
काठमाडौं । मंसीर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तारुढ दलमा तालमेलको भागवण्डा गर्दा कांग्रेसभित्र तीन विचार देखिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले ८० सिटको हाराहारी कांग्रेसका उम्मेदवार हुने गरी सहमति गर्ने पक्षमा देखिएका छन् । सभापति देउवाको मुख्य चासो गठबन्धन टिकाउनु रहेको छ । त्यसका लागि देउवाले बढी सिट दाबी नगरी कांग्रेस लचिलो हुनुपर्ने पक्षमा छन् । कांग्रेस लचक हुने संकेत उनले केही दिन कांग्रेसकै कार्यक्रममा गरेका थिए ।
उम्मेदवारको आकांक्षी रहेका नेता कार्यकर्तालाई कांग्रेसले दाबी गरे अनुसारकै क्षेत्र प्राप्त नहुने अप्रत्यक्ष रुपमा जानकारी त्यसै बेला गराइसकेका थिए । सभापति देउवाको बोलीलाई सुदूरपश्चिम सभापति वीरबहादुर बलायर समर्थन गर्छन् । निर्वाचित हुने गरि तालमेलको मोडालिटी बनाउनुपर्ने र प्राप्त क्षेत्रमा जित निकाल्नै पर्ने दबाब गठबन्धनलाई भएको उनी बताउँछन् ।
प्रधानमन्त्री तथा सभापति देउवा ८० क्षेत्रमा उम्मेदवार बनाउन राजी हुने कांग्रेसवृत्तमा चर्चा भइरहेको छ । ‘उहाँलाई गठबन्धन टिकाउनु छ । यता तालमेलमा कुरा मिलेन भने माओवादीलाई तान्न एमाले तयार छ ।’ एक केन्द्रीय नेता भन्छन्,‘मुख्यगरि माओवादी उता जान्छ कि भन्ने उहाँमा डर छ ।’ गठबन्धनका दलहरुलाई बिच्किन नदिनका लागि देउवा कांग्रेसका लागि क्षेत्र घटाउन लचिलो हुने उनको बुझाई छ ।
देउवाको अधिकतम लचकताको उदाहरण ती नेता प्युठान र बागलुङलाई दिन्छन् । ‘२०७४ मा विजयी भएको आधारमा प्युठानमा जनमोर्चाले दाबी गर्न पाउँछ । एक सिट दिँदा त्यो क्षेत्र नै उपयुक्त पनि हो ।’ ती नेता भन्छन्, ‘बागलुङ २ मा माओवादीले जितेको छ । त्यहाँ त्यही दलले पाउला । बागलुङ १ मा अघिल्लोपटक एमालेले जितेको त्यो क्षेत्र कांग्रेसले दाबी गर्नुपर्ने हो । गठबन्धनलाई खुसी बनाउन त्यो क्षेत्र जनमोर्चालाई दिन प्रधानमन्त्री राजी हुनुहुन्छ ।’
सभापति लचक हुँदा त्यसले कांग्रेस तथा तालमेललाई हानि गर्ने नेताहरुको चिन्ता छ । कांग्रेसको सांगठनिक अवस्था र स्थानीय तहको निर्वाचनको मतभारलाई प्रमुख आधार बनाई क्षेत्रको भागवण्डा हुनुपर्ने केन्द्रीय सदस्य डा गोविन्द पोखरेल बताउँछन् । गठबन्धनका अन्य दलसँग लत्रिँदा त्यसले कांग्रेसलाई हानि हुने उनको तर्क छ । ‘१०० क्षेत्रलाई कांग्रेसले बटमलाइन बनाउनुपर्दछ । कांग्रेसले आफ्नो शक्ति विर्सिएर तालमेल गर्यो भने तालमेलले परिणाम राम्रो दिँदैन ।’ उनले भने, ‘अरु दलको भन्दा कांग्रेसको संगठन बलियो छ । कांग्रेसका उम्मेदवार भएका स्थानमा जिताउन सजिलो पनि छ ।’
कांग्रेसबाट उम्मेदवार बनाएर जित्न सकिने स्थानमा गठबन्धनका अरु दलबाट प्रतिस्पर्धी हुँदा निर्वाचित गराउन कठिन हुने बुझाई कांग्रेसमा छ । मतभार कम रहेका गठबन्धनका अन्य उम्मेदवारलाई कांग्रेसको अत्यधिक मत ट्रान्सफर गराउनु चुनौती हुने नेताहरु बताउँछन् । ‘९५ मतको शक्ति रहेकालाई ५ थपेर १०० बनाउन सजिलो छ ।’ शेखर पक्षीय नेता देवराज चालिसे भन्छन्,‘५ मतको शक्तिलाई ९५ मत खन्याएर १०० पुर्याउन धेरै मुस्किल पर्छ ।’ तालमेलको औचित्य जितका लागि हुनुपर्ने चालिसे दाबी गर्छन् ।
उम्मेदवारको दाबी गर्न हैसियत राख्ने र नतिजा पनि आफ्नो पक्षमा पार्नसक्ने व्यक्तिलाई क्षेत्र निर्धारण गरिनुपर्ने तर्क कांग्रेसमा छ । सक्षम व्यक्ति तालमेलकै कारणले उम्मेदवार बन्न नपाउने अवस्था बने त्यसले पार्टीमा असन्तुष्टि बढाउने केन्द्रीय सदस्य पोखरेल बताउँछन् । कांग्रेसमा असन्तुष्टि बढ्यो भने तालमेलको प्रभावकारितामा प्रश्न उठ्ने पोखरेल तर्क गर्छन् । ‘कांग्रेसबाट उम्मेदवार बनाएको भए जित्ने तर अरु दलबाट बनाउँदा हार्यो भने तालमेल आत्मघाति भएन ?’ उनी प्रश्न गर्छन् ।
पार्टी भित्रको असन्तुष्टिले गठबन्धनको परिणाममा असर पर्ने तथ्य महामन्त्री गगन थापाले सत्ताघटकको कार्यदलमा सुनाएका छन् । कांग्रेसका उम्मेदवार कम हुँदा त्यसको नकरात्मक असर परिणाम पर्ने उनको तर्क छ । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलमा कांग्रेसको लागि १०० क्षेत्रलाई बटमलाईन बनाउनुपर्ने प्रस्ताव राखेको उनले सुनाए ।
तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलका संयोजक समेत रहेका नेता कृष्णप्रसाद सिटौला ८८ सिटको लागि दाबी सत्तारुढ कार्यदलमा गरेका छन् । प्रधानमन्त्री देउवा र महामन्त्री थापाको भन्दा भिन्न प्रस्ताव उनको छ । कांग्रेसले १०० क्षेत्र पनि पाउन नसक्ने तथा ८० भन्दा माथि हुने सम्भावनालाई ध्यानमा राखि उनले मध्यमार्गी प्रस्ताव अघि सारेका हुन् । ८८ बाट केही क्षेत्र थपघट हुने आशय सहित उनको प्रस्ताव आएको छ । माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा विजयी सिट सोही दलको भागमा पार्ने र एमालेले जितेका सिटमा ६०र४० को प्रस्ताव ल्याएको छ । प्रत्यक्षतर्फ विजयी गठबन्धनमा हाल कांग्रेसका २३, माओवादीका ३६, एकीकृत समाजवादीका १३, जसपाका १० र जनमोर्चाका एक गरी ८३ सिट छ।
गठबन्धन बाहिरका दलसँग ८२ सिट छ । माओवादीले ल्याएको प्रस्ताव कांग्रेसले स्विकार्यो भने ८२ क्षेत्रको ६० प्रतिशतले गर्दा ७२ सिटमा मात्रै कांग्रेसका उम्मेदवार बन्न पाउँछन् । ‘माओवादी र एकीकृत समाजवादी हामीलाई ७२र७५ क्षेत्रमै राख्न खोजेका छन् ।’ कांग्रेस शीर्ष तहका एक नेता भन्छन्,‘प्रत्यक्ष र समानुपातिकबाट कसैगरि पनि कांग्रेसको बहुमत नपुगोस् भन्ने उनीहरुको चाहना हो ।’
कार्यदलमा तालमेलमा कुनै मोडालिटी तय हुन नसकेपछि विषय प्रवेश शीर्ष तहमा पुगेको छ । हालसम्म कार्यदलको सातपटक बैठक बसिसकेको छ । सहमतिको विन्दु पहिल्याउन नसकेपछि कार्यदलमा विकल्पको खोजी पनि गरिएको छ । गठबन्धनका सबै दलबाट दाबी रहने क्षेत्र र व्यक्तिको नाम संकलन गर्ने विकल्पमा छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिए । ‘सबैको दाबी धेरै सिटमा छ । दाबी गरेको क्षेत्र नघट्ने हो भने अर्को विकल्पमा छलफल जाऔं भनिएको हो ।’ कार्यदलका एक सदस्य भन्छन्,‘कुन कुन नेतालाई जिताउनुपर्ने र कहाँको दाबी हो भनेर संकलन गर्न थालिएको हो । १६५ क्षेत्र भन्दा बढी नाम आउँछ । यो विधिबाट मिलाउन पनि गाह्रो छ ।’