काठमाडौं । राप्रपा नेतृ एवं अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन् । राप्रपाले उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको छ ।

उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् । रेखाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ६ मा पनि उनी उम्मेदवार बन्ने चर्चा छ । यद्यपि उनी उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुङ्गो लागिसकेको छैन । नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा थापा उम्मेदवार बन्ने उनी निकटहरु बताउँछन् ।

मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेको संगठन बलियो छ । स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ३ मा पर्ने चारवटा पालिकाको प्रमुख एमालेले जितेको छ । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भानुभक्त ढकाल उम्मेदवार बन्ने तयारीमा छन् ।

एमालेबाट क्षेत्र नम्बर ६ मा पूर्व मन्त्री लालबाबु पण्डित दाबेदार छन् । पण्डित दाबेदार भएपनि क्षेत्र नम्बर ६ मा एमालेको संगठन कमजोर छ । मोरङ क्षेत्र नम्बर–६ मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित छ । २०७४ सालको निर्वाचनमा उनी एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए ।

राप्रपा नेता थापा आफू चुनाव लड्न तयार रहेको बताउँछिन् । मोरङको क्षेत्र नम्बर ३ बाट आफ्नो नाम सिफारिस भएको बताउँदै उनले गठबन्धन भए अन्य क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्ने बताइन् । ‘मोरङ मेरो घर हो’, थापाले भनिन्, ‘मोरङको जुन क्षेत्रबाट पनि उम्मेदवार बन्न तयार छु ।’

नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकाल रेखा थापा उम्मेदवार बन्ने चर्चा सुनेपनि तालमेलका विषयमा जानकारी नभएको बताउँछन् । ‘माथिल्लो तहबाट केही कुरा भएको छ भने जानकारी भएन्,’ उनले भने,‘ रेखा थापा उम्मेदवार बन्ने कुरा हिजोबाट सुन्दैछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!