
काठमाडौं । केन्यासँगको चौथो टी-२० खेल जित्न नेपालले १०२ रनको लक्ष्य पाएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाएर १०१ रन बनायो । केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० र कप्तान शेम एनगोचेले १३ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो विकेटका लागि ओपनरद्वय कोलिन्स ओबुया र एलेक्स ओबान्डाले २५ रनको साझेदारी गरेपनि त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन । कोलिन्स २० रन बनाएर सातौं ओभरमा आउट हुँदा केन्या २५-१ को अवस्थामा थियो । त्यसपछि केन्याले लगातार विकेट गुमायो ।
कप्तान सन्दीप लामिछाने र शाहब आलमको स्पीनर जोडी र आदिल आलमले केन्याको इनिङ्सलाई ध्वस्त बनाए । कप्तान लामिछानेले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीपले लिएको तीन विकेटका विकेटकिपर अर्जुन साउदले दुई स्टम्पिङ र एक क्याच गरे । आदिल आलमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । शाहब आलमले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । शाहब र सन्दीप मिलेर एक रनआउट गरे ।
एक ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले १० रन खर्चेर १ विकेट लिए । चार ओभर बलिङ गर्दा विकेटविहिन बनेका सोमपाल कामी र करण केसीले २३ रन खर्चिए ।