
काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर–३ मा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ। पार्टीका ‘हेभिवेट’ नेताहरुको एउटै निर्वाचन क्षेत्र परेकाले यहाँको राजनीतिलाई महत्वका साथ हेरिएको छ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार भएका महतो २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएका थिए। महतोले उनै निधिलाई पराजित गरेका थिए। महतोले ३० हजार ७४२ मत ल्याउँदा निधिले २७ हजार ८२८ मत प्राप्त गरेका थिए। अहिले पनि यो क्षेत्रबाट निधि र महतो आगामी निर्वाचनको तयारीमा जुटिरहेका छन्। महतो र निधिको चर्चा भइरहँदा नेकपा एमालेकी नेतृ जुली महतो पनि उम्मेदवारी बन्ने दौडमा रहेकी छिन्। जुली महतो एमाले सचिव रघुवीर महासेठको धर्मपत्नी हुन्।
त्यस्तै यो क्षेत्रबाट उम्मेदवारी बन्न जनता समाजवादी पार्टी (जसपा) का जितेन्द्र यादव पनि आकांक्षीका रुपमा प्रस्तुत भएका छन्। तर कांग्रेस र जसपासँगै गठबन्धनमा रहेकाले यादवको सम्भावना कम र निधिको धेरै रहेको छ। अहिले लोसपालाई पनि गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा लागिपरेका छन्। यदि लोसपा गठबन्धनमा सहभागी भए निधि र महतोमध्ये एकले यो निर्वाचन क्षेत्र गुमाउनु पर्ने हुन्छ। तर अहिलेको राजनीतिक परिस्थिति हेर्दा यो सम्भावना कम देदिएको छ।
उसो त निधि आफैं पनि महतोलाई निर्वाचन क्षेत्र फेराउनका लागि कसरत गररहेका उनी निकट एक नेता बताउँछन्। कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका निधिले लोकप्रिय मत प्राप्त गर्न सकेनन्। त्यतिमात्र नभएर कुनै बेला सभापति देउवाका विश्वास पात्रका रुपमा चिनिएका निधिले त्यो विश्वास पनि गुमाएका छन्।
त्यसैले निधि अहिले देउवासँगको सम्वन्ध सुधार र देउवामार्फत नै महतोलाई निर्वाचन क्षेत्र परिवर्तन गराउन लागिपरेको कांग्रेसका एक नेताको दावी रहेको छ। महतोले निर्वाचन क्षेत्र परिवर्तन गर्दा विकल्पमा सर्लाही हुनसक्छ। २०७४ सालको निर्वाचन भन्दा पहिले महतोले सर्लाहीलाई नै आधार क्षेत्र बनाउँदै आएका थिए।
यो क्षेत्र गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा खसेको दलगत मतलाई आधार मान्दा कांग्रेसको सबैभन्दा लोकप्रिय मत रहेको छ।
कांग्रेसपछि एमालेको रहेको छ। र, तेस्रोमा महतोको पार्टी लोसपाको रहेको छ। स्थानीय तहको मतभारलाई आधार मान्दा महतो निधि भन्दा निकै कमजोर देखिन्छ।
यो अवस्थामा महतोले एमालेको साथ पाउँदा मात्र निधिसँगको प्रतिस्पर्धा रोचक हुने विश्लेषण भएको छ।अघिल्लो निर्वाचनमा पनि एमालेको मत नै निर्णायक हुँदा महतोले निधिलाई हराएका थिए। तर अहिले अघिल्लो निर्वाचनमा जस्तो मधेस आन्दोलको रापताप कम भएको र महतोको लोकप्रियता पनि पहिले जस्तो नभएकाले एमालेले सहजै महतोलाई सघाउने सम्भावना पनि कम भएको चर्चा हुन्छ।
बरु कांग्रेसकै हारहारिमा मत ल्याएको एमाले आफै लोसपाको साथबाट उम्मेदवारी दिन सक्ने विश्लेषण पनि भएको छ। यो क्षेत्र जनकपुर उपमहानगरपालिकाको १० वटा वडा र नगराइन नगरपालिका, धनौजी गाउँपालिका,मुखियापट्टि मुसहरनीया नगरपालिका पर्दछ। यसरी यो क्षेत्रमा ३० वटा वडाहरु पर्दछन्। यी वडाहरुको मतलाई आधार मान्दा कांग्रेसले सर्वाधिक २२ हजार ४ सय २८ मत , एमाले १७ हजार ९६, लोसपा ८ हजार ७ सय ६३, जसपा ८ हजार २४३ र माओवादीले ६६५ मत प्राप्त गरेको छ।