
काठमाडौं । वर्षौंदेखि निर्वाचन क्षेत्र ओगटेर बसेका नेताले निर्वाचन क्षेत्रलाई ‘पेवा’ बनाउन खोज्दा चुनाव लड्न खोजेका युवा नेतालाई टिकट फुत्काउन सकस छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र अन्य दलमा समेत युवा पुस्ताले दबाब बढाएका छन् । जसमा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा केही फ्रेस अनुहारले यसपटक चुनावको तयारी गरिरहेका छन् । नीति निर्माण गर्ने थलो संसद्मा पुग्नका लागि युवा पुस्ताका केही प्रतिनिधिले पार्टीमा टिकटका लागि लबिङ गरिरहेको नेताहरू बताउँछन् ।
नेपाली विद्यार्थी संघको पूर्व अध्यक्ष एवं कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरे पहिलोपटक चुनावमा प्रतिस्पर्धा गर्दैछन् । घिमिरेले सबैभन्दा पहिला मोरङ– ४ बाट उम्मेदवारी घोषणा गरेका थिए । गत मंसिरमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेश १ को सभापतिमा उनी एक मतले पराजित भएका थिए । ‘नेपाल विद्यार्थी संघको सभापति भएर पनि घिमिरे कांग्रेसका सधैँ अवसरबाट वञ्चित छन्, यसपटक पनि उनलाई संसदबाहिर राख्नु अन्याय हुन्छ,’ नेपाली कांग्रेस मोरङका एक नेताले भने ।
गुरुराज नेविसंघको सभापति रहेको समयमा गणतन्त्रको नारा लगाउँदा उनी र गगन थापालाई राज्यविरुद्धको अपराध मुद्दा लगाइएको थियो । प्रेस युनियनको महासचिव हुँदै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित अजय सिवाकोटी पनि प्रत्यक्षतर्फ चुनाव लड्न खोज्दै छन् । उनी दोलखाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष चुनाव लड्ने योजनामा छन् ।
दोलखामा दाबी गर्दै आएका जीप छिरिङ लामाले दाबी छाड्ने भएपछि दोलखामा कांग्रेसका युवा नेताले दाबी गरिरहेका छन् । नेकपा एमालेको किल्ला रहेको दोलखामा माओवादीसँगको सहयोगमा चुनाव जितिने कांग्रेस नेताहरूको विश्वास छ । त्यसो त दोलखामा माओवादीले पनि दाबी गरेको छ ।
नेपाली कांग्रेसकै अर्का केन्द्रीय सदस्य नैनसिंह महर पनि चुनाव लड्ने तयारीमा छन् । नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका महर काठमाडौं– ५ बाट चुनाव लड्ने चर्चा छ । उनले कञ्चनपुर– १ मा पनि दाबी गरेका छन् । प्रचण्डकी बुहारी विना मगरले जितेको त्यो क्षेत्र माओवादीले छाड्ने सम्भावना नरहेकाले महरले काठमाडौंमा दाबी गरिरहेका छन् ।
नेविसंघका पूर्व सभापति रञ्जित कर्ण र गोविन्द भट्टराईले पनि चुनाव लड्ने गृहकार्य गरिरहेका छन् । कर्णले सप्तरी २ बाट चुनाव लड्ने गृहकार्य गरिरहेका हुन् । भट्टराईले तनहुँ या काठमाडौंबाट चुनाव लड्ने गृहकार्य गरिरहेका छन् । कांग्रेसका बौद्धिक युवा नेता शंकर तिवारीले नवलपुर– २ बाट चुनाव लड्ने भन्दै तयारी थालेका छन् । जवाहरलाल विश्वविद्यालय दिल्लीमा अध्ययन तिवारी कांग्रेसभित्र बौद्धिक युवा नेताको रूपमा परिचित छन् । उनले निर्वाचन क्षेत्रमा गएर सक्रियता देखाइरहेका छन् ।
‘हाम्रोमा सांसदले जे काम गर्ने हो त्यो भइरहेको छैन, सांसदले गर्ने काम अरूले गरिरहेका छन्, त्यो बदल्नका लागि मैले उम्मेदवारी दिने तयारी गरेको छु,’ तिवारीले लोकान्तरसँग भने, ‘म सांसद निर्वाचित भएर आएँ भने सत्ता या प्रतिपक्षमा जहाँ रहेपनि एक कुशल सांसदले गर्नुपर्ने काम गर्नेछु ।’
तिवारी प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका युवामध्ये ४० वर्षभन्दा कम उमेरका हुन् । कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा उनले कांग्रेस कसले बनाउने भन्ने पुस्तक लेखेका थिए । तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थ र केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पनि चुनाव लड्ने भन्दै तयारी गरेका छन् । कायस्थले भक्तपुर– २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।
गोपालमान श्रेष्ठ, बलबहादुर केसीजस्ता पुराना नेताहरू अहिले पनि चुनाव लड्ने भन्दै टिकटमा दाबी गरिरहेका छन् । विचार शून्य यो पुस्ताले कांग्रेसमा नयाँ पुस्तालाई अगाडि आउन दिइरहेको छैन ।
‘चुनावी तालमेलका कारण कांग्रेसले ९० सीटभन्दा बढी पाउने सम्भावना छैन, त्यसमा ५० जनाजति पुरानै नेताले पाउने सम्भावना छ,’ प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेका एक केन्द्रीय सदस्यले भने, ‘बाँकी रहेको ४० जनामा सभापति देउवाको तजबिजले गर्दा राम्राले टिकट पाउने सम्भावना कम छ ।’