काठमाडौँ । काठमाडौँ उपत्यकासहितका देशका विभिन्न स्थानमा भारीदेखि मध्य वर्षाको क्रम अझै केही दिन जारी रहने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

विगत केही दिनदेखि देशका विभिन्न स्थानमा भारी वर्षा हुँदा बाढी तथा पहिरोका घटना बढेका छन् । अछामसहितका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति समेत भएको छ । ‘अझै केही दिन विभिन्न स्थानमा भारीदेखि मध्यम वर्षा हुने देखिन्छ’, मौसमविद् सञ्जिव अधिकारीले भने, ‘सोमबारपछि बिस्तारै भारी वर्षाको क्रम घट्दै जाने सम्भावना छ ।’

न्यून चापीय रेखा नेपालतिर नै रहेको र न्यून चापीय क्षेत्र भारतको उत्तर प्रदेश आसपासमा रहेकाले नेपालमा पानी परेको हो । ‘सो मौसमी प्रणाली कमजोर हुने अवस्थामा पुगेको छ’, मौसमविद् अधिकारीले भने, ‘तर अहिले नै कमजोर भएको अवस्था नरहेकाले केही दिन विभिन्न स्थानमा भारीदेखि मध्यम हुँदै हल्का वर्षाको सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागले जारी गरेको नियमित बुलेटिनमा पनि भनिएको छ, ‘हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू(भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ।’

पानी पार्ने यो मौसमी प्रणाली हराएको नभइ केही कमजोर हुने क्रम देखिएको मौसमविदले बताए । तत्काललाई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा हुने विभागले उल्लेख गरेको छ ।

विशेष गरी मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने हुँदा सतर्क रहन मौसमविदले आग्रह गरेका हुन् ।

यसैगरी आइबार प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थान तथा सोमबार लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै एवम् प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने देखिकाले बाढी तथा पहिरोको जोखिममा रहेका स्थानका बासिन्दालाई सचेत रहन मौसमविदको सुझाव छ ।

सोमबारपछि मौसमी प्रणाली कमजोर हुँदै जाँदा भारी वर्षा कम हुने आँकलन छ । तर मनसुन जारी नै रहेकाले सम्भावित बाढी तथा पहिरोबाट हुने मानवीय क्षति हुन नदिनका लागि सतर्कता अपनाउनुको विकल्प नरहेको मौसमविदले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!