धनगढी । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै गएको सोमबारदेखि अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । कैलालीको धनगढीमा २० औँ अनशन थालेको चौँथो दिनमै डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

धनगढीस्थित कृष्ण मन्दिरबाट अनशन थालेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । गएरातिदेखि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ ।

डा. केसीका सहयोगी अमृत जैशीका अनुसार केसीको अवस्था जटिल बन्दै गएको छ । ‘सुगर लेबल कम भएको छ । सास फेर्न समस्या भइरहेको छ,’ उनले भने,’शारीरिक स्वास्थ्य कमजोर हुँदा मांसपेशीमासमेत समस्या देखिएको छ ।’

डा. केसीले उपचार गराउन मानिरहेका छैनन् । स्वास्थ्य अवस्था निकै कमजोर भएपनि उनले शरीलाई तागत दिने कुनै औषधि लिन नमानिरहेको जैशीले बताए । आज (बिहीबार) १२ बजेदेखि भने उनलाई नर्मल स्लाइन दिन सुरु गरिएको छ ।

उनको स्वास्थ्य रेखदेखमा वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरको टिम खटिएको छ । उनका अनुसार लामो समयसम्म पानीबाहेक अन्य खानेकुरा नखाँदा डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् ।

डा. केसीमा राति सुत्न नसक्ने, छिनछिनमा पिसाब लाग्ने, मांसपेशी अत्यधिक दुख्ने, बोल्नमा समस्या हुने जटिलता देखिएको उनको रेखदेखमा रहेका डा। अमृत जैशीले बताए । ‘उहाँमा मांशपेसी दुख्ने, बटारिने समस्या देखिन थालेको छ । राति राम्रोसँग सुत्न पनि सक्नुभएको छैन,’ उनले भने ।

डा. केसीले शुद्ध पानीबाहेक अरू केही खान मानिरहेका छैनन् । पटकपटक अनशन बस्दा र बढ्दो उमेरका कारण उनको स्वास्थ्यमा जटिल समस्या देखिनसक्ने चिकित्सकहरूको चिन्ता छ ।

चिकित्सा शिक्षा सुधारका लागि भनेर डा. केसी पटकपटक अनशन बस्दै आएका छन् । विगतमा देशका विभिन्न क्षेत्रबाट अनशन बसेका डा। केसीले यसपटक सात बुँदे माग राखेर धनगढीबाट अनशन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!