
काठमाडौं । चुनावी तालमेल र सिटबाँडफाँटबारे सत्ता गठबन्धन सहमति नजिक पुगेको छ। । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए । अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्ने पनि कार्कीले बताए ।
‘आजको बैठकमा सिट बाँडफाँटबारे छलफल भएको छ। सिटफाँडफाँट र त्यसपछिको अवस्थाबारे छलफल भयो। नेताहरुले आ-आफ्नो कुरा राख्नुभयो। निष्कर्षको नजिकमा पुगेका छौं। बैठक बसेर टुंगोमा पुर्याउँछौं।’ बैठक मंगलबार ३ बजे पुनः बस्ने छ, बैठकपछि कार्कीले भने।
गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँट गर्न कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदल गठन भएको थियो।
कार्यदलले सिट बाँडफाँटको खाका तय गरिसकेको छैन। कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि सिट बाँडफाँटको जिम्मा नेतृत्व तहलाई नै दिइएको छ।