काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताएका छन् । शनिबार संविधान दिवसका अवसरमा एमालेले निकालेको पदयात्रापछि सम्बोधन गर्दै ओलीले देशलाई अप्ठेरो अवस्थाबाट अगाडि लैजानुपर्ने बताएका हुन् ।

पदयात्राको नेतृत्व गरेका ओलीले सम्बोधनका क्रममा भने, ‘देशलाई गठबन्धनले ‌ओरालोतिर लगिराखेको छ । यस ओरालो गतिलाई रोकेर देशलाई अगाडि लैजाने, माथि चढाउने, लोकतन्त्रको अभ्यासका हिसाबले, संविधान कार्यान्वयनका हिसाबले, शान्ति सुरक्षाका हिसाबले, भ्रष्टाचार नियन्त्रणका हिसाबले सशक्त ढंगले अगाडि बढ्नेछौँ ।’

त्यस्तै पछिल्लो समय एमालेले धक्का खाएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नसमेत उनले नेता/कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘एकछिन धक्का खाएको होला तर त्यसलाई चिरेर अगाडि बढ्नुपर्छ ।…नेपाल नेपाली जनताले चलाउने हो अरु कसैले चलाउने होइन ।’

देश संविधानसम्मत चल्नुपर्ने उल्लेख गर्दै उनले अगाडि भने, ‘यतिबेला देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन । संविधान दिवस र राष्ट्रियता दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाइरहेका छौँ ।’ त्यस्तै संविधान दिवसलाई जनताको दिवसका रूपमा र राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो ।

विगतमा विविधतायुक्त नेपालमा विद्वेष र कलहको विषय बनाउने कामसमेत भएको उल्लेख गर्दै ओलीले आफूहरूले संविधान र लोकतन्त्रको रक्षा गरेको दाबी गरे । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा पदयात्रा सुरु गरेको हो ।

पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!