
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको आलोचना गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले मूल्य वृद्धि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए । इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्यो ।’
स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । उनले सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको जोड छ । उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए ।
फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राखे। ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ । यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ नेता सिंहले भने ।