काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरिरहेका चार जना मन्त्रीहरु समानुपातिकतर्फ सांसद हुन नपाउने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिस गर्दा ०७४ का समानुपातिक सांसदहरुलाई दोहोर्याउन मातहतका कार्यसमितिलाई बन्देज लगाएका कारण उनीहरु समानुपातिक सांसद बन्न नपाउने भएका हुन्।

महामन्त्री गगन थापाले मातहतलाई परिपत्र गरेर २०७४ सालको निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएका नेताहरुको नाम समानुपातिकतर्फको उम्मेदवारका रुपमा सिफारिस नगर्न भनेका छन्। उनले पार्टीको विधानमा गरिएको व्यवस्थालाई टेकेर हाल समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा रहेका नेताको नाम फेरि समानुपातिककै लागि सिफारिस नगर्न परिपत्र गरेका हुन्।

महामन्त्री थापाले भदौ ९ गते ७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिलाई उम्मेदवार सिफारिस सम्बन्धमा परिपत्र गरेका छन्। ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसधा सदस्य र प्रदेशसभा सदस्य पदको समानुपातिकतर्फको उम्मेदवारका लागि सिमाफरि नगर्ने,’ परिपत्रमा भनिएको छ।

परिपत्रअनुसार मातहतका कार्यसमितिले समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्ने भएकाले मन्त्रिपरिषद्मा रहेका नेताहरु बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, उमा रेग्मी र उमेश श्रेष्ठ फेरि समानुपातिकतर्फको उम्मेदवार बन्न नपाउने भएका छन्। २०७४ सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकबाट निर्वाचित खाणले गृह मन्त्रालय, बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, रेग्मीले बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका छन्। यस्तै श्रेष्ठ राज्यमन्त्री छन्।

चार मन्त्रीसँगै कांग्रेसबाट २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा निर्वाचित अन्य नेताहरु पनि अब दोहोरिएर समानुपातिकमार्फत् प्रतिनिधिसभामा निर्वाचित हुन नपाउने भएका छन्। जसअनुसार उपसभामुख पुष्पा भुसाल फेरि समानुपातिक प्रतिनिधिसभा सदस्य बन्न नपाउने भएकी छन्। प्रमुख सचेतक चित्रलेखा यादव, सचेतक मीन विश्वकर्मा पनि दोहोरिएर समानुपातिकतर्फ उम्मेदवार हुनबाट वञ्चित हुने भएका छन्।

यस्तै कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, नेता विनोद कुमार चौधरी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई पार्टी विधानले पुनः समानुपातिकतर्फ उम्मेदवार बन्नबाट रोक लगाउने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!