
काठमाडौं । नेपालमा बहुदल स्थापना भएपछिका सबै (७ वटा) निर्वाचनमा उम्मेदवार बन्दैछन् नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० बाट जनता प्रगतिशील पार्टी (जप्रपा) अध्यक्ष हृदयेश त्रिपाठी । उनी २०४८ सालयताका सबै निर्वाचनमा नवलपरासीबाट चुनाव लडेका छन् । ६ निर्वाचन लडिसकेका त्रिपाठीले ५ चुनाव जितेका छन् । उनले २०४८, २०५१ र २०५६ सालमा नेपाल सद्भावना पार्टीबाट नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव जिते । २०६४ सालमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट नवलपरासी क्षेत्र नम्बर ६ बाट विजयी भए । २०७० सालमा तमलोपाबाट उम्मेदवार बनेका त्रिपाठी पराजित भए । २०७४ सालमा स्वतन्त्र राजनीतिक समूहबाट क्षेत्र नम्बर १ बाट चुनाव लडेर जिते ।
फेरि आउँदो निर्वाचनमा पनि उनी नवलपरासी–१ बाट चुनाव लड्ने तयारीका साथ पार्टीमा नाम सिफारिस भइसकेको छ । त्यसका लागि उनको पार्टी जनता प्रगतिशीलले नेकपा संयुक्तसँग एउटै चिह्नमा चुनाव लड्ने गरी सहमति गरेको छ । एमालेसँग चुनावी तालमेलको सम्भावना पनि छ । पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेले त्रिपाठी आसन्न मंसिर ४ गते अन्तिम चुनाव लड्ने बताए । ‘उहाँ (त्रिपाठी) नेपालमा बहुदल आएपछिका सबै निर्वाचन लड्नुभएको छ,’ पाण्डेले भने, ‘उहाँ एउटै व्यक्ति सधैं चुनावमा लड्नुपर्छ भन्ने त छैन । उहाँ हट्नुपर्ने कारण पनि मैले देख्दिनँ । किनभने उहाँले नराम्रो केही पनि गर्नुभएको छैन । २०७९ सालको निर्वाचनपछि पार्टी युवा उम्मेदवारलाई अगाडि सार्नेछ ।’
यसबीचमा उनी ५ पटक मन्त्री समेत भएका छन् । २०५४ सालमा वनमन्त्री, २०६३ सालमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, २०६८ सालमा भौतिक योजना तथा यातायात मन्त्री, २०७६ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र २०७७ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले रूपन्देहीबाट छैठौंपटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् । उनी २०४८ सालमा रुपन्देही–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लडेर पराजित भए । २०५१ सालमा सोही क्षेत्रबाट उम्मेदवार बनेर चुनाव जिते । २०५६ सालमा राप्रपाबाटै चुनाव लडेर फेरि पराजित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही–६ मा तराई–मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा० बाट उम्मेदवार बनेर पराजित भए । २०७० सालमा तमलोपाबाटै सोही क्षेत्रबाट जीत निकाले । २०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट रूपन्देही–४ बाट उम्मेदवार भए पनि पराजित भए ।
आसन्न निर्वाचनमा रूपन्देही–४ बाटै उम्मेदवार बन्न उनको एकल नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । लोसपा प्रदेश कार्यकारिणी सदस्य असमान खानले शुक्ला जनताको दबाबमा उम्मेदवार हुने गरेका बताए । ‘उहाँ (शुक्ला) ले निर्वाचन लड्दिनँ भन्दा जनता घर घेर्न आउँछन् । जनताको चाहना र मर्चवारको विकासका लागि उहाँ चुनाव लड्नुहुन्छ । मर्चवारको विकास उहाँकै कारणले भएको हो,’ खान भन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता दीपक बोहोराले पनि रूपन्देहीबाट छैठौं पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् । पूर्व प्रधानपञ्च बोहोरा सातौंपटक रूपन्देही क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने तयारीमा छन् । निर्वाचन क्षेत्रबाट उनको एकल नाम सिफारिस भइसकेको छ । २०४८ सालपछिको संसदीय अभ्यासमा बोहोरा रुपन्देहीबाट निर्विकल्प उम्मेदवार बन्दै आएका राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाले बताए । लगातारको चुनाव लडेर धेरै हार थोरै जीत व्यहोरेका बोहोर पटक–पटक मन्त्री समेत भएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका बोहरा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए ।
नेपाली कांग्रेसका नेता एवं पूर्व राजदूत दीपकुमार उपाध्यायको चुनावी इतिहास पनि यस्तै छ । उनी पनि ३१ वर्षदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा छन् । २०४८ र २०५१ सालमा उनले कपिलवस्तु–२ बाट चुनाव जिते । सोही क्षेत्रबाट २०५६ सालमा हार व्यहोरे । २०६४ सालमा कपिलवस्तु–१ बाट जीत निकाले । सोही क्षेत्रबाट २०७० र २०७४ सालमा पराजित भए । अहिले २०७९ सालको निर्वाचनका लागि उनको नाम १ नम्बरमा कपिलवस्तु–१ बाट सिफारिस भएको जिल्लाका नेता आशिष उपाध्यायले बताए ।
उपाध्यायले पनि राजनीतिबाट विश्राम लिने मनस्थिति बनाएका छैनन् । यो बीचमा मन्त्री, राजदूत लगायत विभिन्न तहमा पुगेका छन् उनी । आशिष भन्छन्, ‘जिल्लावासीको आग्रहमा उहाँ चुनाव लड्ने हो । जिल्लाको विकासका लागि जनताले उहाँलाई नै रोज्छन् ।’ उच्च प्रोफाइलका नेताहरू राजनीतिमा लामो संघर्ष गरेर आए पनि अरूलाई अवसर दिनुपर्छ भन्ने सोच देखिँदैन । सबै कुराको निर्णय गर्ने अधिकार पार्टीले नेतृत्वलाई सुम्पिएको आशिष बताउँछन् ।
कांग्रेसका अर्का प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँण पनि २०४८ सालदेखि नै संसदीय चुनावी अभ्यासबाट छुटेका छैनन् । त्यसबेला खाँणले बुटवल क्षेत्रबाट एमाले उम्मेदवार केशरमणि पोखरेललाई पराजित गरेका थिए । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका मोदनाथ प्रश्रितसँग खाँण पराजित भए । २०५६ सालमा खाँण उम्मेदवार बन्न चाहेनन् । त्यसपछि उनले २०६४ र २०७० सालमा रूपन्देही–३ बाट जीत निकाले । यही क्षेत्रलाई चुनावी क्षेत्र मानेर राजनीतिक गतिविधि गर्दै आएका खाँण २०७४ सालको चुनावमा उठेनन् । सुरक्षित रूपमा समानुपातिकको सूचीबाट सांसद बने उनी । अहिले खाँणको नाम रूपन्देही २ र ३ बाट सिफारिस गरिएको कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँण बताउँछन् ।
उनी रुपन्देही–३ बाट चुनाव लड्ने तयारीमा छन् । राजनीतिमा युवा आउनुपर्छ भन्ने खाँणले कसैलाई पद छाडेको देखिँदैन । पाल्पाबाट नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे २०५१ सालदेखि लगातार चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । नेताहरू सधैं आफू नै अगाडि सर्दा राजनीतिमा जाम लागेको छ । शान्ति प्रक्रियापछि संसदीय अभ्यास गरेको नेकपा माओवादी केन्द्रका नेताहरूमा पनि एउटै व्यक्ति निरन्तर उम्मेदवार बनिरहने प्रवृत्ति देखिएको छ । यो प्रवृत्ति सबै दलमा मैलाएको छ ।
राजनीतिक क्षेत्रका जानकार मनिकर कार्कीले एउटै व्यक्ति दशकौंदेखि चुनाव लड्दा नयाँ विचार, सिद्धान्त, अनुहार र एजेण्डालाई निषेध गरिएको बताउँछन् । ठूला भनिएका दलहरूले पछिल्लो समय लोकप्रियता गुमाउनुको कारण पनि कार्की एउटै उम्मेदवार देख्छन् । ‘जनता राजनीतिप्रति निरपेक्ष हुँदै गएका छन्,’ कार्कीले भने, ‘एउटै व्यक्ति, एउटै कुरा सुन्दा जनता आजित छन् । जनताको राजनीतिप्रति आकर्षण घट्दो छ । त्यसको विकल्पमा स्वतन्त्र उम्मेदवारहरूको चर्चा र केही ठाउँमा सफलता पनि यसैको संकेत हो ।’ पार्टीका दोस्रो र युवा पुस्ताका नेताहरू पनि पहिलो पुस्ताबाट ‘गाइडेड’ हुँदा उनीहरूकै ‘फलोअर्स’ बनेका कार्कीको बुझाइ छ ।
गुल्मी–१ बाट एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली र गुल्मी–२ बाट एमालेकै सचिव गोकर्ण विष्ट पनि २०५६ सालदेखि निरन्तर चुनाव लड्दै आएका छन् । रूपन्देही–५ बाट कांग्रेस नेता भरतकुमार शाह, कपिलवस्तु–२ बाट एमाले नेता वृजेशकुमार गुप्ताले पनि २०५६ सालदेखि नै चुनावी मैदान छाडेका छैनन् । नेकपा एमाले जिल्ला कमिटी रूपन्देहीका सचिवालय सदस्य तथा युवा नेता देवराज पोखरेलले पार्टीमा पुस्तान्तरणको कुरा बारम्बार उठ्दै आए पनि त्यो कार्यान्वनमा हुन नसकेको बताए । ‘पार्टीमा युवा पुस्ताले हस्तक्षेप पनि गर्न नसकेको हो,’ पोखरेल भन्छन्, ‘विद्रोह गर्न पनि सकेका छैनन् । पार्टी बाहिर गएर पनि चुनाव जित्न नसक्ने अवस्था बुझेका छन् ।’ पोखरेलले पार्टी संरचना पनि युवापुस्तामैत्री नहुँदा निर्णायक तहमा गएर सार्थकता पाउन नसकेको बताए ।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक बैकुण्ठ पाण्डेले प्रजातन्त्रमा एउटै व्यक्ति पटक–पटक निर्वाचित हुनु अर्थतन्त्रका लागि पनि राम्रो नहुने बताउँछन् । ‘केही काम नगर्ने सधैं एउटै व्यक्ति इलेक्टेड हुँदा त्यसले कुनै ‘आउटपुट’ दिन सक्दैन,’ पाण्डे भन्छन्, ‘यसले आफ्ना वरिपरिका आसेपासेलाई मात्र लाभ हुने देखिन्छ । भत्ता पचाउने मात्र काम भएको छ । राजनीतिलाई पेशा बनाउँदा यो अवस्था आएको हो । यसलाई रोक्न युवा नेताले पार्टीमा हस्तक्षेप गर्न आवश्यक छ ।’ आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।