
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि आजै गरिने भएको छ। घाँटीको क्यान्सरबाट ग्रसित प्रतिनिधि सभा सदस्य ७५ वर्षीय गिरिको शनिबार राति ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गिरिको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि दुई बजेपछि पशुपति आर्यघाट लगिने जानकारी दिए। कांग्रेसले शनिबार राति नै शोक वक्तव्य जारी गरी गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यालयमा राखिने जनाएको छ। त्यसअघि बिहान नौ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङगणमा रहेको शिवालय मन्दिर अगाडि उनलाई श्रद्धाञ्जली दिने कार्यक्रम तय भएको छ।
११ बजेर ३० मिनेटपछि उनको पार्थिव शरीरलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपामा राखिनेछ। दुई बजेपछि उनको पार्थिक शरीरलाई पशुपति आर्यघाट लगिनेछ। त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिइनेछ। उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकज वर्मनका अनुसार गिरिको शरीरका अन्य भागमा पनि क्यान्सर फैलिसकेको थियो। क्यान्सरका साथै निमोनियाको संक्रमण जटिल बन्दा गिरिको बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको वर्मनले बताए।
समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए। गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए।