काठमाण्डौ । बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म पश्चिमी क्षेत्रका नदीमा बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ । महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन भनेको छ ।

महाशाखाका अनुसार दाङ, सल्यान, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी, पाल्पा, रुपन्देहीलगायत १६ जिल्ला उच्च जोखिममा छन् । महाशाखाले ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि अनुरोध गरेको छ ।

देशको पश्चिमी भू–भागका नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो । ती नदीमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

लगातार आएको बर्षाका कारण कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ। शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ। बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन्।

‘विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ’, स्थानीय महेन्द्र बोहराले भने, ‘समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ।’

कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उनको माग छ। लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। ‘बेदकोटको चिनारीका रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ’, अर्का स्थानीय कपिल जोशीले भन्नुभयो, ‘नगरलाई देश–विदेशमा चिनाएको छ, त्यसैले यसको संरक्षण आवश्यक छ।’

बाढीले लिङ्गेश्वर क्षेत्रमा पर्यटकहरूका लागि तस्वीर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ बगाएको छ। यस्तै धाम क्षेत्रमा रहेको लिङ्गेश्वर मन्दिर कटानको उच्च जोखिममा छ। ‘नदीले कटान गरेर मन्दिर बगाउने स्थिति छ, एक मिटरमात्रै बाँकी छ’, बेदकोट नगरपालिका–४ का अध्यक्ष नरबहादुर बोहराले भने, ‘फोटो खिच्न बनाइएको सेल्फी प्वाइन्ट बगाएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!