभाविक भएको शाही बताउँछन्। तर, केन्द्रबाट गठबन्धनलाई सहज हुनेगरी भएको निर्णय स्वीकार गर्ने उनले बताए। ०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट हुम्ला क्षेत्र नम्बर १ (ख) मा शाही निर्वाचित भएका थिए। उनले ४ हजार ५१९ मत ल्याएका थिए भने प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विजय भण्डारीले ३ हजार ९९५ मत पाएका थिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन्। उनी यो पटक प्रतिनिधिसभाबाट उठ्ने तयारीमा छन्। उनको निर्वाचन क्षेत्रमा कांग्रेसको मत पनि कमजोर छैन। ०७४ को निर्वाचनमा भट्टले १६ हजार ९१ मत ल्याउँदा कांग्रेसका योगेन्द्रबहादुर शाहीले १३ हजार ४९५ मत प्राप्त गरेका थिए। ०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो भने कांग्रेस एक्लै मैदानमा थियो। ‘गठबन्धनमा भागवण्डा मिलेको खण्डमा डोटी वा अन्य कुनै जिल्लाबाट पनि प्रतिनिधिसभामा उठ्न सक्नुहुन्छ,’ भट्ट निकट भएर काम गरेका एक नेताले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!