काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका केही भागमा गएराति देखिनै भारी वर्षा भइहेको जनाएको छ। विशेषगररी गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको हो।

तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी पूर्व र पश्चिम तथा चितवन र आसपास धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुनका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्क हुन पनि विभागले आग्रह गरेको छ।

विभागका अनुसार प्रदेश १, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौंका विभिन्न भागमा पनि बिहानैबाट वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा भइरहेको र कही स्थानमा दिउँसो र राति पनि सोही सम्भावना रहेकाले भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!