काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसदको पाँच वर्षे कार्यकालको समीक्षा गर्दै अबको चुनावमा पार्टीको जितका लागि सम्पूर्ण शक्ति लगाउनुपर्ने बताए ।

प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन एमालेको अन्तिम संसदीय दल बैठक बसेको हो । आजको बैठकमा ओलीले मात्रै सम्बोधन गरेका थिए । उनले प्रतिनिधिसभामा एमाले सांसदहरूले निभाएको भूमिको प्रशंसा गरे । ‘यस अवधिमा धेरै खालका उतारचढाव आए, एमालेका माननीयले निकै राम्रो भूमिका खेल्नुभो । त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’ उनले भने ।

पार्टी विभाजनको प्रसंग जोड्दै उनले चित्तदुखाइ पनि व्यक्त गरे । ‘केही साथीहरू पार्टी फुटाएर जानुभयो । संसदमा माझीदाइ देश बचाइदेऊ भन्दै गीत गाएर ताण्डव देखाए साथीहरूले,’ ओलीले भने ।

उनले अबको चुनावमा एमाले भर्सेस गठबन्धनको प्रतिस्पर्धा हुने उल्लेख गरे । उनले पार्टीका सांसदहरूलाई चुनावी अभियानमा होमिन निर्देशन दिए । नेकपा एमालेले कुनै हालतमा चुनाव जित्ने र जित्नुपर्ने उनले दोहोर्याए ।

बैठकपछि सामूहिक फोटोसेसन गर्दै नेताहरू छुट्टिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!